‘साख मूल्यांकनको नतिजालाई अवसरमा बदलौं’

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

”Let's turn credit assessment results into opportunities”

काठमाडौँ — नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त नतिजालाई अवसरमा बदल्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तर्क्रियामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको सार्वभौम साख मूल्यांकनबाट पाएको नतिजा नेपालका लागि गौरवको विषय रहेको बताए । 

नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहेको र यो सम्भावनालाई नतिजामा बदल्नु आवश्यक रहेको उनको भनाइ छ । सरकारलाई गर्ने आलोचनाको अन्तर्यमा निकास भेटिने भएकाले निरपेक्ष रूपमा मात्र आलोचना नगर्न उनले सुझाए ।

विरासतमा अत्यन्तै गम्भीर समस्याको चाङ प्राप्त गरेको र सरकारले समस्याको बीचमा रहेर काम गर्ने प्रयास गरेको उनले बताए । यसबीचमा सकारात्मक सुधार र संकेत देखापरेको उनको दाबी छ । 

मुलुकको सार्वभौम साख मूल्यांकनले सकारात्मक बहस सिर्जना गरेको योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बताए । अबको बहस सुधारमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ । लगानीका क्षेत्र पहिचान गरी त्यसतर्फ बहस बढाउनुपर्ने उनको भनाइ छ ।

समग्र आर्थिक अवस्थाका हिसाबले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिए पनि चुनौती कायमै रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनाए । सार्वभौम साख मूल्यांकनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उनको भनाइ छ । राजस्वका नयाँ स्रोत फेला नपरेको र यसले राज्यलाई कमजोर बनाइरहेको अर्थविद् अच्युत वाग्लेले बताए ।

आर्थिक पत्रकारलाई विभिन्न विधामा पुरस्कार 

यसैबीच सेजनले विभिन्न पुरस्कारबाट आर्थिक पत्रकारहरूलाई पुरस्कृत गरेको छ । सेजन अवार्ड क्लिकमान्डु डटकमका पत्रकार शरद ओझा र डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरेको सेजनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवर, डिजिटल अवार्ड १२खरी डटकमका कमल धितालले प्राप्त गरे । स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापित फेलोसिप भने क्यापिटल नेपाल डटकमका सुवास योन्जनले पाएका छन् ।

कान्तिपुर

Link copied successfully