१० बिघामा २२ पोखरी बनाएर वर्षमा ८ सय क्विन्टल हाराहारी माछा उत्पादन गरेर करोड बढीको कारोबार गरिरहेका छन् ।
कञ्चनपुर — बुबा चन्द्रबहादुर चौधरीले एक/दुई गह्रामा धानसँगै माछापालन सुरु गरेका थिए । डेढ दशकअघिको कुरा हो, किसानलाई माछापालनमा आकर्षित गर्न सरकारले भर्खर योजना ल्याएको थियो । बेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरी भारतको देहरादुनबाट व्यवस्थापनमा स्नातकोत्तर सकेर गैरसरकारी संस्थाको जागिरसँगै महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा अध्यापन गरिरहेका थिए ।
धानखेतबाट सुरु भएको माछापालनलाई बढाउँदै गएपछि आम्दानी पनि बढ्न थाल्यो । त्यसपछि हरिराम धान, गहुँ खेती गर्दै आएको तीन बिघामा माछापालन गर्न कस्सिए । जुन व्यवसाय अहिले हरिरामका लागि आम्दानीको स्रोत मात्रै बनेको छैन, उनको परिचयसमेत बनेको छ ।
२०७२ मा बुबाको मृत्युपछि माछापालन व्यवसायलाई उनले सम्हाले । अहिले वार्षिक करोड बढीको कारोबार गरिरहेका छन् । १० बिघा जमिनमा २२ पोखरी बनाएर उनले माछापालन गरिरहेका छन् । वर्षमा ८ सय क्विन्टल हाराहारी माछा उत्पादन गर्छन् ।
‘लगानी पनि धेरै छ, आम्दानी पनि राम्रै हुन्छ,’ हरिरामले भने, ‘भुरादेखि दानासम्म निकै महँगो र सहजै पाउन नसकिने भएकाले उत्पादन लागत निकै बढी छ ।’ अहिले उनले पंगास, कमन कार्पलगायतका माछा राखेका छन् । माछापालनबाट वर्षमा ३० लाख बढी आम्दानी गर्ने उनका माछा स्थानीय बजारमै खपत हुन्छ । व्यापारीहरू पोखरीमा नै किन्न आउँछन् ।
बाह्रैमास माछा उत्पादन गरिरहेका उनले भने, ‘धान, गहुँभन्दा यसमा बढी आम्दानी छ ।’ त्यसो त जोखिम पनि उत्तिकै रहेको बताउने हरिराम यसवर्ष वर्षाले धेरैको पोखरी फुटेर माछा बगाउँदा लाखौंको नोक्सान भएको बताउँछन् ।
उनका अनुसार उत्पादन गरेपछि पनि भारतीय माछाका कारण यहाँको उत्पादनले मूल्य नपाउने समस्या छ । भारतीय माछाको तुलनामा यहाँको उत्पादन मूल्य बढी हुने भएकाले प्रतिस्पर्धा गर्न नसकिने उनले बताए । अहिले पनि बजारमा अवैध रूपमा भारतीय माछा भित्रिने गरेको हरिरामको गुनासो छ ।
‘माछाको भुरा र चारा सहजै र सुलभ मूल्यमा पाउने व्यवस्था भएमा कृषकहरू अझै आकर्षित हुन सक्छन्,’ उनले भने, ‘तर अहिले माछापालनमा पाइने अनुदान पनि काम गर्नेभन्दा नगर्ने किसानले पाउँछन्, यसलाई पनि सुधार गर्नु आवश्यक छ ।’
उनले विगतको तुलनामा केही सुधार भए पनि अझै धेरै समस्या रहेको बताए । भारतबाट आयात हुने माछामा क्वारेन्टाइनदेखि भन्सार प्रक्रिया सबै पूरा गर्ने विषयमा पनि कडाइ गरिनुपर्ने चौधरी बताउँछन् । दुई साताअघि कैलाली र कञ्चनपुरका माछा व्यवसायीहरूले गड्डाचौकी भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालयमा आवश्यक प्रक्रिया कडाइका लागि पालना गरिदिन आग्रह गरेका थिए ।
उनीहरूले भारतबाट आउने माछाका कारण स्थानीय उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । हरिरामले माछापालनबाटै छोरी भूमिकालाई एमबीबीएस पढाइरहेका छन् । भूमिका नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तीन वर्षदेखि एमबीबीएस अध्ययनरत छिन् । उनका भाइ मनीष पनि ‘एआई’ विषयमा काठमाडौंमा अध्ययनरत छन् ।
