शारीरिक अपांगता भए पनि काम गर्ने हिम्मत नहारेपछि युवराज कँडेललाई स्थानीय र संघसंस्थाले दिएका छन् साथ
बागलुङ — जन्मँदा उनी दाजुभाइ र दिदीबहिनीजस्तै थिए । तर हिँड्ने उमेरमा जति पटक लड्छन्, त्यति पटक खुट्टा भाँचिन थाल्यो । गाउँघरको परम्परागत विधिले उनको उपचार गर्दा निको हुन पाएन । घरमा काप्रो बाँधेर गरेको परम्परागत उपचारले उनी निको हुन सकेनन् ।
बालकमा दुवै खुट्टा ६ पटकसम्म भाँचिएपछि उनी अशक्त भए । सदरमुकामदेखि १ सय १० किलोमिटर परको नाथुरी गाउँका जन्मेका ढोरपाटन नगरपालिका–५ का युवराज कँडेलले समयमा उपचार पाएनन् । फलस्वरूप विस्तारै उनका दुवै खुट्टा सुक्दै गए । अहिले उनका खुट्टा साना र पाताला भइसकेका छन् ।
अहिले त उनी ५० वर्षका भइसके । अब चाहेर पनि उनको उपचार सम्भव नभएको डाक्टर बताउँछन् । त्यसैले उनी हातैले टेकेर हिँड्छन् । खुट्टा खुम्चिँदै गएकाले होचो भइसकेका छन् । उचाइमा दुई फिट पनि छैनन् । त्यसैले उनी अप्ठ्यारो स्थानमा हिँड्न सक्दैनन् । गाडीमा चढ्नसमेत अर्काको सहायता लिनुपर्छ । यो अवस्था किन आयो भनेर उनी चिन्तित छैनन् । बरु अपांगता भएर पनि उनले हिम्मत बटुलेका छन् । बुर्तिवाङ बजारका सफल किसानका रूपमा उनी परिचित छन् ।
गाउँमा हिँड्न–डुल्न नसक्ने भएपछि २२ वर्षअघि नै उनी नजिकको बुर्तिवाङ बजार झरेका थिए । त्यति बेला सुरुमा अर्काको सहायता र मागेर जीवन गुजारेका कँडेल अहिले आत्मनिर्भर र सफल किसान बनेका छन् ।
सुरुमा अर्काको सहयोगको याचना गर्ने कँडेल जग्गा भाडामा लिएर तरकारी खेतीमा रमाउन थालेका छन् । उनले वर्षमा २० हजार त भाडा तिर्छन् । पत्नी पुष्पासँगै सुरुमा ताजा तरकारी फलाएर बेचेका कँडेलले ५ वर्षदेखि प्याज, काउली र बन्दागोभीका बिरुवा रोपेर राम्रो कमाइ गर्न थालेका छन् । तरकारी खेतीबाट दैनिकी चलाउने मात्र नभई उनले एक छोरी र दुई छोरालाई पढाएका छन् ।
झन्डै दुई रोपनी जमिन भाडामा लिएका उनले वर्षमा प्याजका बिरुवाबाट २ लाख ५० हजार, काउली र बन्दाका बिरुवाबाट १ लाख ५० हजारभन्दा बढी कमाइ गर्ने गरेको सुनाए । त्यसबाहेक ताजा तरकारीबाट पनि उनले वर्षमा डेढ लाखसम्म कमाउने गरेको बताए । ती सबै कामबाट वर्षमा ६ लाखसम्म आम्दानी हुने गरेको उनले बताए ।
शारीरिक अपांगता भए पनि उनले काम गर्ने हिम्मत नहारेपछि स्थानीय र संघसंस्थाले पनि साथ दिन थालेका छन् । बागलुङ बजारबाट तरकारीको बीउ मगाएर जमाउने काम पनि कँडेल आफैं गर्छन् । कुटो–कोदालोबाट उनले जमिन खन्ने काम आफैं गरिरहेको भेटिन्छन् । पत्नी पुष्पको देब्रे हात छैन । त्यसैले उनले घरभित्रको काम गर्छिन् । नियमित बाहिरको काम गर्न नसकेपछि बेला–बेला पतिको काममा साथ दिन पुग्ने गरेकी हुन् ।
कँडेलको मिहिनेतबाट कृषि ज्ञान केन्द्र र यहाँको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले आयआर्जनमा साथ दिएका छन् । परियोजनाले बीउ पुँजीका रूपमा गत आर्थिक वर्षमा १५ हजार सहयोग गरेको थियो भने केन्द्रले प्राविधिक र टनेल बनाउने काममा साथ दिएको कँडेलले जनाए । ‘मेरो समस्या देखेर सबैले साथ दिनुभयो, अपांग भएँ भनेर डराएर होइन, हिम्मत बटुलेर काम गरेरै खाने बनेको छु,’ उनले भने । उनको काममा पढाइबाट फुर्सद निकालेर छोराहरू भुवन र भरतले पनि साथ दिएका छन् । यस वर्ष केही बिरुवा मरेकाले माटो परीक्षण गरेर साथ दिन कृषि ज्ञान केन्द्रबाट प्राविधिक बोलाएको समेत उनले बताए ।
