धारापानी सबस्टेसन डेढ वर्षभित्र बनाइने

कार्तिक २५, २०८१

कान्तिपुर संवाददाता

Dharapani substation will be built within one and a half years

काठमाडौँ — मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासों गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । 

धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको निर्माण धमाधम भइरहेको छ । 

धारापानी र खुदी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिको आवश्यक व्यवस्था गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने बताइएको छ । 

स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायत विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् । 

कान्तिपुर

Link copied successfully