उत्तरी नाका तीन सातादेखि ठप्प

रसुवातर्फको केरुङ तथा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रन लागेका करोडौं मूल्यका सयौं कन्टेनर व्यापारिक सामान बाटोमै अलपत्र भएको छ । चिनियाँ पक्षले केरुङ सडक खुलाउन कम्तिमा १५ दिन लाग्ने सूचना दिएको छ ।

कार्तिक १, २०८१

ऋषिराम पौड्याल

The northern border has been closed for three weeks

काठमाडौँ — असोज दोस्रो साताको बाढीपहिरोले मोटरेबल पुल तथा सडक क्षति गरेपछि नेपालको चीनसँग जोडिएको प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट हुँदै आएको व्यापार लगभग ठप्प जस्तै भएको छ । बाढीपहिरो अघि नै दसैँ र तिहारका लागि झिकाइएका व्यापारिक मालवस्तु चीनको विभिन्न सहर र बाटोका गोदाममा थन्केको छ ।

व्यवसायीका अनुसार स्याउ, लसुन, ओखर, किबी, आँप, ड्रागन फुटलगायतका फलफूल तथा मसलाजन्य खाद्यवस्तु कामै नलाग्ने गरी सडेका छन् । तयारी पोसाकलगायतका व्यापारिक वस्तु तिहारअघि नेपाल ल्याउन असम्भव जस्तै छ । त्यस्ता सामान बोकाएर ल्याउन पनि असम्भव भएको व्यवसायीको भनाइ रहेको छ ।

केरुङमा गोदाम गरिएका र कन्टेनरमा लोड गरिएको फलफूल कुहिएको गन्ध बाहिरै आउन थालेको छ । स्याउ आयातकर्ता राजेश भण्डारीका अनुसार फलफूल लोड गेरेर केरुङ भन्सार क्लियर गरेको कन्टेनरबाट पानी चुहिन थालेको छ । ‘मेरो झन्डै तीन हजार कार्टुन स्याउ लोड गरेर कन्टेनर राखिएको छ । केरुङमा रहेको उक्त कन्टेनरबाट पानी चुहिन थालेको खबर पाएको छु । अब स्याउ सबै मिल्काउनुपर्छ,’ भण्डारीले दुःखेसो गरे ।

केरुङ भन्सार क्लियर गरेको कन्टेनरको वस्तु कोल्डस्टोरमा राख्ने वा कतै लैजाने गर्न मिल्दैन । काठमाडौं ल्याउन केरुङ–रसुवागढी सडक क्षतविक्षत भएकोले आफ्नो सामान जोगाउने कुनै उपाए नै नभएको गुनासो व्यवसायीको छ । केरुङ र ल्हासमा रहेको केही कन्टेनरको फलफूल भने कोल्डस्टोरमा राखिएको छ । कोल्डटोरको क्षमता कम भएकाले सबै सामान अटाउने अवस्था नभएको व्यवसायीले बताए । 

 तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्य काफ्लेका अनुसार दसैँ अगावै तातोपानी सीमामा ल्याइसकिएको स्याउलगायतका कुहिने वस्तु बोकाएरै भएपनि भन्सार यार्डसम्म ल्याउन थालिएको छ । सामान बोक्न अहिले सयौं भरिया परिचालित छन् । काफ्लेका अनुसार व्यवसायीले स्याउ तथा मसलाजन्य वस्तुको बाक्सा बोकेर लिपिङ खोला पार गराउँदै आएका छन् ।

भरियाले लिपिङ खोला तारेपछि सानो गाडीले कोदारी पहिरोसम्म ल्याउने गरेको छ । कोदारी पहिरो कटाएपछि फेरि अर्को गाडी परिवर्तन गरेर भन्सार यार्डसम्म सामान ल्याउने गरिएको छ । भरियाले दुई पटक बोकेर र गाडीमा दुई पटक लाडअनलोड गरेपछि सामान लार्चा सुख्खा बन्दरगाह ल्याउने गरेको तातोपानी भन्सार प्रमुख कमल कुमार भट्टराईले बताए । तातोपानी सीमाको बाटोमा रहेका कतिपय कन्टेनर ल्हासा फर्काउन थालिएको छ । भन्सार प्रमुख भट्टराईले सडक खुलाउन माथिल्लो निकायमा पनि कुराकानी गरिरहेको जानकारी दिए ।

सडक धेरै स्थानमा बिग्रेकाले काम सुरु गरेपछि पनि केही दिन लाग्न सक्ने उनले बताए । उनका अनुसार आजबाट सडक कार्यालयले कोदारीको पहिरो पन्छाउन लागिएको छ । उक्त पहिरो पन्छाएर सडक खुलाउन सकेमा एक ठाउँमा मात्र भरियाले बोक्नुपर्ने जानकारी भट्टराईले दिए ।

The northern border has been closed for three weeks

स्याउ आयातकर्ता विष्णु श्रेष्ठका अनुसार बोकाएर आयात गर्दा एक कन्टेनर गाडीको अतिरिक्त ढुवानी भाडा १ लाखसम्म पर्छ । उनले आफ्नो ९ वटा कन्टेनर सीमा क्षेत्रमा रहेकाले त्यसलाई नेपालतर्फ ल्याउने प्रयास भइरहेको बताए । उनका अनुसार खासा क्षेत्रमा भएको स्याउका कतिपय कन्टेनर खासा प्रशासनको सहयोगमा न्यालमतर्फ फर्काएर कोल्डस्टोरमा राख्ने व्यवस्था मिलाइएको छ । श्रेष्ठले भने, ‘ढुवानीका कारण घाटा धेरै व्यहोर्नुपर्ने अवस्था सिर्जना भयो ।’ 

