नेपाल-चीन बिजनेस समिट : चीनबाट भैरहवा र पोखरा सिधा उडान गर्न प्रस्ताव

नेपालमा लगानीको वातावरण सुधार हुादै गएको छ, थप नीतिगत सहजीकरणमा सघाउन हामी तयार छौं, आउनुस् लगानी गर्नुस् । - केपी शर्मा ओली, प्रधानमन्त्री

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Nepal-China Business Summit: Proposal for direct flights from China to Bhairahawa and Pokhara

बेइजिङ — नेपाल उद्योग वाणिज्य महासंघको पहलमा चीनमा दोस्रो पटक आयोजित ‘नेपाल–चीन बिजनेस समिट’ मा पोखरा र भैरहवा विमानस्थल सञ्चालनको मुद्दा उठाइएको छ । 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र चीन दुवैको प्राथमिकतामा परेको ‘कनेक्टिभी’को योजना साकार पार्न नेपालबाट उक्त दुई विमानस्थलमा सिधा उडान गर्न दुवै देशका सरकारी तथा निजी क्षेत्रका अधिकारीको ध्यानाकर्षण गराएका छन् । 

चिनियाँ विमान कम्पनीहरूको सिधा उडानले पर्यटक आगवनमा वृद्धि र जनस्तरको सम्बन्ध विस्तार भई आर्थिक क्रियाकलाप बढ्ने र त्यसले नेपालमा प्रत्यक्ष लाभ पुग्ने ढकालको भनाइ छ ।

‘दुई विमानस्थलमा चीनबाट सिधा हवाई उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गरिदिन विशेष अनुरोध गर्दछु,’ नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको समिटमा ढकालले भने, ‘नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य हो । दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सिधा उडानले चिनियाँ पर्यटकलाई पनि सुविधा हुनेछ । त्यसकारण चीन सरकारले यो विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दछु ।’

समिटमा ढकालले यो एक वर्षको अवधिमा व्यावसायिक वातावरण बनाउन नेपालमा भएको पहलबारे चिनियाँ निजी क्षेत्रका अधिकारीलाई जानकारी गराएका थिए । ‘महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ । द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ,’ उनले भने । 

नेपालको पहिलो फटक त्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको बताए । ‘यसले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिबद्धता पनि जनाउँछु,’ उनले भने ।

कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरे । नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको उनको दाबी छ । नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकाले लगानीका लागि प्रधानमन्त्री ओलीले आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको र दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनले बताए । 

कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको प्रधानमन्त्री ओलीको दाबी छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैं तत्पर रहेको उनले बताए ।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उनले जनाए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनको भनाइ छ ।

सीसीपीआईटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । नेपालमा चिनियाँ व्यवसायीले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनले बताए ।

Nepal-China Business Summit: Proposal for direct flights from China to Bhairahawa and Pokhara

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको र चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने उपमन्त्री जीको भनाइ छ । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनले जनाए ।

यो समिटको दोस्रो संस्करण हो । महासंघ र सीसीपीआईटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । महासंघ पुरानो साझेदार संस्था रहेको र समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने सीसीपीआईटीका उपाध्यक्ष झाङ साओगाङले बताए ।

सीसीपीआईटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने उनको भनाइ छ । महासंघ र सीसीपीआईटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि उनले जनाए ।

नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।  नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले उल्लेख गरे । 

नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनको भनाइ छ । समिटमा १२० जना चिनियाँ व्यवसायीहरूको सहभागिता थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता जनाएका थिए ।

उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो । महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यसअघि बेइजिङ, नयाँदिल्ली र दुबईमा महासंघका साझेदार संस्था सीसीपीआईटी, कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री र दुबई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।

कान्तिपुर

Link copied successfully