यस वर्ष साढे १३ लाखलाई सेवा दिने मनकामना केबलकारको लक्ष्य

मंसिर ९, २०८१

कान्तिपुर संवाददाता

Manakamana Cable Car aims to serve 1.3 million people this year

काठमाडौँ — मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश गरेको छ । शनिबार २६औं वर्ष पूरा गरी २७औं वर्षमा प्रवेश गरेको मनकामना दर्शन प्रालिले आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।

२६औं वार्षिकोत्सवका उपलक्ष्यमा नेपालकै पहिलो केबलकारका स्रष्टा स्व. लक्ष्मणबाबु श्रेष्ठको योगदानबारे चर्चा गरियो । २६ वर्ष पुगिसकेको केबलकार एनलग प्रविधिमा सञ्चालन गरिएको थियो । 

यसको मर्मतसम्भार गर्दै अहिले डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ । केबलकारका संस्थापक लक्ष्मणबाबुकै पालादेखि सामाजिक व्यावसायिक उत्तरदायी नीति अपनाउँदै मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको मनकामना दर्शन प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको थियो । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन प्रालिले जनाएको छ । केबलकार परिसरभित्र नै सुविधासम्पन्न रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको प्रालिले बताएको छ । 

सामाजिक व्यावसायिक उत्तरदायी नीतिअनुसार केबलकार टिकट बिक्रीबाट हुने आम्दानीको कुल रकममध्ये १/१ प्रतिशतका दरले गोरखाको सहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि बर्सेनि सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully