भैरहवा — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखा परेका सबै खालका समस्या समाधान गरी उद्यमी व्यवसायीको आत्मबल उठाउने काम अहिलेको सरकारले गर्ने बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको भैरहवामा उद्घाटन गर्दै मन्त्री पौडेलले मुलुकमा विद्यमान आर्थिक शिथिलताको अन्त्य गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउने सरकारले गर्ने बताए । ‘उद्यमी व्यवसायीको आत्मबल उठाएर उनीहरुलाई आत्मविश्वासका साथ राष्ट्र निर्माणका कार्यमा अगाडि बढाउन अनुकूल आधार निर्माण गर्नु पर्छ ? भन्नेबारेमा हामीले छलफल गरेका छौं,’ पौडेलले भने, ‘निजी क्षेत्रको मनोबल बढाउनका लागि आवश्यक परेमा द्रुतमार्गबाट कानुनको निर्माण र संशोधन गरिने छ ।’
देशको अर्थतन्त्र प्रभावकारी बनाउने गरी योजना बनाएर औद्योगिक र व्यावसायिक वातावरण तयार गरी लगानीका लागि अनुकूल वातावरण तयार पारिने प्रतिबद्धता उनले गरे । ‘यसका लागि सरकार तपाईंहरुको संरक्षक बनेर सबै समस्या समाधान गर्न तयार छ । अभिभावकत्व ग्रहण गर्न तयार छ,’ उनले भने, ‘अब औद्योगिक वातावरण बन्दै छ, तपाईंहरुले साथ दिनुस् ।’
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्न आवश्यक स्रोत व्यवस्थापनदेखि अन्य आवश्यक पूर्वाधार गर्न सरकार तयार रहेको उनले जनाए ।
रुपन्देही र लुम्बिनी प्रदेशको मात्र आयोजना नभई नभएर राष्ट्रकै गौरवकै आयोजना भएकाले पूर्ण क्षमतामा संचालन हुनेप्रति कोही पनि सशंकित र अफवाहको पछाडि नलाग्न उनले आग्रह गरे ।
विमानस्थलमा अहिलेको टर्मिनललाई डोमेष्ट्रिक यात्रुलाई प्रयोग हुने र अन्तर्राष्ट्रिय उडानका लागि अर्को टर्मिनल भवन बनाउने काम बाँकी रहेको उनले जनाए । ‘यो विमानस्थलपूर्ण क्षमतामा चल्छ, त्यो कसरी चल्छ ? भन्ने बारेमा हामीले गरेर देखाउने छौं,’ उनले भने ।
भैरहवाले छोटो समयमै आधुनिक सहरको रुपमा परिणत भएको जनाउँदै उनले अझ विकसित, समुन्नत र पूर्वाधारयुक्त बनाएर विश्वभरिका पर्यटकका निम्ति आकर्षित सहरको रुपमा परिणत गरिने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बैंकमा ब्याजदर घटे पनि लगानी बढ्न नसकेकोले स्वदेशमै रोजगारीको अवसर जुटेर वैदेशिक रोजगारीमा जानु पर्ने वातावरणको अन्त्य हुने खालको आर्थिक योजना ल्याइनु पर्ने बताए ।
आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालनका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण, भिसा सेन्टर, श्रम स्विकृति, बिमाको व्यवस्था, नो अब्जेक्सन लेटरको उपलब्धताजस्ता पूर्वाधार तथा कार्य स्थानीयस्तरबाटै हुन नसकेको बताए ।
भैरहवा सेजको समस्या समाधान, बेलहिया नाकालाई व्यवस्थित गराइनु पर्ने, भैरहवामा निर्माणाधिन एकीकृत चेक पोष्ट (आईसीपी) मा रेल वेको कनेक्सन र भन्सारमा १ सय रुपैयाँभन्दा माथिको सामान आयातमा प्रज्ञापनपत्रको व्यवस्था लागू गर्न उनले माग गरे ।
