चार महिनामा वैध रूपमा १ सय ३२ किलो ५६४ ग्राम सुन आयात, यही अवधिमा बजारमा करिब २४ सय किलो सुन खपत
काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ मान्ने हो भने अफसिजनमा दिनको १५ देखि २० किलो सुन खपत हुन्छ । सिजनमा भने खपत बढेर दिनको ३५ देखि ४० किलोसम्म पुग्छ । दिनको २० किलोका हिसाबले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा २४ सय किलो सुन खपत हुन्छ ।
कोटा प्रणालीअनुसार वाणिज्य बैंकहरूले दिनको २० किलो सुन आयात गरी बिक्री गर्न पाउँछन् । तर भन्सार विभागको आयातको तथ्यांक हेर्दा ४ महिनामा जम्मा १ सय ३२ किलो ५६४ ग्राम सुन आयात भएको छ । अर्थात् दिनको १.१० किलो मात्रै सुन वैध रूपमा भित्रिएको छ । तर बजार चलेकै छ ।
व्यवसायीकै भनाइअनुसार धनतेरसको दुई दिनमा मात्रै करिब १ सय किलो सुन खपत भएको थियो । तर आयात परिमाण हेर्दा न्यून छ । आखिर कहाँको सुनले बजार धानेको छ ? व्यवसायीले सर्वसाधारणको माग कसरी पूर्ति गरिरहेका छन् ? जानकार भन्छन्, ‘अवैध तस्करीको सुनले !’
केही समयअघि नेपाल र भारतबीच भन्सार दरमा ५० प्रतिशतले फरक हुँदा तस्करी मौलाएको थियो । भारतको तुलनामा नेपालमा तोलाकै १८ हजारदेखि २० हजार रुपैयाँ महँगो भएपछि तस्करीको सुन नेपाल भित्रिएको जानकार बताउँछन् ।
‘एक त भन्सारले नेपाल आइपुग्दा सुन महँगो भयो । खुला सीमाका कारण भारतबाट अवैध रूपमा आएन भन्न सकिँदैन । अवैधबाहेक केही पुराना सुन पनि बजारमा आए । विदेशबाट स्वदेश फर्केकाले पनि ल्याए,’ महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने, ‘तर भन्सार नघट्दा बजारमा अवैध सुन आएकै थियो । त्यही सुनले बजार धानेको थियो ।’
आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेपालमा भन्सार दर ५ प्रतिशतबाट बढेर २० प्रतिशत पुगेको थियो । तर भारत सरकारले गत साउनमा भन्सार दर १५ प्रतिशतबाट ६ प्रतिशतमा झारेको थियो । भारतमा साढे ३ प्रतिशत जीएसटी लगाए पनि नेपाल–भारतबीचको भन्सार दर ५० प्रतिशतले फरक थियो । यही कारण भारतको तुलनामा नेपालमा सुन महँगो भयो । र, खुला सीमाका कारण अवैध कारोबारले प्रोत्साहन पाएको व्यवसायीको भनाइ छ ।
‘बजारमा दैनिक खपत ५ सय किलोसम्म हुन्छ पनि भनिन्छ । त्यो सम्भावना नभए पनि औसत खपत दिनमा २० देखि २५ किलो हो । सिजनमा ५० किलोसम्म पुग्छ । अहिले मूल्यका कारण खपत कम भए पनि १२ किलोभन्दा बढी नै छ,’ महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले भने, ‘बजार धानेको भनेको पुरानो फिर्ता आएको सुन, स्टक र तस्करीको सुनले नै हो । अवैध सुन भारतबाट आएकै छ ।’
कुनै बेला उत्तरबाट दक्षिणतर्फ तस्करी भई सुन बिक्री हुन्थ्यो । अहिले दक्षिणबाट उत्तरतर्फ आएको शाक्य बताउँछन् । अवैध सुन भित्रिएकै कारण केही गहना व्यवसायीले गहनामा ज्याला–जर्ती शुल्क ५ देखि ७ प्रतिशतसम्म कम गरेर बिक्री गरेको उनको दाबी छ ।
