अवैध सुनले धानेको बजार, ज्याला–जर्ती र गुणस्तरमा छैन अनुगमन

चार महिनामा वैध रूपमा १ सय ३२ किलो ५६४ ग्राम सुन आयात, यही अवधिमा बजारमा करिब २४ सय किलो सुन खपत

मंसिर २२, २०८१

राजु चौधरी

There is no monitoring of illegal gold market, wages and quality

काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ मान्ने हो भने अफसिजनमा दिनको १५ देखि २० किलो सुन खपत हुन्छ । सिजनमा भने खपत बढेर दिनको ३५ देखि ४० किलोसम्म पुग्छ । दिनको २० किलोका हिसाबले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा २४ सय किलो सुन खपत हुन्छ । 

कोटा प्रणालीअनुसार वाणिज्य बैंकहरूले दिनको २० किलो सुन आयात गरी बिक्री गर्न पाउँछन् । तर भन्सार विभागको आयातको तथ्यांक हेर्दा ४ महिनामा जम्मा १ सय ३२ किलो ५६४ ग्राम सुन आयात भएको छ । अर्थात् दिनको १.१० किलो मात्रै सुन वैध रूपमा भित्रिएको छ । तर बजार चलेकै छ । 

व्यवसायीकै भनाइअनुसार धनतेरसको दुई दिनमा मात्रै करिब १ सय किलो सुन खपत भएको थियो । तर आयात परिमाण हेर्दा न्यून छ । आखिर कहाँको सुनले बजार धानेको छ ? व्यवसायीले सर्वसाधारणको माग कसरी पूर्ति गरिरहेका छन् ? जानकार भन्छन्, ‘अवैध तस्करीको सुनले !’ 

केही समयअघि नेपाल र भारतबीच भन्सार दरमा ५० प्रतिशतले फरक हुँदा तस्करी मौलाएको थियो । भारतको तुलनामा नेपालमा तोलाकै १८ हजारदेखि २० हजार रुपैयाँ महँगो भएपछि तस्करीको सुन नेपाल भित्रिएको जानकार बताउँछन् ।

‘एक त भन्सारले नेपाल आइपुग्दा सुन महँगो भयो । खुला सीमाका कारण भारतबाट अवैध रूपमा आएन भन्न सकिँदैन । अवैधबाहेक केही पुराना सुन पनि बजारमा आए । विदेशबाट स्वदेश फर्केकाले पनि ल्याए,’ महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने, ‘तर भन्सार नघट्दा बजारमा अवैध सुन आएकै थियो । त्यही सुनले बजार धानेको थियो ।’

आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेपालमा भन्सार दर ५ प्रतिशतबाट बढेर २० प्रतिशत पुगेको थियो । तर भारत सरकारले गत साउनमा भन्सार दर १५ प्रतिशतबाट ६ प्रतिशतमा झारेको थियो । भारतमा साढे ३ प्रतिशत जीएसटी लगाए पनि नेपाल–भारतबीचको भन्सार दर ५० प्रतिशतले फरक थियो । यही कारण भारतको तुलनामा नेपालमा सुन महँगो भयो । र, खुला सीमाका कारण अवैध कारोबारले प्रोत्साहन पाएको व्यवसायीको भनाइ छ । 

‘बजारमा दैनिक खपत ५ सय किलोसम्म हुन्छ पनि भनिन्छ । त्यो सम्भावना नभए पनि औसत खपत दिनमा २० देखि २५ किलो हो । सिजनमा ५० किलोसम्म पुग्छ । अहिले मूल्यका कारण खपत कम भए पनि १२ किलोभन्दा बढी नै छ,’ महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले भने, ‘बजार धानेको भनेको पुरानो फिर्ता आएको सुन, स्टक र तस्करीको सुनले नै हो । अवैध सुन भारतबाट आएकै छ ।’

कुनै बेला उत्तरबाट दक्षिणतर्फ तस्करी भई सुन बिक्री हुन्थ्यो । अहिले दक्षिणबाट उत्तरतर्फ आएको शाक्य बताउँछन् । अवैध सुन भित्रिएकै कारण केही गहना व्यवसायीले गहनामा ज्याला–जर्ती शुल्क ५ देखि ७ प्रतिशतसम्म कम गरेर बिक्री गरेको उनको दाबी छ ।

‘अन्तर्राष्ट्रिय बजारबाटै महँगोमा आएको सुनमा त्यति धेरै ज्याला–जर्ती घटाएर बिक्री गर्न सम्भव थिएन । वैध रूपमा आएको सुनमा ज्याला–जर्तीमा ५० प्रतिशत छुट दिन सकिन्न,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘सुन कहाँबाट आयो र कसरी बिक्री भयो, त्यो भने खोजीको विषय हो । सरकारले भन्सार दर ५० प्रतिशतले बढाएपछि केही व्यवसायीले ज्याला–जर्ती किन बढाए, त्यो पनि शंकाको विषय बनेको छ । यसमा सरकारी निकायले अनुसन्धान गर्न जरुरी छ ।’

भन्सार विभागका अनुसार साउनमा १ सय किलो (दिनको ३.३३ किलो) हाराहारी सुन आयात भएको थियो । भदौमा जम्मा ५० ग्राम मात्रै आयात भयो । असोजमा आयात भएन । कात्तिकमा भने ३२ किलो सुन आयात भएको भन्सारको तथ्यांक छ । कात्तिकमै तिहारको धनतेरस परेकाले सुनको माग अत्यधिक बढेको थियो । 

उल्लिखित तथ्यांक हेर्दा आयात, माग र पूर्तिको परिमाण मिलेको देखिन्न । यसले पनि बजारको माग अवैध सुनले पूर्ति गरेको पुष्टि हुन्छ । गहना व्यवसायी तथा बजार विश्लेषक तेजरत्न शाक्यले पनि खुला सीमाका कारण हुने तस्करी मौलाएको दाबी गरे । तस्करी बढ्नुको मुख्य कारक भने भन्सार दर नै भएको उनको पनि स्वीकारोक्ति छ । 

‘भारत र नेपालमा भन्सार दर फरक हुँदा अवैध बाटोबाट धेरै सुन आयो, त्यही सुनले बजार चलेको थियो,’ तेजरत्नले भने, ‘अवैध बाटोबाट आएपछि गहनाको ज्याला–जर्ती नलिए पनि पसल चलाउन सकिन्छ । बजारले त्यही प्रवृत्ति पछ्यायो ।’ सरकारले भन्सार दर ५० प्रतिशत घटाएपछि भने व्यवसायीले ज्याला–जर्तीको शुल्क बढाएका छन् । यसले पनि सुनको कारोबारमा आशंका उब्जिएको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल पनि तस्करीको सुनले बजार धानेको स्विकार्छन् । ‘वैध बाटोबाट दिनको २० किलो आयात हुन्छ, किन्न पाइन्छ । तर बजारमा ५ सय किलोसम्म खपत भएको जानकारी आएको छ । ४८० किलो सुन कहाँको हो ? यसमा गम्भीर प्रश्न छ,’ उनले भने, ‘बजार तस्करीको सुनले धानेको आशंका छ । तर विडम्बना, यसको तथ्यांक कतै पाइन्न ।’ 

बजारमा अवैध कारोबार भइराख्दा सरकारले अनुगमन भने गरेको छैन । तस्करीको सुन मात्रै होइन, सर्वसाधारणहरू ज्याला–जर्तीको शुल्कसँगै गुणस्तरमा पनि ठगिएका छन् । व्यवसायीले २४ क्यारेट सुनका नाममा सर्वसाधारणसँग चर्को मूल्य लिएका छन् ।

९९.९ प्रतिशत शुद्धता भएको सुनलाई २४ क्यारेट भनिन्छ । गहना बनाउँदा व्यवसायीले अन्य धातु पनि मिसाउँछन् । तर उपभोक्तासँग २४ क्यारेटकै मूल्य लिन्छन् । यसरी सर्वसाधारण ठगिए पनि बजार अनुगमन भएको छैन । कारोबार निर्देशिका नहुँदा अनुगमन हुन नसकेको विभागका महानिर्देशक पौडेलले बताए ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully