कोलकाता महोत्सवमा नेपाली सुन्तला चाख्नेको भीड 

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

A crowd of Nepalese orange tasters at Kolkata Festival

कोलकाता — कोलकातामा शुक्रबारदेखि सुन्तला महोत्सव सुरु भएको छ । महोत्सवमा नेपाल, भारत र भुटानमा उत्पादित सुन्तला बिक्रीका लागि राखिएको छ । 'तीन देशका सुन्तलासहित कृषि उत्पादनलाई बिक्रीका लागि राखिएको छ', ग्रामीण पर्यटन प्रवर्द्धनका अगुवा  राज बसुले भने, 'महोत्सवले तीन देशबीचको सम्बन्ध विकासमा पनि टेवा पुग्ने आशा छ ।'

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमको आयोजनामा प्रत्येक दुई वर्षमा सुन्तला महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवको उद्घाघटन पश्चिम बंगाल सरकारका मन्त्री सुजित बोसले गरे। उनले सुन्तला महोत्सवले भारत, नेपाल र भुटानबीच आपसी भाइचारा र सद्भावमा समेत सघाउ पुर्‍याउने जनाए । '

यस पटकको सुन्तला महोत्सवले कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष-२०८२ का लागि महत्त्वपूर्ण बन्न सक्ने जनाइएको छ । पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेलले भने,'आगामी भ्रमण वर्षमा लाखौँ भारतीय पर्यटक भित्र्याउन यो महोत्सव प्रभावकारी बन्ने छ ।'

A crowd of Nepalese orange tasters at Kolkata Festivalमहोत्सवमा पूर्वका इलाम, धनकुटा, ताप्लेजुङ, पाँचथरलगायत विभिन्न जिल्लाका  सुन्तला, अलैँची, एभोकाडो, किबी, बेलिचन्दलगायतका स्थानीय उत्पादनका आधा दर्जनभन्दा बढी  स्टल राखिएको छ । कोलकाताको साल्टलेक सिटी सेन्टर क्षेत्रमा तीन दिनसम्म जारी रहने महोत्सवमा नेपालका होटल, होमस्टे व्यवसायी, किसान, कलाकारलगायत २ सय जना सहभागी छन् । महोत्सवमा नेपाली सुन्तला चाख्नेको भीड लागेको छ । 

कोलकाताका मृत्युञ्जय कानुङ्गोले नेपाली सुन्तलाको स्वादले लोभ्याएको बताए । उनी भन्छन्, 'यति मीठो सुन्तलाको स्वाद मलाई थाहा थिएन।' महोत्सवमा सुन्तलासँगै कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यको प्रचार सामग्रीसमेत राखिएको छ । पाथीभरा, चतरा, हलेसीलगायत धार्मिक क्षेत्रको प्रवर्द्धन पनि सँगसँगै गरिएको सुन्तला महोत्सवका नेपाल प्रतिनिधि अर्जुनकुमार कार्कीले जनाए । 

कान्तिपुर

Link copied successfully