सेयर बजारमा अनैतिक गतिविधि हुन दिन्नँ : अध्यक्ष श्रेष्ठ

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Do not allow unethical activities in the stock market: Chairman Shrestha

काठमाडौँ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजारमा हुने अनौतिक गतिविधि निस्तेज पार्न आफू निर्ममताका साथ प्रस्तुत हुने बताएका छन् । बजारलाई निष्पक्ष, पारदर्शी र सुशासित बनाउने मूल नाराका साथ बोर्ड अघि बढेकाले सबै प्रकारका अनौतिक गतिविधि हुन नदिने उनको भनाइ थियो ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बिहीबार अध्यक्ष श्रेष्ठले सर्वसाधारण लगानीकर्ताको हित संरक्षणलाई सर्वोच्च स्थानमा राख्ने दाबी गरेका हुन् ।

यसक्रममा बजारमा हुनसक्ने जालसाझी कारोबार, भित्री कारोबार, सेयर खरिदबिक्रीका लागि लगानीकर्तालाई उक्साउनेलगायतका अनैतिक क्रियाकलापहरूलाई निस्तेज पार्न निर्ममताका साथ प्रस्तुत हुने अध्यक्ष श्रेष्ठले बताए । ‘बजार विकास भएसँगै चुनौती पनि बढेको छ, चुनौती समाधानका लागि संस्थागत क्षमता बढाउन आवश्यक छ,’ उनले भने, ‘भित्री कारोबार, मिलेमतोमा कारोबार, झुटो कारोबारलगायत अनैतिक गतिविधि रोक्न मैले हर सम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ बजार लगानीकर्तामैत्री बनाउन आफूले सक्दो प्रयत्न गर्ने उनको भनाइ थियो ।  

बोर्डलाई माथिल्लो निकायबाट आएका निर्देशन पालना गर्ने पनि अध्यक्ष श्रेष्ठले बताए । मार्जिन कारोबारलगायतका विषयमा देखिएका समस्या समाधान गर्न काम गर्ने पनि उनले बताए । लगानीकर्ताले गरेको कारोबारको राफसाफ तोएिको समयमै गर्न उनले ब्रोकरहरूलाई निर्देशन दिए । 

कान्तिपुर

Link copied successfully