‘वैदेशिक रोजगारीका लागि पहिला नीतिगत सुधार’

वैदेशिक रोजगार ऐनका केही झन्झटिला प्रक्रियाका कारण नेपालीहरूले जोखिमपूर्ण श्रम यात्रा गरिरहेको दाबी 

कार्तिक १३, २०८१

कान्तिपुर संवाददाता

”The first policy reform for foreign employment”

काठमाडौँ — गैरआवासीय नेपाली दिवसका अवसरमा आयोजित वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ–२०२४ को दोस्रो दिन सोमबार वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने विषयमा चर्चा भयो । नेपाल सरकार, गैरआवासीय नेपाली र अन्य विभिन्न क्षेत्रबाट सहभागी पदाधिकारीले सरकारले नीतिगत एवं संरचनागत सुधार गरे मात्र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सकिने उल्लेख गरे । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको दाबी गरे । ‘सुरक्षित व्यवस्थित मर्यादित वैदेशिक रोजगार र सामाजिक सुरक्षा’ माथिको बहसलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले ‘पोलिसी डिपार्चर’ मा काम गरिरहेको जनाए । ‘संरचनागत सुधार पनि गरिरहेका छौं । श्रम मन्त्रालयलाई वैदेशिक रोजगारी दिने हिसाबले बुझिएको छ । आन्तरिक रोजगारीलाई समेट्ने गरी मन्त्रालयको पुनःसंरचनामा लागिरहेका छौं,’ उनले भने । 

आन्तरिक रोजगार व्यवस्थापन नगरेसम्म वैदेशिक रोजगार नरोकिने मन्त्री भण्डारीको भनाइ छ । ‘हरेक वर्ष पाँच लाख मानिस नेपाली श्रम बजारमा आउँछन् । एक लाखले रोजगार पाउँछन् । चार लाख बेरोजगार छन् । तिनीहरूलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगार रोकिँदैन । राजनीतिक र प्रशासनिक संरचना स्थिर हुन जरुरी छ । जुन अहिले बिस्तारै भइरहेको छ,’ उनले भने । 

आवास नीतिमा काम गर्न सरकारले श्रम मामिलाविज्ञ गणेश गुरुङको नेतृत्वमा गठन गरेको समितिले ९ महिना लगाएर राष्ट्रिय श्रम आप्रवासन नीतिको मस्यौदा तयार गरेको छ । उक्त मस्यौदा स्टेक होल्डर सबैलाई पठाइएको छ । सरोकारवालाबाट सुझाव लिएर राष्ट्रिय नीति बनाउने तयारीमा श्रम मन्त्रालय रहेको पनि मन्त्री भण्डारीले जनाए । 

अवसरको खोजीका लागि मान्छे एउटा गन्तव्यबाट अर्कोमा जाने संसारभर चलिरहेको र नेपालमा पनि वैदेशिक रोजगारीमा जाने प्रचलन दिन प्रतिदिन बढिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले सुनाए । ‘जुन नेपालबाट कामदार वैदेशिक रोजगारमा जान्छन्, उनीहरूको हकहितको प्रचलित कानुनअनुसार प्रवर्द्धन गरिरहेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई समस्यामा पर्दा प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘एनआरएनएले श्रमिकको सुरक्षित र मर्यादित तवरले रहने कुरामा योगदान गर्नुपर्ने हुन्छ ।’ 

वैदेशिक रोजगार ऐनका केही झन्झटिला प्रक्रियाका कारण नेपालीहरूले जोखिमपूर्ण श्रम यात्रा गरिरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले गुनासो गरे । ‘कानुनी व्यवस्थामा हेक्का नराख्दा वैदेशिक रोजगार अमर्यादित भइरहेको छ,’ उनले भने । स्थायी सरकार नहुँदा पनि मर्यादित हुन नसकेको उनको भनाइ छ । ‘मन्त्रालयमा नेतृत्व फेरिरहँदा नीति स्थायी नहुने विषयले समस्या भइरहेको छ । हाम्रा माग सम्बोधन नहुँदा पनि अप्ठ्यारो बाटोबाट मानिस गइरहेका छन् । कोभिडपछि विकसित राष्ट्रमा माग बढेको छ । मागपत्र प्रमाणीकरण पनि भइरहेको छैन,’ उनले भने । 

करिब २५/३० लाख मानिस श्रमका लागि विदेशमा रहेको र स्पष्ट नीतिनियमको अभावका कारण असुरक्षित भइरहेको अध्यक्ष भण्डारीले बताए । ‘१८६ देशमा नेपाली पुग्दा १२ देशमा मात्रै सम्झौता गरेर श्रमिक पठाएका छौं । तर त्यहाँ पनि सम्झौता कार्यान्वयन भएको छैन । यसमा काम गर्न सकेका छैनौं । नीति बनाउनमा संवेदनशील भएर लागिरहेका छैनौं,’ उनले भने । श्रमिकहरू संख्यात्मकभन्दा गुणात्मक रूपमा पठाउन जरुरी रहेको र त्यसका लागि सीप सिकाउनुपर्नेमा उनले जोड दिए । एनआरएनले सात वटा प्रदेशमा ठूलो तालिम केन्द्र सञ्चालनमा लगानी गर्न उनले आग्रह गरे । 

आप्रवास नीतिमा छुटेको विषय रिटर्नी भएको रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले बताए । ‘हातमा सीप, दक्षता हुँदाहुँदै रिटर्नीहरू रुमल्लिरहने विषयलाई आप्रवासी चक्रभित्र समावेश गरिनुपर्ने हुन्छ । 

रिटर्नीहरूलाई समाजमा अन्तरघुलनका लागि राज्यले नीति बनाउनुपर्ने हुन्छ,’ उनले भने । उक्त संस्थाका उपाध्यक्ष राजेश रेग्मीले पनि वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित बनाउन नीतिगत सुधार हुने अपेक्षा रहेको उल्लेख गरे । 

वैदेशिक रोजगार पारदर्शी हुनुपर्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले उल्लेख गरे । ‘श्रमिकलाई वैदेशिक रोजगारमा लाग्ने लागत कति हो र प्रिमियम (आम्दानी) कति हो भन्ने जानकारी छैन । तालिमलगायत आधारभूत सूचना पनि छैन । यहाँनिर ट्रान्सपरेन्सी र कम्युनिकेसनमा धेरै काम गर्नुपर्छ । एनआरएनले यसमा भूमिका खेल्न सक्छ,’ उनले भने । 

थुप्रै ऐन संशोधनको गृहकार्य : पर्यटनमन्त्री 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एनआरएनएको ग्लोबल कन्क्लेभ–२०२४ मा पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐन संशोधनको गृहकार्य भइरहेको बताए । संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामयिक मस्यौदा तयार पारेको पनि उनले जनाए । ‘यही आलोकमा ऐनहरू आउनेछन् । तपाईंहरूले पनि राम्रो संस्कृति भित्र्याउनु हुनेछ, वातावरण बनाउनु हुनेछ,’ उनले भने । 

नेपाल विविधतापूर्ण संस्कृति एवं प्रकृतिले भरिपूर्ण रहेको र नागरिक उड्डयनमा धेरै सम्भावना रहेको मन्त्री पाण्डेले जनाए । ‘आकाश सुरक्षित छ भन्ने देखाउनु छ । युरोपियन युनियनले असुरक्षित भनेको छ । सुरक्षित र गतिशील आकाश देखाउन सक्यौं भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्,’ उनले भने ।

कान्तिपुर

Link copied successfully