बाढीपहिरोले कृषिमा पौने ६ अर्बको क्षति, कुनमा कति क्षति ?

धानबालीमा मात्रै ३ अर्ब ५० करोडको क्षति, किसानलाई राहत दिन छलफलमै कृषि मन्त्रालय

आश्विन १५, २०८१

राजु चौधरी

6 billion damage to agriculture due to floods, how much damage?

काठमाडौँ — बिहीबार रातिदेखिको अविरल वर्षा, बाढीपहिरो र डुबानले कृषि तथा पशुपन्छी क्षेत्रमा पौने ६ अर्बको क्षति पुगेको छ । बाढीपहिरो र डुबानले धानवाली, तरकारी, अलैँची, उखु, माछापोखरी, पशुपन्छी, कोल्डस्टोर, पशुगोठलगायतमा ५ अर्ब ८३ करोडको क्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक गरेको यो प्रारम्भिक तथ्यांक हो । क्षतिको विवरण घटबढ हुन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विवरण अनुसार धानबालीमा मात्रै ३ अर्ब ५० करोड रुपैयाँको क्षति भएको छ । बाढीपहिरोले ५८ हजार ४ सय ७६ हेक्टर धानबालीमा क्षति पुर्‍याएको हो । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलालीको धानबालीमा असर पुगेको छ । त्यस्तै, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा क्षति पुर्‍याएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धान रोपाइँ हुने क्षेत्रफलमध्ये ९८.५ प्रतिशत (१३ लाख ७८ हजार ६ सय ११ हेक्टर) मा रोपाइँ भएको थियो । गत वर्षको तुलनामा रोपाइँ उत्साहजनक भएकाले उत्पादन बढ्ने अनुमान गरिएको थियो । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार क्षति पुगेको क्षेत्रमा करिब डेढ लाख टन धान उत्पादन हुन्छ । ‘डेढ लाख टन धान भनेको धेरै हो । साढे ५८ हजार हेक्टरको धान पूर्णरूपमा क्षति भए राष्ट्रलाई धेरै घाटा हुन्छ । अहिलेको तथ्यांक प्रदेशबाट आएको प्रारम्भिक हो, यसलाई थप पुष्टि गर्दै छौँ,’ उनले भने, ‘पुष्टि गर्ने क्रममा क्षतिको आकार थप बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।’

सरकारी तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ । चामलको मात्रै कुल गार्हस्थ्य उत्पादनमा करिब ५ प्रतिशत योगदान छ । करिब ६२ प्रतिशत परिवारको प्रमुख पेसा कृषि नै हो । मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बाढीले धेरैजसो वाग्मती प्रदेशमा क्षति गरेको बताए । उनका अनुसार तराईमा उत्पादन हुने धानबालीको राष्ट्रिय योगदान ७२ प्रतिशत छ । पहाडी भेगको उत्पादनमा तुलनात्मक रूपमा केही कम छ ।

‘सबैभन्दा बढी योगदान तराईको हो, ७२ प्रतिशतमा कति क्षति भएको छ, त्यसको यकिन भइसकेको छैन । अहिले सबैभन्दा बढी प्रभाव पहाडी भेगमा परेको देखिन्छ,’ रेग्मीले भने, ‘कैलाली, बर्दिया, बाँके हुँदै मोरङ क्षेत्र प्रभावित भए धान उत्पादन घटाउँछ । अहिले प्रारम्भिक रूपमा हेर्दा राष्ट्रिय रूपमा त्यति प्रभाव पर्दैन ।’ त्यस्तै, खोटाङमा १३ हजार हेक्टर अलैँची नष्ट भएको छ । यसबाट किसानलाई ७० करोडको क्षति पुगेको छ । पर्सामा ८५ हेक्टर उखु खेतीमा नष्ट भएको छ । यसबाट किसानलाई ३४ करोडको क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा ४ सय ५८ हेक्टरमा माछापोखरीमा क्षति पुगेको छ । यसबाट किसानलाई १ अर्ब १३ करोड नोक्सान भएको छ । त्यस्तै, पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशुगोठमा क्षति पुगेको जनाएको छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा २२ हेक्टर फलफूलको बगैंचामा क्षति पुगेको मन्त्रालयले जनाएको छ । खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा र पर्सामा २७४३ हेक्टर तरकारी बाली नष्ट भएको छ । २ वटा कोल्डस्टोरमा क्षति पुगेको जनाएको छ । यीबाहेक मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनामा १६ करोड बराबरको क्षति पुगेको छ । ‘किसानलाई राहत दिने सन्दर्भमा केन्द्र सरकार, प्रदेशको सँगसँगै तयारी छ । छलफल पनि गर्दै छौँ,’ सूचना अधिकारी जोशीले भने, ‘विकास साझेदारी संस्थासँग पनि राहतको विषयमा छलफल भएको छ ।’

कुनमा कति क्षति ?

– ५८,४७६ हेक्टर धानवाली नष्ट भई ३ अर्ब ५० करोड क्षति

– १३०० हेक्टर अलैँची नष्ट भई ७० करोडको क्षति

– ८५ हेक्टरमा लगाइएको ३४ करोडको उखुमा क्षति

–४५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोडको क्षति

– २६२०५ पशुपन्छी मृत्यु

–४७४३ हेक्टर तरकारी बाली नष्ट

–२२ हेक्टर फलफूल बगैंचामा क्षति

–२ वटा कोल्डस्टोरमा क्षति

– २४ पशुगोठमा क्षति

–१६ करोड बराबरको मन्त्रालय र मातहतका कार्यालयमा भौतिक क्षति

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully