निर्माण थालेको १५ वर्षमा ६७.५६ प्रतिशत मात्र प्रगति, बजेट अभाव र रेखांकन परिवर्तनले गर्दा तोकिएको समयमा आयोजना सम्पन्न गर्न समस्या
काठमाडौँ — तराईका जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम जोड्ने गरी डेढ दशकअघि निर्माण थालिएको हुलाकी राजमार्ग अझै पूरा हुन सकेको छैन । निर्माण सुरु भएको १५ वर्ष पुग्दा प्रगति ६७.५६ प्रतिशत मात्र बाँकी छ । निर्माण कहिले सकिन्छ ? यो प्रश्नमा स्वयं आयोजना कार्यालय नै अनुत्तरित छ ।
झापाको केचनाकवलदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने अवधारणाअनुसार यसको निर्माण प्रक्रिया अघि बढाइएको हो । तराई–मधेशका २१ जिल्लाका करिब एक करोड जनता लाभान्वित हुने गरी यसको निर्माण थालिएको हो ।
यसअनुसार राजमार्गको कुल दूरी १८५७.४२ किमि हो । मध्यपूर्वदेखि पश्चिमतर्फको दूरी ९७५ किमि छ । यसमा ८८२.४२ किमि सहायक मार्ग पर्छ । अहिलेसम्म १२५४.६८ किमि सडक मात्र कालोपत्र गरिएको छ । ०६६/६७ बाट हुलाकी राजमार्गको निर्माण सुरु गरिए पनि अझै काम नसकिएको हो । आयोजना सुरु गर्दै गर्दा आर्थिक वर्ष ०७९/८०
भित्र निर्माणको काम सकिसक्ने उल्लेख थियो । यस अवधिमा काम नसकिएपछि ०८०/८१ सम्म समय थपियो । त्यो समयमा काम नसकिने देखिएपछि ०८३/८४ सम्मका लागि समय थपको प्रस्ताव गरिएको छ । थप समयभित्र पनि काम सकिने सम्भावना कम रहेको आयोजना स्रोतले जनाएको छ । आयोजना सुरु हुँदा प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । पछि संशोधन गरेर ६५ अर्ब २० करोड पुर्याइयो । अहिले यसको लागत बढेर १ खर्ब १ अर्ब ९३ करोड रुपैयाँ बनाइँदै छ । हालसम्म ६६ अर्ब १० करोड ३३ लाख रुपैयाँ खर्च भइसकेको छ ।
सुरु रेखांकनअनुसार निकुञ्जबाट सडक निर्माण गर्ने उल्लेख भए पनि त्यसअनुसार काम भएन, जसले गर्दा तोकिएकै समयमा काम गर्न ढिलाइ भएको हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपालीले बताए । ‘सुरुमा निकुञ्जबाटै सडक बनाउने भन्ने थियो, त्यो भएन,’ उनले भने, ‘अहिले सुरुको रेखांकन परिवर्तन गरेर निकुञ्ज भएका जिल्लामा बनाउनुपर्नेछ ।’ सुरुको रेखांकनअनुसार केही–केही ठाउँमा काम नभएकाले आयोजनालाई अब टुंग्याउने कि भन्ने कुरा उठ्न थालेको उनले सुनाए । उनका अनुसार चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्जभन्दा बाहिरबाट सडक बनाइनेछ ।
‘सुरुको रेखांकन परिवर्तन गर्दा लागत र दूरी दुवै बढ्नेछ,’ उनले भने, ‘यसरी बनाइएको सडक सिधै पूर्व–पश्चिम जोडिने छैन, सहरी सडकहरूमा जोडिनेछ ।’ दाङमा २२ किमि अझै ठेक्का हुन सकेको छैन । बस्ती र वनले गर्दा यो खण्डमा समयमै काम हुन नसकेको हो ।
ठेक्का व्यवस्थापन गर्ने तयारी भइरहेको आयोजना निर्देशक नेपालीले बताए । ‘निकुञ्ज र दाङको एक खण्डबाहेक अन्यत्र अब ठेक्का गरेर काम गर्न बाँकी छैन,’ उनले भने, ‘यसरी बनाइएका सडक दुई लेन भए, तर पुल भने सिंगल लेन र साँघुरा रहिरहे ।’ २५० वटा पुल बनाउनुपर्नेमा अहिलेसम्म १४२ वटा पुलको निर्माण भइसकेको छ । अहिले १९ वटा पुलको ठेक्का भएर काम भइरहेको उनले सुनाए ।
‘समस्या बजेटको छ, १६ अर्बको ठेक्का भएर काम भइरहेको छ । यसको पनि भुक्तानी दिनुपर्ने हुन्छ,’ नेपालीले भने, ‘थप १६ अर्ब रुपैयाँको ठेक्का गर्ने तयारीमा थियौं, स्रोत सुनिश्चितता नहुँदा ठेक्का हुन सकेको छैन ।’ निर्माण व्यवसायीले समयमै काम नगर्दा कन्काई, कमला र वाग्मती पुल निर्माणमा समस्या भएको छ । वाग्मती पुलको ठेक्का तोडेर नयाँ ठेक्का गरिसकिएको छ ।
‘आयोजना कहिले सकिन्छ भन्ने कुरा स्रोतको अवस्थामा भर पर्छ, समस्या सधैं यसैको मात्र छ,’ उनले भने, ‘सरकारी नीतिमा राष्ट्रिय गौरवका आयोजनामा समस्या हुन नदिने भनिएको हुन्छ । तर सधैं बजेटको समस्याले प्रगति हासिल गर्न समस्या भएको छ ।’
चालु आर्थिक वर्षका लागि हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा कम हो । गत आर्थिक वर्षमा हुलाकी राजमार्गका लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बजेट पर्याप्त नहुँदा नयाँ ठेक्का व्यवस्थापन र पुरानो ठेक्कामा काम भए पनि पूरा भुक्तानी दिन समस्या भएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासिकमै आयोजनामा बजेट अभाव भएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ६ वटा योजना कार्यालयमार्फत काम भइरहेको छ । चालु आर्थिक वर्षका लागि विनयोजन भएको बजेट गत आर्थिक वर्षको भुक्तानी दिँदैमा सकिएको आयोजना निर्देशनालयले जनाएको छ । ‘चालु आर्थिक वर्षका लागि थप बजेट अर्थसँग माग्छौं । अब बजेट आउँछ काम गर्नुस् भन्नुबाहेक अर्को उपाय छैन,’ उनले भने, ‘अर्थले स्रोतमा चाप परेकाले थप निकासा दिन नसकिने भन्दै पत्र पठाएको छ । यसले गर्दा विकासे कार्यालयहरूमा अन्योल थपिएको छ ।’
