बाढीपहिरो प्रभावितलाई निजी क्षेत्रको सहयोग घोषणा

एनआरएनएदेखि नेपाल उद्योग वाणिज्य महासंघ र भाटभटेनी सुपर मार्केटसम्मले गरे सहयोग घोषणा 

आश्विन १५, २०८१

कान्तिपुर संवाददाता

Announcement of private sector assistance to flood victims

काठमाडौँ — लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावितलाई व्यवसायी, निजी क्षेत्रका संघसंगठनदेखि राजनीतिक दलसम्मले आर्थिक सहयोग तथा राहत घोषणा गरेका छन् ।

बाढीपहिरोबाट काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरीका बासिन्दा प्रभावित छन् । 

बाढीपहिरो पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । आइतबार बसेको भर्चुअल बैठकमा संघका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले बताए । पदाधिकारी बैठकपछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपत्कालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने उनको भनाइ छ । 

Announcement of private sector assistance to flood victimsभाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले पनि बाढीपीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको उनको जनाए । ‘अहिले बाढीपीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेको छु,’ उनले भने । अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरूको उद्धार र राहतका लागि पनि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए । 

नेकपा एमालेले स्थापना गरेको ‘सामाजिक सेवा केन्द्र’ ले १ करोड रुपैयाँ बराबरको राहत वितरणको काम भइरहेको जनाएको छ । प्राकृतिक विपद् तथा सर्वसाधारणलाई अप्ठ्यारो पर्दा सहयोग तथा साथ दिने आशयका साथ स्थापना भएको सामाजिक सेवा केन्द्रले अविरल वर्षाको कारण प्रभावितहरूलाई सहयोग र राहत प्रदान गर्दै आएको जनाएको छ । काठमाडौं उपत्यका तथा देशभर भएको धनजन क्षतिलाई आत्मसात् गर्दै सामाजिक सेवा केन्द्रले काम गरिरहेको सामाजिक सेवा केन्द्रका संयोजक मोतीलाल दुगड बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँ राहत रकम दिने भएको छ । महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला उद्योग वाणिज्य संघमार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ । असोज १० देखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति समेत महासंघले दुःख व्यक्त गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरूमार्फत उक्त रकम राहतका लागि उपयोग गरिने बताइएको छ ।

सिटिजन्स बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । सहरी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले उक्त रकमको चेक हस्तान्तरण गरे ।

वर्षाले प्रभावित भई क्षति पुगेकाहरूलाई राहत दिने उद्देश्यसाथ सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त सहयोग गरेको हो । बैंकले यसअघि पनि ०७२ को भूकम्पपीडितका लागि उक्त कोषमा १ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ । सरकारसँग हातेमालो गरेर बाढीपहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully