जहाजको बिदाइ

बुद्ध एयरले १६ वर्षदेखि आन्तरिक गन्तव्यहरूमा उडाइरहेको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ विमानलाई ह्यांगरमा पठायो 

भाद्र २५, २०८१

सुरज कुँवर

Farewell to the ship

काठमाडौँ — नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ । बुद्ध एयरले १६ वर्षदेखि आन्तरिक गन्तव्यहरूमा उडाइरहेको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको एटीआर विमानलाई बिदा गरेको हो । 

आन्तरिक उडानमा बुद्ध एयरले सन् २००८ मा भित्र्याएको यो उसको पहिलो एटीआर विमान थियो । बुद्ध नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडान गर्ने वायुसेवा कम्पनी हो । योसँग ४७ सिटका एटीआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटीआर विमान छन् । त्यति बेला ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको यो विमान खरिद गरेर नेपाल ल्याइएको बुद्ध एयरका एक वरिष्ठ प्राविधिक बताउँछन् । उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ । यो विमानको अझै १७ वटा साइकल बाँकी छ । 

‘७० हजार उडान साइकल पूरा भएपछि टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरणबाहेक फ्युसलाज (विमानको मुख्य शरीर वा ढाँचा) लाई व्यावसायिक उडानमा प्रयोग गर्न नपाइने एटीआरको नियम छ । ‘एटीआरले अमेरिकी र युरोपियन उड्डयन संस्थाहरूसँगको सहकार्यमा गरेको परीक्षणअनुसार संसारभर हरेक एटीआर विमानको साइकल (चक्र) को सीमा ७० हजार पटक उडेपछि सेवानिवृत्त गर्नुपर्ने नियम बनाएको छ,’ बुद्ध एयरका एक अर्का प्राविधिकले भने, ‘७० हजार साइकलसम्म एटीआर उडाएको रेकर्ड नेपालमा मात्रै होइन, बाहिर पनि व्यावसायिक उडानमा बिरलै रहेछ ।’

बुद्धले यो विमानबाट सोमबार मात्र १४ वटा आन्तरिक उडान गर्‍यो । मंगलबार बिहान यो जहाजले पर्वतीय उडान भने गर्दै छ । ‘मंगलबार हुने अन्तिम उडानमा एटीआरको सिंगापुरस्थित क्षेत्रीय कार्यालयबाट आएका दुई जना प्रतिनिधि, बुद्ध एयरलाई ऋण सहायतामा सघाउने केही बैंकरसहित १६/१७ जना यात्रु राखेर माउन्टेन फ्लाइट हुनेछ,’ विमानस्थलस्थित बुद्धको कार्यालयले भन्यो, ‘त्यो उडान काठमाडौं विमानस्थलमा अवतरण गरेर सिधै बुद्धको ह्यांगरमा जानेछ । जहाजलाई सम्मानस्वरूप पानीको फोहोराले सलामी दिइनेछ ।’ त्यसपछि यो विमानको दर्ता खारेजी हुनेछ । यसमा प्रयोग भएका काम लाग्ने उपकरण झिकेर खोक्रो ढाँचा नागरिक उड्डयन प्राधिकरणलाई अभ्यासका लागि दिइने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए । 

उड्डयन क्षेत्रमा वायुयानको उमेर हुन्छ । तर बुढो हुँदैन भनिन्छ । नियमित मर्मत र यन्त्र तथा उपकरणहरूको समय तालिकाअनुसार प्रतिस्थापन भइरहे जहाज बुढो हुँदैन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा राखेको ट्वीनअटर विमानमा एटीआरमा जसरी साइकलको सीमा तोकिएको छैन । तिनलाई पार्टपुर्जा फेरबदल गर्दै उडाइरहन मिल्छ ।

‘नेपाली आकाशमा जहाजले पखेटा फिँजाएको ७५ वर्षको इतिहासमा सम्भवतः एउटा जहाजले आफ्नो ‘लाइफ साइकल’ पूरा गरेर बिदाइ हुन लागेको यो पहिलो घटना हो,’ नेपाल वायुसेवा निगममा ३० वर्ष सेवा गरी हाल अवकाशप्राप्त बोइङ ७५७ का क्याप्टेन वाईके भट्टराईले भने, ‘नेपालमा प्रायः विमान पुरानो हुँदै जाँदा थन्क्याउने, दुर्घटनामा पर्ने, बिक्री गर्ने चलन थियो । तर एउटा जहाजले आफ्नो लाइफसाइकल पूरा गरेर बिदाइ हुन लागेको सुनिएकै थिएन ।’  

नेपालमा हालसम्म करिब ३ सय हाराहारी जहाज विभिन्न वायुसेवा कम्पनीले ल्याएको प्राधिकरणको सेफ्टी विभागको निर्देशकबाट अवकाशप्राप्त उड्डयनविज्ञ भेषराज सुवेदी बताउँछन् । तिनमा झन्डै ७० वटा दुर्घटनामा परे, कतिपय कम्पनी बन्द भएका कारण थन्काइए, कति विदेशीलाई बिक्री गरिए ।

‘कम्पनीको नियमअनुसार एउटा जहाजले पूरा साइकल गरेर बिदाइ गरेको सम्भवतः नेपालमै पहिलो घटना होला,’ सुवेदीले भने, ‘अमेरिकालगायत देशमा त सुनिरहिन्छ । तर नेपालको एउटा निजी वायुसेवाले यसरी जहाजलाई सुरक्षित उडान गर्दै बिदाइ गर्नु एउटा सेलिब्रेसन हो ।’

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully