खाद्य वीरगन्ज शाखाले बिहीबारदेखि धान किन्ने

मंसिर १८, २०८१

शंकर आचार्य

Food Birganj branch will buy paddy from Thursday

पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले बिहीबारदेखि धान खरिद गर्ने भएको छ । शाखाका सूचना अधिकृत समिर दाहालका अनुसार, यस वर्ष जिरा मसिनो धान प्रतिक्विन्टल ४ हजार र सोना मन्सुली धान प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसामा खरिद गरिने भएको छ ।

जिरा मसिनो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरे लगत्तै धान खरिद सुरु गर्न लागिएको उनले बताए । सोना मन्सुली धानको समर्थन मूल्य यसअघि नै संघीय सरकारले प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरिसकेको छ ।

यस वर्ष केन्द्रबाट ४२ हजार क्विन्टल धान खरिदको कोटा प्राप्त भएको पनि दाहालले बताए । ४२ हजार क्विन्टल कोटामध्ये ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा प्राप्त भएको हो । धान बिक्री गर्न आउने किसानले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र शाखाले आवश्यक ठानेमा सम्बन्धित पालिकाको कृषि शाखाले किसान प्रमाणित गरेको सिफारिस पनि ल्याउनु पर्ने छ । व्यापारी तथा बिचौलियालाई निरुत्साहित गर्न यसो गरिएको दाहाल बताउँछन् । 

गत वर्ष निजी क्षेत्रले भन्दा खाद्यले कम मूल्य दिएपछि किसानले धान नल्याउँदा खाद्य वीरगन्ज शाखाले धान खरिद गर्न सकेको थिएन । सामान्यतया खाद्यले धान खरिद सुरु गर्नुअघि यस भेगमा निजी क्षेत्रले धान खरिद सुरु गरी सक्छन् । उनीहरुले सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी मूल्य दिएपछि किसानले खाद्यलाई भन्दा निजी क्षेत्रलाई धान बिक्री गर्न रुचाउँछन् । यस वर्ष भने हालसम्म खाद्यभन्दा निजी क्षेत्रको धान खरिद मूल्य कम नै रहेकाले किसानले धान बिक्री गर्न ल्याउने सम्भावना छ । 

केन्द्रले यस वर्ष वीरगन्जबाहेक बारा, रौतहट, सर्लाही, मकवानपुर र चितवनबाट धान खरिदको सम्भाव्यता अध्ययन गरेको थियो । केन्द्रबाटै आएका कर्मचारीले यी जिल्लामा खटिएर धान खरिद सम्भाव्यताको अध्ययन गरेका थिए । अन्य जिल्ला तथा पर्साकै अन्य पालिकाहरुमा धान खरिद गर्दा ती पालिकाहरुले सुरक्षा र गोदामको प्रबन्ध गरी दिए खाद्यले ती पालिकाबाट धान खरिद गर्ने नीति लिइएको पनि दाहालले बताए ।  

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully