चितवन — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चितवनलाई केरा खेतीको सुपरजोन घोषणा गरेको छ । सरकारी परियोजनाले योसहित देशभर कृषिका २२ वटा सुपरजोन घोषणा गरेको हो । केराको सुपरजोन भने पहिलो पटक घोषणा भएको हो ।
एक हजार हेक्टरभन्दा बढी जमिनमा खेती भएका कृषि उपजको सुपरजोन घोषणा गर्न सकिने नीति छ । चितवनमा एक हजार आठ सय हेक्टर जमिन केरा सुपर जोनमा सूचीकृत भएको छ ।
‘साउनमा हामीले सुपरजोन घोषणा गरेका हौं । शुक्रबार सुपरजोन सञ्चालन समिति पनि गठन भएको छ,’ परियोजनाको चितवन भरतपुरमा रहेको परियोजना कार्यन्वयन इकाइका कृषि अधिकृत इन्द्र ढुंगनाले भने । चितवनमा माछा, मौरी, तरकारी र धानको जोन सञ्चालित छन् ।
पहिलो पटक सुपरजोनमा केरा सूचीकृत भएको हो । सुपरजोन घोषणा भएपछि आत्मनिर्भर हुने तरिकाले कृषि उत्पादन बढाउनु पर्ने हुन्छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न औजार उपकरण र उन्नत बीउ बिरुवाको प्रबन्ध गर्नुका साथै उत्पादन बढाउने, बजारीकरणका योजना बनाउने र व्यवसायीकरण गर्दै उद्योगमा रूपान्तरण गर्ने योजनाका साथ सरकारले लगभग ९ वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरेको हो । चितवनमा आर्थिक वर्ष ०७५/७६ मा केरा जोन घोषणा भएको थियो ।
कृषि उपजले १० हेक्टर ओगटेमा पकेट क्षेत्र, सय हेक्टर भएमा ब्लक, पाँच सय हेक्टर भएमा जोन र हजार हेक्टरभन्दा माथि सुपरजोन घोषणा गरी कृषि क्षेत्रको विकासका लागि गतिविधि गर्ने योजना सरकारले बनाएको हो । ‘केराको जोन घोषणा भएपछि उत्पादन बढाउन, आधुनिकीकरण गर्न र बजार विस्तारका लागि विभिन्न योजना सञ्चालन भए । त्यसपछि औद्योगीकरणमा जान सकिने सम्भावना देखिएको हो,’ ढुंगानाले भने ।
चितवनमा केराखेतीमा ‘पानामा’ रोगको प्रकोप बढेको थियो । मालभोग जातको केरामा देखा परेको यो रोगले केरा किसान निकै चिन्तित थिए । त्यसको विकल्पमा जी-नाइन जातका केरा खेती विकास गर्न जोनमार्फत निकै काम भएको कृषि अधिकृत ढुंगानाले जानकारी दिए । ‘यसका साथै सिंचाइमा सहयोग गरेका छौं । हानिकारक रसायन बिनाकेरा पकाउने च्याम्बरहरू उपलब्ध भए,’ उनले भने ।
सुपरजोन भएपछि केराबाट अरु परिकार र औद्योगिक उत्पादन बनाउने सोच बनाएको उनले बताए । ‘अहिले केराको थाम (बोट) त्यसै खेर गइरहेको छ । हामी यसबाट रेशा निकालेर त्यो रेशा प्रशोधन गरी सेनेटरी प्याड बनाउने उद्योग खोल्ने योजनामा छौं,’ कृषि अधिकृत ढुंगानाले भने । चितवनमा दुई हजार हेक्टरभन्दा बढी जमिनमा केरा खेती हुँदै आएको छ । तीमध्ये सहकारी, समूह र व्यक्ति गरेर एक हजार ८५० हेक्टर जमिनमा केराखेती गर्ने २२५ जनाभन्दा बढी किसान सुपरजोनमा सूचीकृत छन् ।
‘चितवनमा वर्षको दुई अर्ब रुपैयाँ हाराहारीमा केरा बिक्री हुने गर्दछ । हामी आत्मनिर्भर छौं तर समस्याहरू पनि अनेकौं छन् । अब कम्तीमा व्यवसायीकरण र औद्योगीकरणमा फड्को मार्न आवश्यक छ । सुपर जोनमा हामी त्यो हिसाबका योजनाहरू ल्याउँछौं,’ सुपरजोन सञ्चालन समितिका संयोजक विष्णुहरि पन्तले भने । केराका उन्नत जाtका बिरुवाका साथै सक्षम प्राविधिकहरू प्रबन्ध गर्न आवश्यक रहेको उनले बताए ।
केराका विभिन्न परिकारहरू बनाउने उद्योगहरू स्थापना भए उत्पादन बढेसँगै खपत पनि बढेर किसानले लाभ लिन सक्ने उनले बताए । सुपरजोन भएपछि चितवनको पश्चिम क्षेत्रका किसानहरू पनि सूचीकृत भएका छन् । जगतपुरमा ४५ बिघाभन्दा बढी जमिनमा केरा खेती गर्दै आएका यज्ञप्रसाद सुवेदी लक्ष्मण केरालाई प्रशोधनगरी अनेक परिकार र वस्तुहरू बनाउने उद्योग स्थापना गर्न अत्यावश्यक भएको बताउँछन् ।
‘केराको फलबाट चिप्स, वाइनलगायतका फरक परिकार बनाउन सकिन्छ । केराको थाम (बोट)को रेशाबाट धेरैखाले वस्तुहरु बनाउन सकिन्छ । तर यो काम सानो मात्रामा हैन उद्योगको स्तरमा ठूलो परिमाणमा गर्नु पर्दछ,’ सुवेदीले भने । यसका लागि पर्याप्त बजेट प्रबन्ध गर्नु पर्ने उनले बताए । सरकारी बजेट मात्रै नभएर किसान र व्यवसायीसमेतबाट लगानी जुटाएर त्यस्ता उद्योग खोल्न सक्ने नीति बनाउन उनले सुझाव दिए ।
