इनड्राइभ ४६ राष्ट्रमा विस्तार

प्राथमिकतामा सामाजिक उत्तरदायित्वका परियोजना

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

InDrive expands to 46 countries

काठमाडौँ — राइड हेलिङ प्लाटफर्म इनड्राइभले विश्वभर ४६ राष्ट्रमा सेवा विस्तार गरिसकेको छ । विश्व विस्तार गर्ने क्रममा सेवाको दिगोपना र सामाजिक उत्तरदायित्व परियोजना प्राथमिकतामा रहेको इनड्राइभले बताएको छ ।

विश्वका मुख्य राष्ट्रमा राइडिङ प्लाटफर्ममा सेवा विस्तार गरिरहेको इनड्राइभले सामाजिक सेवा र उत्तरदायित्वका परियोजना पनि सञ्चालन गरिरहेको इनड्राइभका चिफ अफ स्टाफ इगोर फेडोरोभले बताए । 

‘इनड्राइभले ४६ देशमा द्रुत रूपमा गुणस्तरीय रूपमा सेवा दिइरहेको छ,’ आफ्नो व्यवसायी विस्तार, वर्तमान अवस्था, भावी कार्यक्रम तथा रणनीतिसम्बन्धमा जानकारी दिन इन्डोनेसियाको योग्यकर्तामा आयोजित पत्रकार भेलामा फेडोरोभले भने, ‘२४ करोडभन्दा बढी प्रयोगकर्ताले हाम्रो एफ डाउनलोड गरिसकेका छन्, यो नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण कोसेढुंगा हो । उहाँहरूकै समर्थनमा इनड्राइभका सेवालाई थप विस्तार गर्नुपर्नेछ । त्यसमा हामी प्रतिबद्ध छौं ।’ सन् २०२५ मा कम्पनीको तीव्र रूपमा थप राष्ट्रमा व्यवसाय विस्तार गर्ने रणनीतिक रहेको पनि फेडोरोभले जनाए ।

‘हामी थप देशमा हाम्रो सेवा विस्तार गर्न र विश्वव्यापी रूपमा प्रयोगकर्ताहरूको बढ्दो गतिशीलता आवश्यकता पूरा गर्न नयाँ, प्रतिस्पर्धी र गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं,’ फेडोरोभ भन्छन, ‘सन् २०२५ मा हामी थप बजारहरूमा प्रवेश गर्ने र सवारी–हेलिङ, डेलिभरी, सहरदेखि सहरसम्म यात्रालगायत कार्यक्रम सञ्चालन गर्नेछौं ।’ यो विस्तारले विश्वव्यापी दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने उनको दाबी छ ।

नवीन सोच, गतिशीलता, स्थिरता र संस्थागत जिम्मेवारीका कारण इनड्राइभले भविष्यमा व्यावसायिक उद्योगी व्यवसायीहरूका लागि राम्रो प्लेटफर्म प्रदान गर्ने फेडोरोभले बताए । ‘इनड्राइभ स्थिरता र संस्थागत उत्तरदायित्वप्रति प्रतिबद्ध छ । मानिस र पर्यावरण दुवैमा सकारात्मक प्रभाव सिर्जना गर्नेमा स्पष्ट छौं,’ उनी भन्छन्, ‘यसकारण पनि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सुरु गरेको छ । यी कार्यक्रमले प्रभावकारी र दिगो विकास लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेमा हामी विश्वस्त छौं ।’

सामाजिक सेवामा आफ्ना कार्यक्रम केन्द्रित गर्नकै लागि इनड्राइभले ‘इनभिजन’ कार्यक्रम सञ्चालन गरेको छ । यो समुदायमा आधारित परियोजना हो । यसले दिगो विकासलाई प्रवर्द्धन गर्दै व्यावसायिक निरन्तरता र सबै क्षेत्रमा समावेशितालाई बढावा दिन सामाजिक सेवा र पर्यावरणीय परिवर्तनले ल्याएका समस्या समाधानका क्षेत्रमा काम गरिरहेको बताइएको छ । ‘इनभिजनमार्फत इनड्राइभले पर्यावरण–मैत्री यातायात समाधान प्रवर्द्धन गर्न, यातायात सेवा नभएका नागरिकलाई गुणस्तरीय सेवा दिन र वातावरणमा कमभन्दा कम क्षति पुर्‍याउनेमा निकै सचेत छौं,’ फेडोरोभले भने, ‘इनभिजनका साथ इनड्राइभले विश्वभर सकारात्मक योगदानसहित व्यावसायिक वृद्धि र सफलता प्राप्तिको लक्ष्य राखेको छ ।’ 

सामाजिक उत्तरलायित्वअन्तर्गत समाजमा कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गत वर्षदेखि इनड्राइभले विश्वव्यापी रुपमा ‘अल्टरनेटिभ फिल्म महोत्सव’ गर्दै आएको छ । सोही क्रममा इनड्राइभले गत साता इन्डोनेसियाको योग्यकार्तामा ‘अल्टरनेटिभ फिल्म महोत्सव एवं पुरस्कार वितरण’ को दोस्रो संस्करण आयोजना गरेको थियो । जसमा सुविना श्रेष्ठ निर्देशित नेपाली वृत्तचित्र ‘देवी’ पनि मनोनयनमा परेको थियो । ‘देवी’ ले कुनै पुरस्कार भने हात पारेन । 

लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको राइड हेलिङ प्लाटफर्म इनड्राइभले गत वैशाखमा उद्योगका रूपमा दर्ता भएको हो । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले कानुनबमोजिम आफूलाई औपचारिक व्यवसायका रूपमा अघि सारेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully