डम्पिङ साइटमा गाडिएको ९४ अर्बको हार्डड्राइभको खोजी

मंसिर २४, २०८१

एजेन्सी

The search for the 94 billion hard drive buried in the dumping site

काठमाडौँ — जब-जब क्रिप्टो मुद्राको मोल र चर्चा बढ्छ, बेलायतको वेल्सस्थित न्युपोर्टका एक युवा, जेम्स हावेल्स पनि मिडियामा छाउँछन् । यसपालि त झन् बिटक्वाइनको मूल्य १ लाख डलर पुगेपछि जेम्सबारे अनेक समाचार र मिमहरू बने । यो किनभने जेम्समले कुनै बेला ८ हजार बिटक्ववाइन भण्डारण गरिएको एउटा हार्ड ड्राइभ झुक्किएर फोहोरमैलामा फ्याँकिदिएका थिए । 

केही समय त्यो हार्डड्राइभलाई वास्ता नगरेका जेम्सले बिटक्वाइनको मूल्य अकासिन सुरू भएदेखि निरन्तर सो डिभाइस खोजी गर्दै आएका छन् । न्युपोर्टको डम्पिङ साइटमा भएको आशंका गरिने उक्त हार्डड्राइभमा रहेको बिटक्वाइनको मूल्य यो साता झन्डै ८० करोड अमेरिकी डलर अर्थात् ९४ अर्ब रुपैयाँभन्दा बढी हुने विश्वास गरिन्छ । केही दिनअघि बिटक्वाइनको मूल्य १ लाख डलर पुगेको थियो । साथै, नवनिर्वाचित अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा क्रिप्टो मुद्रालाई प्राथमिकता दिने चर्चा बढेपछि जेम्सप्रति सहानुभूति प्रकट गर्नेको कमी छैन । 

सञ्चार माध्यमहरूमा आएअनुसार सन् २०१५ मा हावेल्सकी तत्कालीन प्रेमिका हेल्फिना इडी-एभन्सले घर सफा गर्ने क्रममा एउटा पुरानो हार्डड्राइभ फोहोरमा फालिदिएकी थिइन्। त्यो बेला बिटक्वाइनको मूल्य झन्डै २०० अमेरिकी डलर आसपास थियो तर महत्त्व र चर्चा अहिलेको जस्तो थिएन । सन् २००९ मा बिटक्वाइन सुरू हुनेबित्तिकै हावेल्सले केही महिना लगाएर ८००० बिटक्वाइन माइनिङ गरेका थिए । तर आफ्नो डिभाइसमा लेमोनेड पोखिएर बिग्रिएपछि हार्डड्राइभ निकालेर स्टोरमा थन्क्याएका थिए । उनले स्टोरमा राखेर बिर्सेंको हार्डड्राइभ प्रेमिकाले थाहा नपाएर वर्षौंपछि फ्याँकिदिएकी थिइन् । 

बिटक्वाइनको मूल्य अकासिंदै गर्दा यो घटनाले नयाँ उचाइ लिएको छ र इडी-एभन्सले पहिलोपटक यसबारे बोलेकी छन् । 'त्यो हार्डड्राइभमा के थियो, मलाई थाहा थिएन,' उनले भनेकी छन्, 'म चाहन्छु कि जेम्सले त्यो फेला पारुन् ।’ वर्षौंपछि बिटक्वाइनको मूल्य बढ्दै गएको महसुस गरेपछि जेम्सले न्युपोर्ट सिटी काउन्सिलसँग त्यसलाई डम्पिङ साइटमा खोज्न र त्यहाँबाट निकाल्न अनुमतिसमेत मागेका थिए । उनले त्यसबाट प्राप्त हुन आउने रकमको १० प्रतिशत सामुदायिक काममा लगाउने घोषणा पनि गरेका थिए । तर वातावरणीय समस्या लगायत कारण देखाउँदै न्युपोर्ट अधिकारीहरूले उनको प्रस्ताव बारम्बार अस्वीकृत गर्दै आएका छन् । 

जेम्सले भने हार मानेका छैनन्, उनले काउन्सिलविरुद्ध झन्डै ८० अर्ब रूपैयाँ क्षतिपूर्तिको मुद्दा हालेका छन् । उनले हार्डड्राइभको ठ्याक्कै स्थान पत्ता लगाउन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका डेटा रिकभरी इन्जिनियरहरूको पनि सहयोग लिने प्रयास गरिसकेका छन् । सो हार्डड्राइभ अनुमानित १ लाख टनको डम्पिङ साइट क्षेत्रमा कतै गाडिएको आशंका गरिएको छ।

काउन्सिलको अनिच्छाले व्यक्तिगत अधिकार र वातावरणीय नैतिकताबारे बहस जन्माएको छ। आलोचकहरूले उत्खननले वातावरणमा ठूलो क्षति पुर्‍याउन सक्ने तर्क गरेका छन् भने समर्थकहरूले यति ठूलो आर्थिक लाभलाई प्राथमिकता दिनुपर्ने बताइरहेका छन् । जेम्स पनि आफ्नो खजाना खोजीबाट पछि हट्ने पक्षमा देखिँदैनन् । 'यो समस्या यत्तिकै हल हुँदैन, यो खजान दिन-प्रतिदिन झनै मूल्यवान बन्दैछ र म यसलाई पत्ता लगाएरै छोड्छु,' उनले भनेका छन् । 

बिटक्वाइनको मूल्य १ लाख ५७ हजार डलर पुग्यो भने हार्डड्राइभको मूल्य १ अर्ब डलरभन्दा बढी हुनसक्ने बजार विश्लेषकहरूको अनुमान छ । तथापि, काउन्सिलको अडान परिवर्तन हुन्छ वा हुँदैन, त्यो भने हेर्न बाँकी नै छ। अहिलेका लागि यो करोडौं डलरको खजाना न्युपोर्टको डम्पिङ साइटमा गाडिएको छ र यो घटनाले डिजिटल सम्पत्तिको अस्थिरतालाई समेत उजागर गरेको छ। 

एजेन्सी

Link copied successfully