इनड्राइभ ४६ राष्ट्रमा विस्तार, प्राथमिकतामा सामाजिक उत्तरदायित्वका परियोजना

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

InDrive expands to 46 countries, prioritizes social responsibility projects

काठमाडौँ — राइड हेलिङ प्लाटफर्म इनड्राइभले विश्वभर ४६ वटा राष्ट्रमा सेवा विस्तार गरिसकेको छ । विश्व विस्तार गर्ने क्रममा सेवाको दिगोपना र सामाजिक उत्तरदायित्व परियोजना प्राथमिकतामा रहेको इनड्राइभले बताएको छ ।

विश्वका मुख्य राष्ट्रहरुमा राइडिङ प्लाटफर्ममा सेवा विस्तार गरिरहेको इनड्राइभले सामाजिक सेवा र उत्तरदायित्वका परियोजना पनि सञ्चालन गरिरहेको इनड्राइभका चिफ अफ स्टाफ इगोर फेडोरोभले बताए । आफ्नो व्यवसायी विस्तार, वर्तमान अवस्था, भावी कार्यक्रम तथा रणनीति सम्बन्धमा जानकारी दिन इन्डोनेसियाको योग्यकर्तामा आयोजित पत्रकार भेलामा उनले यस्तो बताए ।  

‘इनड्राइभले ४६ देशमा द्रुत रुपमा गुणस्तरिय रुपमा सेवा दिइरहेको छ,’ उनले भने, ‘२४ करोड भन्दा बढी प्रयोगकर्ताले हाम्रो एफ डाउनलोड गरिसकेका छन्, यो नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण कोसेढुंगा हो । उहाँहरूकै समर्थनमा इनड्राइभका सेवाहरूलाई थप विस्तार गर्नुपर्नेछ । त्यसमा हामी प्रतिबद्ध छौं ।’ इगोरले सन् २०२५ मा कम्पनीको तीव्र रुपमा थप राष्ट्रहरुमा व्यवसाय विस्तार गर्ने रणनीतिक रहेको पनि जानकारी दिए ।

‘हामी थप देशहरूमा हाम्रो सेवा विस्तार गर्न र विश्वव्यापी रूपमा प्रयोगकर्ताहरूको बढ्दो गतिशीलता आवश्यकताहरू पूरा गर्न नयाँ, प्रतिश्पर्धी र गुणस्तरिय सेवाहरू दिन प्रतिवद्ध छौ,’ इगोर भन्छन, ‘सन् २०२५ मा हामी थप बजारहरूमा प्रवेश गर्ने र सवारी–हेलिङ, डेलिभरी, शहर देखि शहरसम्म यात्रालगायत कार्यक्रमहरु सञ्चालन गर्नेछौ ।’ यो विस्तारले विश्वव्यापी दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने उनको दाबी छ ।

नविन सोच, गतिशीलता, स्थिरता र संस्थागत जिम्मेवारीका कारण इन्ड्राइभले भविष्यमा व्यवसायीक उद्योगी व्यवसायीहरुका लागि राम्रो प्लेटफर्म प्रदान गर्ने उनले बताए । ‘इनड्राइभ स्थिरता र संस्थागत उत्तरदायित्वप्रति प्रतिबद्ध छ । मानिस र पर्यावरण दुवैमा सकारात्मक प्रभाव सिर्जना गर्नेमा स्पष्ट छौं,’ इगोर भन्छन, ‘यसकारण पनि कम्पनीले  संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सुरु गरेको छ । यी कार्यक्रमहरुले प्रभावकारी र दिगो विकास लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेमा हामी कटिवद्ध छौं ।’

InDrive expands to 46 countries, prioritizes social responsibility projects

सामाजिक सेवामा आफ्ना कार्यक्रम केन्द्रित गर्नकै लागि इनड्राइभले ‘इनभिजन’ कार्यक्रम सञ्चालन गरेको छ । यो समुदायमा आधारित परियोजना हो । यसले दिगो विकासलाई प्रवर्द्धन गर्दै व्यावसायिक निरन्तरता र सबै क्षेत्रमा समावेशीतालाई बढवा दिन सामाजिक सेवा र पर्यावरणीय परिवर्तनले ल्याएका समस्या समाधानका क्षेत्रमा काम गरिरहेको बताइएको छ । ‘इनभिजनमार्फत इनड्राइभले पर्यावरण–मैत्री यातायात समाधानहरू प्रवर्द्धन गर्न, यातायात सेवा नभएका नागरिकलाई गुणस्तिरिय सेवा दिन र वातावरणमा कमभन्दा कम क्षति पुर्‍याउनेमा निकै सचेत छौ,’ इगोर भन्छन, ‘इनभिजनका साथ इनड्राइभले विश्वभर सकारात्मक योगदानसहित व्यवसायीक वृद्धि र सफलता प्राप्तिको लक्ष्य राखेको छ ।’

सामाजिक उत्तरलायित्व अन्तरगत समाजमा कला, संस्कृतिको जर्गेना गर्ने उद्देश्यले गत वर्ष देखि इनड्राइभले विश्वव्यापी रुपमा ‘अल्टरनेटिभ फिल्म महोत्सव’ गर्दै आएको छ । सोही क्रममा इनड्राइभले गत साता इन्डोनेसियाको योग्यकार्तामा ‘अल्टरनेटिभ फिल्म महोत्सव एंव पुरस्कार वितरण’को दोस्रो संस्करण आयोजना गरेको थियो । जसमा सुविना श्रेष्ठ निर्देशित नेपाली वृत्तचित्र ‘देवी’ पनि मनोनयनमा परेको थियो । यद्यपि ‘देवी’ले कुनै पुरस्कार भने हात पारेन ।

लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको राइड हेलिङ प्लाटफर्म इनड्राइभले गत वैशाखमा उद्योगका रूपमा दर्ता भएको हो । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले कानुनबमोजिम आफूलाई औपचारिक व्यवसायका रूपमा अघि सारेको हो ।

कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ प्रतिस्पर्धात्मक राइड सेयरिङ व्यवसायमा सामेल भएको हो । प्यानमा दर्तालगायतका करसम्बन्धी प्रक्रिया पनि पूरा भइसकेकाले अब राइडरहरूबाट कमिसन उठाउन सुरु गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully