विषादी प्रतिबन्ध कार्यान्वयनमा आशंका

आयात भइसकेका विषादीलाई खपतका लागि दुई वर्षको समय

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Apprehension on the implementation of the pesticide ban

काठमाडौँ — सरकारले ३ प्रकारका विषादी आयात र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर पाराक्वाटा/पाराक्वाट डाइक्लोराइड, क्लोरोपाइरिफस र फोरेट नामक विषादी आयात बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

गत असार २५ मा बसेको जीवनाशक विषादी व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जीवनाशक विषादी व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । 

समितिले निर्णय गरेको करिब ५ महिनापछि राजपत्रमा सूचना प्रकाशन भएको छ । पाराक्वाटा/पाराक्वाट डाइक्लोराइड विषादी झारपातनाशक समूहमा पर्छ । क्लोरोपाइरिफस विषादी कीटनाशक समूहमा पर्छ । फोरेट विषादी कीटनाशक समूहमा पर्छ । पाराक्वाटा/पाराक्वाट डाइक्लोराइड र क्लोरोपाइरिफस विषादी राजपत्रमा प्रकाशन भएकै मितिदेखि उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध लागेको छ । 

सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भइसकेका विषादी खपतका लागि दुई वर्षको समय तोकिएको छ । फोरेटलाई भने समय दिइएको छैन । किनभने फोरेट २०७२ असार २० मा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले जनाएको छ । विषादी प्रतिबन्ध लगाउने निर्णय स्वागतयोग्य भएकाले कार्यान्वयनमा जोड दिनुपर्ने केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले बताए । 

‘यी विषादीबाट धेरै किसान पीडित भइसकेका छन् । विषादीको प्रयोगमा किसानलाई पर्याप्त तालिम छैन,’ उनले भने, ‘विश्वमा यी विषादी प्रतिबन्ध भइसकेका छन् । तर नेपालमा कानुनी रूपमा आयात बिक्री भइराखेका थिए, प्रतिबन्ध गर्ने निर्णयसँगै पूर्ण कार्यान्वयनमा जानुपर्छ ।’ 

यीबाहेक यस्ता अन्य अति खतरानाक विषादी पनि प्रतिबन्ध लगाउँदै जानुपर्ने उनको भनाइ छ । जानकारका अनुसार अति विषादी प्रयोग भएको तरकारीले तत्काल टाउको दुख्ने, बान्ता आउने, वाकवाकी आउने, हात काँप्ने, बेहोस हुनेलगायत समस्या हुन्छ । खतरानाक विषादीले दीर्घकालीन रूपमा क्यान्सर, लुलो–लङ्गडो हुने, गर्भ तुहिने, कलेजोको खराबीलगायत समस्या निम्त्याउने बताइन्छ । 

विषादी प्रयोग गर्दा पहिलो मार किसानलाई नै पर्छ । तर किसानलाई विषादी प्रयोगबारे तालिम छैन । पर्याप्त ज्ञान–सीप नहुँदा खुला सीमाका कारण अवैध रूपमा पनि आयात हुन्छ । यही कारण प्रतिबन्ध भएका विषादी पनि भित्रिन्छ । तर सरकारी निकायबाट नियमन छैन । यसको दायित्व प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको हो । 

केन्द्रकै अनुसार ६ वर्षको अवधिमा विषादीको आयात दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ३५ हजार ७ सय २१ किलो विषादी आयात भएको थियो । ०७९/८० मा आयात परिमाण बढेर ११ लाख ८३ हजार ७ सय ४१ किलो पुगेको छ । रकमको कुरा गर्दा गत आर्थिक वर्षमा मात्रै १ अर्ब ६९ करोड ६३ लाख रुपैयाँको विषादी आयात भएको छ । यो रकम वैधानिक रूपमा आयात भएको परिमाण हो । अवैध रूपमा पनि उत्तिकै भित्रिन्छ ।

विषादी आयात गर्नकै लागि ३ सय ५० कम्पनी दर्ता भएका छन् । १९ हजारभन्दा बढी वितरक छन् । तिनै वितरकमार्फत एग्रोभेट हुँदै किसानको बारीसम्म विषादी पुगेको छ । तर प्रयोगको विधिबारे किसानलाई पर्याप्त ज्ञान छैन । तरकारी, फलफूल र खाद्यान्नमा जथाभाबी प्रयोग गरिएको विषादी उपभोक्ताको भान्सासम्म पुगेको छ ।

मुलुकमा मुख्यतः ७ प्रकारका विषादी आयात हुन्छन् । ती कीटनाशक, ढुसीनाशक, ब्याक्टेरियानाशक, झारनाशक, शंखेकीरानाशक, मुसानाशक, जैविक विषादीमा पर्छन् । यसअन्तर्गत सयौं विषादी छन् ।

कान्तिपुर

Link copied successfully