हिन्दी भाषाको एआई मोडल सार्वजनिक
काठमाडौँ — चिप निर्माता कम्पनी एनभिडियाले भारतमा उल्लेख्य मात्रामा प्रयोग हुने र नेपालले पनि मान्यता दिएको हिन्दी भाषाको आर्टिफिसियल इन्टेलिजेन्स मोडल सार्वजनिक गरेको छ । योसँगै एआई प्रविधिका लागि बढ्दो बजार मानिने भारतमा एनभिडियाले आक्रामक प्रवेश गर्न खोजेको देखिन्छ ।
भारतमा जारी एनभिडियाको एआई सम्मेलनमा कम्पनीका प्रमुख जानसेन हुआङले नेमोट्रन-४-मिनि-हिन्दी-फोरबी भनिने स्मल ल्याङग्वेज मोडल (एसएमएल) बनाएको र व्यवसायहरूले आफ्ना एआई मोडल यसबाटै विकास गर्न सक्ने जानकारी दिएका छन् । हिन्दी भाषा बुझ्ने यो मोडलको पहिलो प्रयोग टेक महिन्द्रा लिमिटेडले गर्ने निश्चित भएको एनभिडियाले वक्तव्यमा उल्लेख गरेको छ ।
अम्बानी समूहको रिलायन्सलगायत अन्य केहीले भने एनभिडियाको ‘ओम्निभर्स’ भनिने सिमुलेसन प्रविधि प्रयोग गर्ने भएका छन् । यसले कारखानाका योजना र उत्पादनहरू भर्चुअल रूपमै परीक्षण गर्ने सुविधा दिन्छ । एनभिडियाले रिलायन्स उद्योगलाई एआई प्रोसेसरहरू पनि उपलब्ध गराउने समझदारी भएको छ । रिलायन्सले गुजरातमा स्थापना गर्न लागेको एक गिगावाट डेटा सेन्टरमा ती प्रोसेसर राख्ने तय भएको हो ।
त्यस्तै, योट्टा डेटा सर्भिसेज, टाटा कम्युनिकेसन्सजस्ता भारतका प्रख्यात डेटा सर्भिस प्रोभाइडरहरूलाई क्षमता विस्तारमा सघाउन एनभिडियाले आफ्नो हप्पर एआई चिप्स उपलब्ध गराउने समझदारी भएको छ । ‘भविष्यमा भारत एआई निर्यात गर्ने देश बन्न गइरहेको छ,’ हुआङको भनाइ छ, ‘एआई, डेटा, एआई पूर्वाधार र प्रयोगकर्ताको विशाल जनसंख्याजस्ता एआईका आधारभूत पूर्वाधार भारतमा छन् ।’
भारतका प्रमुख सूचना प्रविधि कम्पनीहरूलाई एनभिडियाले आफ्ना सफ्टवेयर प्रयोग गरी एआई प्रविधिको डिजाइन र विकास गर्न ५ लाख डेभेलपरहरूलाई तालिम दिँदै छ । करिब दुई दशकअघि नै भारतमा आफ्ना ग्राफिक प्रोसेसिङ युनिट (जीपीयू) र अन्य प्रोडक्टको आउटलेट सुरु गरेको एनभिडियाले इन्जिनियरिङ र डिजाइन केन्द्र पनि सञ्चालन गर्दै आएको छ । भारतको टेक हब भनिने बेंगलुरु र हैदराबादमा एनभिडियाले आफ्नो कार्यालयसमेत खोलेको छ ।
