काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयास जारी रहेको बताएका छन् । कतिपय कृषि उपजहरुको आयातमा रोक लगाइएको बताउँदै उनले कृषि क्षेत्रको विकासका लागि थप रोजगारी आवश्यक रहेको बताए ।
‘कृषिको विकासको लागि लगानी वृद्धि गर्न जरुरी छ । अनुदान दुरुपयोग गर्नेलाई कारबाही पनि हुन्छ,’ नेपाल चेम्बर अफ कमर्सले शुक्रबार आयोजना गरेको ‘कृषिमा लगानी दशक सन्दर्भिकता र निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले भने, ‘कृषिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं ।’
लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको समेत उनले बताए । पछिल्लो समय कृषि कर्म गर्नेहरुको संख्या घटेकोमा मन्त्री अधिकारीले चिन्ता गरे । ‘मेरो ध्यान कृषिकर्म गर्नेलाई प्रोत्साहन गर्नमा केन्द्रित छ । कृषिमा सहज लगानीको वातावरण चाहिएको छ,’ उनले भने, ‘लगानी दशक सफल बनाउन यो अनिवार्य शर्त हो ।’ पहिलो चरणमा कम्तीमा जीविकोपार्जन हुने गरी कृषिखेती गर्नका लागि सरकारले सहजीकरण गर्ने बताए ।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले जमिन बाँझो राखेर झण्डै ३ खर्बको कृषिजन्य वस्तुहरु आयात भएको बताए । ‘कुल गार्हस्थ उत्पादन जीडीपीमा कृषिको योगदान र वृद्धिदर घट्नु भनेको आयात बढ्नु हो, मुलुकका लागि दुर्भाग्यपूर्ण हो,’ उनले भने ।
बजेटको अभाव र विनियोजित बजेट प्रभावकारी ढंगले खर्च नहुँदा कृषिमा अपेक्षा अनुसारको उपलब्धि हासिल हुन नभएको बताए ।
चेम्बर अफ कमर्सको जडिबुटी तथा वनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठले कृषिमा सरकारको नीति तथा कार्यक्रम र आम कृषकको वास्तविक समस्याबीच तालमेल हुन नसकेको बताए । लाखौं युवा विदेशमा पलायन हुने तर कृषि क्षेत्रमा दक्ष जनशक्ति नपाइने समस्या अन्त्य गर्नुपर्ने बताए ।
