असोजमा बढ्यो कित्ताकाट, घट्यो घरजग्गा कारोबार र राजस्व

कार्तिक १६, २०८१

कान्तिपुर संवाददाता

Shares increased in October, real estate transactions and revenue decreased

काठमाडौँ — चालु आर्थिक वर्षको असोजमा कित्ताकाट बढेको छ भने घरजग्गा कारोबार र राजस्व घटेको छ । भदौ सुरु भएयता कित्ताकाट रोकिएपछि साउनको तुलनामा भदौमा कित्ताकाट, घरजग्गा कारोबार र राजस्व घटेको थियो ।

भदौ अन्तिममा सरकारले भू–उपयोग नियमावली २०८१ संशोधन गरेर  कित्ताकाट खुलाएको थियो । तर असोज २० सम्म पनि घरजग्गा कारोबार, राजस्व र कित्ताकाट बढेको थिएन । असोज महिनाको समग्र तथ्यांक सार्वजनिक हुँदा कित्ताकाट बढेको  भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । 

विभागका अनुसार असोजमा कुल ७२ हजार ९५८ पटक कित्ताकाट भएको छ । कित्ताकाटको लिखत पारित ३१ हजार ४१४ पटक भएको विभागले जनाएको छ । जुन भदौको तुलनामा ३०५‍.९७ प्रतिशतले बढी हो । 

कित्ताकाट बढे पनि कारोबारको लिखत पारित भदौको तुलनामा असोजमा ६.९२ प्रतिशतले घटेको विभागले जनाएको छ । भदौमा कारोबारको लिखत पारित ३२ हजार ७९८ वटा हुँदा असोजमा ३० हजार ५२७ वटा भएको छ । 

विभागका अनुसार भदौको तुलनामा असोजमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व शून्य दशमलव २९ प्रतिशतले घटेको छ । भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व उठ्दा असोजमा ३ अर्ब ८ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । 

कान्तिपुर

Link copied successfully