आंशिक मर्मतपछि सञ्चालनमा आउँदै माथिल्लो तामाकोशी

पहिरोले क्षति गरेको संरचनाको तामाकोशीद्वारा १ अर्ब ८० करोडको बिमा दाबी

कार्तिक ११, २०८१

केदार शिवाकोटी

Upper Tamakoshi re-opening after partial renovation

दोलखा — असोज १२ गतेको पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठुलो माथिल्लो तामाकोशी जलविद्युत केन्द्र आंशिक मर्मत गरेर संचालनको तयारी थालिएको छ ।

विद्युत केन्द्रको २ वटा बालुवा थिग्रयाउने(डिस्यान्डर) पोखरीमध्ये एउटा सामान्य मर्मत गरेर सिधैं पानी पठाएर विद्युत उत्पादनको तयारी थालिएको हो ।

विद्युत केन्द्रलाई आंशिक मर्मत गरेर कार्तिक महिनाभित्र संचालन गरिने विद्युत केन्द्रका प्रवन्धक पुर्णगापाल रञ्जितले कान्तिपुरलाई बताए । पहिराले विद्युत केन्द्र संचालन गृह पूर्ण रुपमा क्षति गरेको छ । यस्तै, बालुवा थिग्रयाउने पोखरी (डिस्यान्टर) र प्रशारण लाईनको ४६ नम्बर टावरमा क्षति गरेको उनले बताए ।

पहिरोले बाँधस्थल जाने सडकमा क्षति गरेका कारण गोंगर– लामाबरग सडक १/२ दिनमा खुलाईसकिने उनले बताए । ‘विद्युत केन्द्र मर्मतका सबै सामाग्री आइपुगिसकेको छ,’ उनले भने, ‘बाँधस्थलसम्मको सडक मर्मतको काम भइरहेकाले ढुवानी त्यहाँसम्म हुन सकेको छैन, छिट्टै सडक खुलाएर मर्मत थाल्छौं ।’

विद्युत केन्द्रलाई तत्कालका लागि आंशिक मर्मत गरेर कार्तिक अन्तिमबाट प्रशारण लाईनमा विद्युत पठाउने तयारी भैरहेको उनले बताए । तामाकोसीको पानी सिधै हेडवक्समार्फत पठाएर विद्युत उत्पादनको गरिने उनले बताए ।

‘आजभोलिबाट बाँधस्थलमा पानी भर्ने काम सुरु हुन्छ, दुईमध्ये एक डिस्यान्डर सामान्य मर्मत गरेर संचालनमा ल्याउछौं,’ उनले भने, ‘विगतमा जस्तो पूर्णरुपमा बाँधस्थलबाट पानी पठाइदैन । खोलामा जति छ, उतिनै पानी पठाएर विद्युत जेनेरेटर गर्छौँ ।’

उनका अनसार कार्तिक महिनामा तामाकोसीबाट ३ सय मेगावाट उत्पादन हुने अनुमान छ । त्यसपछि खोलाको पानी घट्दै जाने भएकाले उत्पादन पनि घट्ने उनले बताए । तामाकोसी जलविद्युत केन्द्रलाई मर्मत गरेर पूर्णरुपमा संचालनमा ल्याउन कम्तीमा एक वर्ष लाग्ने उनले बताए ।

‘बालुवा थिग्राउने पोखरी पुर्ण रुपमा मर्मत गर्न अझै ८/९ महिना लाग्छ,’ उनले भने, ‘पहिरोले क्षतिग्रस्त बनाएको विद्युत संचालन गृह निमार्ण गर्न त्यो भन्दापनि बढी समय लाग्ने छ, अहिले परामर्शदातासँग छलफल चलिरहेको छ ।’

पहिरोले माथिल्लो तामाकोसी विद्युत केन्द्रको बाँधस्थल तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ ।

विद्युत संचालन नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको थियो । तामाकोशी जलविद्युत केन्द्रको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो ।

गएको असोजको अविरल वर्षाले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक पुगेको थियो । तामाकोसीले प्राधिकरणसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्ने छ । सोही अनुसार ११ गते नै आयोजना बन्द गरिएको जलविद्युत केन्द्र क्षतिग्रस्त बनेपछि अझै संचालनमा आउन सकेको छैन ।

माथिल्लो तामाकोसीले पहिराले क्षति गरेको संरचनाको १ अर्ब ८० करोडको बिमा दाबी गरेको प्रवन्धक रञ्जितले बताए ।  सिभिल, इलेक्ट्रो मेकानिकल लगायतका इक्युपमेन्टहरू (इलेक्ट्र र हाइड्रो इक्विपमेन्ट) गरी एक अर्ब ८० करोड रुपैयााको बिमा दाबी गरेको उनले बताए । तामाकोसीले प्रतिदिन ४ करोड रुपैयाँ बराबरको विद्युत उत्पादन गर्ने क्षमता छ ।

तामाकोसी बन्न समय लाग्ने भएपछि हिउँदको लोड व्यवस्थापन गर्ने नेपाल विद्युत् प्राधिकरणलाई चुनौती थपिएको छ । हिउँदमा प्राधिकरणले लोड व्यवस्थापन गर्न ब्याकअपको रुपमा तामाकोसीलाई चलाउँदै आएको छ । 

अर्धजलाशययुक्त प्रकृति (पीआरओआर) को आयोजना माथिल्लो तामाकोसी वर्षामा पूर्ण क्षमतामा र हिउँदमा ४ घन्टा पीकिङ दिने (पूर्णरूपमा सञ्चालन हुने) गरेको छ ।

केदार

Link copied successfully