रसुवागढी नाकाबाट तिब्बतको केरुङसम्म करिव २४ किमि सडकको अधिकांश भाग क्षति गरेको छ । केरुङबाट सामान बोकाएर ल्याउने सम्भावना छैन । तातोपानीको मितेरी पुलबाट करिव १ किमि बाह्रबिसेतर्फको लिपिङ मोटरेबल पुल बाढीले बगाएर भोटेकोसीमा खसालेको छ । उक्त स्थानमा तत्कालै अस्थायी व्यवस्थापन गर्न सक्ने अवस्था छैन । बेलिब्रिज राख्ने तयारी गरेपनि सुरु गरिएको छैन ।

बेलिब्रिजको केही सामाग्री लार्चास्थित सुख्खा बन्दरगाहको हातामा पुर्‍याइएको छ । तातोपानी सीमाकै करिव ११ किमि पश्चिमतर्फ अरनिको राजमार्गको लार्चास्थित भोटेकोसीमा रहेको बेलिब्रीज बाढीले बगाएको छ । भन्सार यार्डबाट करिव एक किमि टाढा उक्त स्थानमा ह्युमपाइप राखेर कन्टेनर आवतजावत गराइएको छ । भूकम्पपछि लगातार चार वर्ष पूर्ण रुपमा बन्द भएको तातोपानी नाकाबाट हुने व्यापार दुई वर्षयताबाट बढ्दै गएको थियो । 

केरुङ सडक क्षतविक्षत 

रसुवागढी र केरुङ जोड्ने चीनतर्फको सडक मान्छे हिँड्नसमेत नहुनेगरी क्षतविक्षत भएको छ । दसैँ अगाडि नै केरुङ गएका नेपाली व्यवसायी तथा कर्मचारीहरूलाई सुरक्षाकर्मीको सहयोगमा रसुवा ल्याइएको थियो । कतिपय स्थानमा डोरी लगाएर सडक पार गर्नुपर्ने अवस्था रहेको छ । चिनियाँ अधिकारीहरूले सडक मर्मतको काम भइरहेको जानकारी गराएपछि खुल्ने समय तोक्न सकेका छैनन् ।

रसुवाबाट काठमाडौं जोड्ने सडक भने दसैँ अगावै सञ्चालन भएको थियो । रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार केरुङतर्फको सडक तिहारअघि खुल्ने सम्भावना छैन । चिनियाँ पक्षले सडक खुलाउन कम्तिमा अझैं १५ दिन लाग्ने सूचना दिएको उनले बताए । गत असोज २१ गतेदेखि भन्सारको राजस्व संकलन ठप्प रहेको उनले बताए ।

‘बाढीपहिरो अघि नै आएका कन्टेनरका सामान भन्सार पास भएर काठमाडौं आइसकेको छ,’ उनले भने, ‘अब सडक सञ्चालन नभइ व्यापार सुरु गर्ने अवस्था छैन ।’ केरुङको सडक पहाड फोरेर नभइ खोलाबाटै उठाएर बनाएको धेरै भाग रहेको छ । चिनियाँ अधिकारीहरूले सीमाका नेपालीहरूलाई दिएको जानकारीअनुसार सुरुङ मार्ग र खोला नजिकैको सडकलाई बल्लतल्ल मान्छे हिँड्ने गोरेटो बनाइएको छ । 

दसैँका तयारी पोसाक बाटैमा अलपत्र 

चीनबाट विशेषतः तयारी पोसाक ठूलो परिणाममा नेपाल भित्रने गरेको छ । रसुवा भन्सार प्रमुख भट्टराईका अनुसार ती सामान तत्काल काठमाडौं पुग्ने सम्भावना छैन । चीनबाट मुख्यतया तयारी पोसाक, जुत्ता, व्याग, ज्याकेट, कस्मेटिक, स्टेसनरी सामान, कृषि तथा जलविद्युतका औजारहरू, इलेक्ट्रिक गाडीलगायतका समान आयात हुने गरेको छ ।

केरुङ तथा तातोपानी नाका भएर नेपाल भित्रन लागेका करोडौं मूल्यका सयौं कन्टेनर व्यापारिक सामान बाटैमा अलपत्र भएको दाबी व्यवसायीको रहेको छ । अहिले दसैँ तिहार र जाडोका सामान गोदाम र बाटोमा अलपत्र रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए ।

'एउटा सिजनमा ल्याइएको सामान अर्को सिजनमा बेच्न सकिँदैन,' उनले भने, 'यसपटक धेरै व्यवसायीले करोडौं नोक्सानी व्यहोर्नु परेको छ । उनले चीनसँग स्थल मार्गबाट हुने व्यापारको ठूलो हिस्सा उत्तरी नाकासँग सम्बन्धित भएकाले सरकारी निकायले सडक खुलाउन तत्परता देखाउनुपर्ने बताए । उनले तातोपानी र रसुवा नाकाबाट हुने व्यापार सहजीकरणमा सरकारी चासो बढी हुनुपर्ने बताए । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully