माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन तयारी

दायाँतर्फको डिस्यान्डर मर्मत र सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Preparation of power generation from Upper Tamakoshi by December 10

काठमाडौँ — सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार तालिका तय गरिएको छ ।

गत असोज ११ र १२ को अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्‍याएको थियो । 

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो । 

दुईवटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी पुस १० भित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ । यसैगरी, कर्ल्भटको भित्ता र सिलिङमा देखिएका चिराको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ । 

दायाँतर्फको अर्को डिस्यान्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो । 

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । 

हिउँदयामा विद्युत् गृह चलाउन नसके आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युत् गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपाय तय गर्न स्थलगत अनुमगनमा गएको हो । 

माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिए देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न कार्यकारी निर्देशक घिसिङले आग्रह गरे ।

‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय) को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमा समेत आयात गर्न अनुमति पाएका छैनौं, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउनेछ,’ घिसिङले भने ।

दायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी वर्षायाम सुरु हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । ‘त्यसो गर्न सकिएन भने उत्पादन गर्न नससी वर्षायाममा विद्युत् खेर फाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मतसम्भारमा लागौं,’ घिसिङले भने । 

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ साँझ ७ बाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) खुला गरिएको थियो, जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । 

मर्मतसम्भारका हरसम्भव उपाय अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको कम्पनीका सीईओ मोहनप्रसाद गौतमले बताए ।

कान्तिपुर

Link copied successfully