कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सरकारले उद्योगीलाई प्रोत्साहन गर्नेगरी नीति ल्याउँदैछ : अर्थमन्त्री पौडेल

भाद्र १४, २०८१
सरकारले उद्योगीलाई प्रोत्साहन गर्नेगरी नीति ल्याउँदैछ : अर्थमन्त्री पौडेल

तिलोत्तमा — उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । उनले यही विषयमा केन्द्रीत भएर हरेक दिन उद्योगीसँग अन्तर्क्रिया गरिरहेको बताए ।

शुक्रबार रुपन्देहीमा आयोजित नेपाली उद्यमी मन्चको सातौं राष्ट्रिय नेतृत्वसीप सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले यही सरकारबाट नै स्थिरता सम्भव रहेको बताए ।

‘पछिल्लो निर्वाचनबाट अहिलेको संसद्‌मा रहेको सबै खालका गठबन्धनको अभ्यास गरेर असफल भएपछि कांग्रेस-एमालेको सरकार बनेको हो, अहिलेको संसद्‌मा योभन्दा बलियो सरकार बन्न सक्दैन,’ उनले भने, ‘सबै प्रयोगबाट असफलको शिक्षा लिएर यो सरकार बनेको हो, यसैबाट स्थिरता सम्भव छ, नीतिको स्थिरता दिन खोजिएको छ ।’

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकांक सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताए । उनले यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको समेत बताए । ‘ रेमिट्यान्स आउनुपर्ने आएको छ । ती सूचक ठिकै होला । तर उत्पादन घट्दैछ, आयात निर्यात घटिरहेको छ, सबै क्षेत्रमा उत्पादन घटेको छ, माग घटेको छ,’ पौडेलले भने, ‘अधिकांश उद्योग नै ४० प्रतिशतको क्षमताभन्दा बढी चल्न सकेका छैनन् । यस्तो गम्भीर अवस्था छ । उत्पादन घटेपछि रोजगारमा प्रभाव परेको छ, युवा जनशक्तिलाई कहाँ व्यवस्थापन गर्ने चिन्ता छ ।’

अर्थमन्त्री पौडेलले देशको आर्थिक अवस्थाको चित्रण गर्दै अहिले सार्वजनिक ऋण २४ खर्बभन्दा बढी रहेको र यो बढ्दै गएका कारण अब कस्तो ऋण लिने भन्ने चिन्ता बढाएको बताए । ‘अब उत्पादन दिने, रोजगारी दिने ऋण मात्र लिने योजनामा छौं, हामी ऋणको पासोमा परेको होइन । तर त्यसको प्रभाव रोक्न जरुरी छ भन्ने प्रष्ट देखिएको छ,' उनले भने ।

‘राजश्वले साधारण खर्च धान्न समस्या पर्दै गइरहेको छ । ३० प्रतिशत बढाउन सकेमात्रै राजश्व लक्ष्य पूरा हुन्छ, व्यवसायीलाई दुःख दिने काम हुँदैन, गैरकानुनी कामलाई प्रोत्साहन नदिने हो,' उनले भने । तर, यस्तो अवस्थामा पनि ती निराशालाई हटाउनेगरी निजी क्षेत्रसँगको सहकार्य अगाडि बढाएको उनले बताए ।

प्रकाशित : भाद्र १४, २०८१ १८:१२
x
×