‘जुम्ली स्याउ स्वादिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’
जुम्ला — जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो ।
तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार ट्रक,बस,जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको थियो । बगैंचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए ।
बसबाट एक हजार ६ सय ६० मेट्रिकटन,जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो । मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो । ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको कृषि प्राविधिक लछिराम महतले जानकारी दिए ।
उनका अनुसार जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो । प्राविधिक महतका अनुसार निर्यात हुने जुम्ली स्याउको तथ्यांक संकलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो । फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख थियो ।
जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । स्याउ निर्यात हुने समयमा बर्खा लाग्ने भएकोले बजारसम्म लैजान कठिन हुने गरेको किसानहरूले दुःखेसो पोखेका छन् ।
जुम्लाको स्याउ सुर्खेत,नेपालगन्ज,कोहलपुर,बुटवल,चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको स्याउ बेचेको बताए । उनले भने,‘जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’
व्यापारीहरूले जुम्ली स्याउ तिज,दसैं र तिहारलाई केन्द्रमा राखेर बजारमा लैजाने गरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली स्याउको निर्यात सहज बनेको हो । तर कच्ची सडक भएकोले गाडीमा हल्लिएर ५ प्रतिशत स्याउ कुहिने गरेका छन् । स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइदिन सरकारसँग पटक-पटक आग्रह समेत गरिरहेका छन् ।