‘अन्तर्राष्ट्रिय बजारबाटै महँगोमा आएको सुनमा त्यति धेरै ज्याला–जर्ती घटाएर बिक्री गर्न सम्भव थिएन । वैध रूपमा आएको सुनमा ज्याला–जर्तीमा ५० प्रतिशत छुट दिन सकिन्न,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘सुन कहाँबाट आयो र कसरी बिक्री भयो, त्यो भने खोजीको विषय हो । सरकारले भन्सार दर ५० प्रतिशतले बढाएपछि केही व्यवसायीले ज्याला–जर्ती किन बढाए, त्यो पनि शंकाको विषय बनेको छ । यसमा सरकारी निकायले अनुसन्धान गर्न जरुरी छ ।’
भन्सार विभागका अनुसार साउनमा १ सय किलो (दिनको ३.३३ किलो) हाराहारी सुन आयात भएको थियो । भदौमा जम्मा ५० ग्राम मात्रै आयात भयो । असोजमा आयात भएन । कात्तिकमा भने ३२ किलो सुन आयात भएको भन्सारको तथ्यांक छ । कात्तिकमै तिहारको धनतेरस परेकाले सुनको माग अत्यधिक बढेको थियो ।
उल्लिखित तथ्यांक हेर्दा आयात, माग र पूर्तिको परिमाण मिलेको देखिन्न । यसले पनि बजारको माग अवैध सुनले पूर्ति गरेको पुष्टि हुन्छ । गहना व्यवसायी तथा बजार विश्लेषक तेजरत्न शाक्यले पनि खुला सीमाका कारण हुने तस्करी मौलाएको दाबी गरे । तस्करी बढ्नुको मुख्य कारक भने भन्सार दर नै भएको उनको पनि स्वीकारोक्ति छ ।
‘भारत र नेपालमा भन्सार दर फरक हुँदा अवैध बाटोबाट धेरै सुन आयो, त्यही सुनले बजार चलेको थियो,’ तेजरत्नले भने, ‘अवैध बाटोबाट आएपछि गहनाको ज्याला–जर्ती नलिए पनि पसल चलाउन सकिन्छ । बजारले त्यही प्रवृत्ति पछ्यायो ।’ सरकारले भन्सार दर ५० प्रतिशत घटाएपछि भने व्यवसायीले ज्याला–जर्तीको शुल्क बढाएका छन् । यसले पनि सुनको कारोबारमा आशंका उब्जिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल पनि तस्करीको सुनले बजार धानेको स्विकार्छन् । ‘वैध बाटोबाट दिनको २० किलो आयात हुन्छ, किन्न पाइन्छ । तर बजारमा ५ सय किलोसम्म खपत भएको जानकारी आएको छ । ४८० किलो सुन कहाँको हो ? यसमा गम्भीर प्रश्न छ,’ उनले भने, ‘बजार तस्करीको सुनले धानेको आशंका छ । तर विडम्बना, यसको तथ्यांक कतै पाइन्न ।’
बजारमा अवैध कारोबार भइराख्दा सरकारले अनुगमन भने गरेको छैन । तस्करीको सुन मात्रै होइन, सर्वसाधारणहरू ज्याला–जर्तीको शुल्कसँगै गुणस्तरमा पनि ठगिएका छन् । व्यवसायीले २४ क्यारेट सुनका नाममा सर्वसाधारणसँग चर्को मूल्य लिएका छन् ।
९९.९ प्रतिशत शुद्धता भएको सुनलाई २४ क्यारेट भनिन्छ । गहना बनाउँदा व्यवसायीले अन्य धातु पनि मिसाउँछन् । तर उपभोक्तासँग २४ क्यारेटकै मूल्य लिन्छन् । यसरी सर्वसाधारण ठगिए पनि बजार अनुगमन भएको छैन । कारोबार निर्देशिका नहुँदा अनुगमन हुन नसकेको विभागका महानिर्देशक पौडेलले बताए ।
