काठमाडौँ — बुद्ध एयरले १९औं एटीआर जहाज भित्र्याएको छ । बुधबार आएको नयाँ जहाज एटीआर–७२ हो । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइनेबुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बुद्ध एयरले कल साइन नाइन एन-एओजी जहाज फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट भित्र्याएको छ ।बुद्ध एयरसँग ३ वटा एटीआर-४२-३२० र १६ वटा एटीआर-७२-५०० जहाजहरू रहेका छन् । बुद्ध एयरले केही समय अगाडि मात्रै एउटा एटीआर-४२-३२० जहाजलाई उडानबाट बिदाई गरेको थियो ।
उक्त जहाज डिरजिस्ट्रेसन प्रक्रियामा रहेको छ । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप बुद्ध एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएअनुरूप यात्रुहरू आफ्नो समय अनुकल उडान भर्न सक्नेछन् । हामी उडान तालिकालाई बढीभन्दा बढी प्रभावकारिताका साथ सञ्चालन गर्न प्रतिबद्ध रहेका छौं ।’
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।
