राष्ट्रिय प्रसारणमा जोडियो झुम्साखोला लघु जलविद्युत्

पाँच सयभन्दा बढी घरधुरीमा आयोजनाबाट उत्पादित विद्युत् खपत भएर बाँकी रहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो 

मंसिर ९, २०८१

माधव अर्याल

Jhumsakhola small hydropower added to national transmission

पाल्पा — पाल्पाको झुम्साखोला तेस्रो लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । माथागढी गाउँपालिका–५ हात्तीलुङ झुम्साखोलामा सञ्चालित लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजना ०६४ सालमै निर्माण भएको हो । 

जडान गर्नुअघि भुम्साखोला लघु जलविद्युत् उत्पादन सहकारी संस्था लिमिटेड तेस्रोमा परिणत गरिएको छ । यहाँका पाँच सयभन्दा बढी घरधुरीमा आयोजनाबाट उत्पादित विद्युत् खपत भएर बाँकी रहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको झुम्साखोला लघु जलविद्युत् सहकारीका अध्यक्ष बीरबहादुर बारघरेले जनाए । 

झुम्साखोला खल्लाघाटमा रहेको पावरहाउसको क्षमता ६८ किलोवाट विद्युत् उत्पादन छ । राष्ट्रिय प्रसारण लाइनमा झुम्साखोलाको बिजुली जडान शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य नारायण आचार्यले आगामी दिनमा सरकारले नीतिगत तहमै यसलाई समावेश गरेर लघु जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाईनमा जोड्ने गरी नीति निर्माणको पहल गर्नुपर्नेमा जोड दिए । 

विगतमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुलीको सेवा पाउन नसकेका उपभोक्ताले लघु जलविद्युत् निकालेको तर अहिले राष्ट्रिय प्रसारणलाइन पुगेपछि अलपत्र जस्तै छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपाल ऊर्जा प्रतिष्ठान र माथागढी गाउँपालिकाको सहयोगमा राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको हो । 

झुम्साखोला लघुजलविद्युत्मा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५० लाख, राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाजबाट १० लाख, नेपाल ऊर्जा प्रतिष्ठानबाट १२ लाख र उपभोक्ताको सेयर रकम २२ लाख र माथागढी गाउँपालिकाको ३३ लाख लगानी गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए । यसबाट सहकारी र उपभोक्ता समितिको आम्दानी वृद्धि गर्ने उद्देश्य छ । 

Jhumsakhola small hydropower added to national transmissionचौबीसै घण्टा उत्पादित ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम भएको उपभोक्ता समितिका सचिव थमन रेश्मीले पुष्टि गरे । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भुम्सा तेस्रो जलविद्युत् आयोजनाको क्षमता ६८ किलोवाट भए पनि अहिले ३०/३५ किलोवाट मात्रै स्थानीय उपभोक्ताले प्रयोग गरेको उनले बताए । बाँकी ऊर्जा विद्युत् प्राधिकरणलाई बिक्री गरेर मासिक २ लाख रुपैयाँसम्म सहरकारीलाई थप आम्दानी हुने अनुमान गरिएको सचिव रेश्मीले जनाए । 

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा मात्र ६६ वटा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । ती आयोजना उपभोक्ता समिति र केही सहकारीबाट सञ्चालन भएका हुन् । तीमध्ये धेरैजसो आयोजना अहिले सञ्चालन गर्ने वा नगर्ने भन्ने अयोलमा रहेको अवस्थामा छन् । जसले गर्दा त्यस्ता लघु जलविद्युत् आयोजनाबाट २ हजार २ सय ६८ किलोवाट विद्युत् उत्पादन भए पनि यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भने निकै खर्चिलो छ । 

उपभोक्ताले प्रयोग गरेर बाँकी रहेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न नीति निर्माणको खाँचो देखिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालको भनाइ छ । ‘प्यानल बोर्ड, पहुँच तार, पोल, नेट मिटर, ट्रान्सफर्मरलगायत सामग्री उपभोक्ताले किन्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक बजेटको ५० प्रतिशत लगानी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गर्ने गरेको छ ।’ माथागढी–५ हात्तीलुङमा रहेका उपभोक्ताले २५ देखि ३० किलोवाट विद्युत् प्रयोग गर्ने गरेका थिए । क्षमताअनुसार बाँकी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएपछि उनीहरूले फाइदा कमाउने उनले बताए । 

भुम्साखोला जस्तै लुम्बिनी प्रदेशका १७ वटा लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने अध्ययनले देखाएको छ । राष्ट्रिय प्रसारण लाइनबाट नजिक, कम्तीमा १० किलोवाटभन्दा धेरै उत्पादन क्षमता, उपभोक्ता समितिको रुचिलगायत हेरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश भण्डारीको भनाइ छ । 

राष्ट्रिय प्रसारण लाइनमा जडान गरेपछि नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता समितिलाई खपत भएको विद्युत्को रकम भुक्तानी गर्ने व्यवस्था रहेको उनले बताए । अहिले उपभोक्तालाई मर्मतसम्भारको समस्या, काठका पोल हटाउन नसक्नु, कुलो, बाँध बाढीले बगाउने समस्या मात्र होइन, राष्ट्रिय प्रसारण लाइन गाउँगाउँमा विस्तार हुँदा अन्योल बढेको नेपाल ऊर्जा फाउन्डेशनका डिल्ली घिमिरेले जनाए । 

‘अहिले उपभोक्तालाई राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोड्छु भन्दा त्यति सहज छैन,’ उनले भने, ‘किनभने संघीय सरकारले अझै नीति बनाउन सकेको छैन ।’ त्यसैले छिटोभन्दा छिटो नीति बनाएर अन्योलमा परेका लघुजलविद्युत् आयोजना राष्ट्रिय प्रािरण लाइनमा जडान गर्नुपर्ने उनले बताए । 

पाल्पाको भुम्साखोला तेस्रो जस्तै लुम्बिनी प्रदेशका १७ वटा लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने लुम्बिनी प्रदेशबाट भएको अध्ययनले देखाइसकेको छ । राष्ट्रिय प्रसारण लाइनबाट नजिक, कम्तीमा १० किलोवाटभन्दा धेरै उत्पादन क्षमता, उपभोक्ता समितिको रुचि आदि हेरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिनेछ । 

राष्ट्रिय प्रसारण लाइनमा जडान गरेपछि विद्युत् प्राधिकरणले उपभोक्ता समितिलाई खपत भएको विद्युत्को रकम दिने भए पनि जडानका लागि भने महँगो पर्ने भएकाले उपभोक्ता आँट गर्न नसकेको उनको भनाइ छ । लुम्बिनी प्रदेशमा सञ्चालित ६६ लघु जलविद्युत् आयोजनाबाट २ हजार २ सय ६८ किलोवाट विद्युत् उत्पादन भएको तथ्यांक छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully