कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अलपत्र  

भाद्र ८, २०८१
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अलपत्र  

लुम्बिनी — रुपन्देहीमा ठूलो लगानीबाट निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन प्रयोगविहीन बनेको छ। निर्माण सकिएर सञ्चालनमा आएपनि सम्मेलन केन्द्र सञ्चालनका लागि कार्यविधि नबन्दा यसको अधिकतम उपयोग हुन सकेको छैन । नियमित रेखदेख र मर्मतसम्भारका काम नहुँदा सम्मेलन केन्द्र अस्तव्यस्त बनेको छ । सम्मेलन केन्द्र हललाई व्यवसायिक प्रयोजनमा लगाइएपनि यहाँबाट आम्दानीको सट्टा खर्च मात्रै भइरहेको छ ।

करोडौं रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त केन्द्रका संरचना सञ्चालनमा नआउँदै भत्किन थालेका छन् । सम्मेलन केन्द्र कहिलेबाट सञ्चालनमा आउँछ भन्ने टुंगो समेत लागेको छैन । जसले गर्दा संरचनास्थलमा झाडी मौलाएका छन् ।

मुुुुलुकको मध्य भागमा रहेको बुटवलमा सम्मेलन केन्द्र निर्माणले यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने प्रचार गरिएको थियो । त्यसकै आधारमा संरचना आसपास निजी लगानीमा विभिन्न व्यवसाय समेत सञ्चालनमा आए । तर सम्मेलन केन्द्र नै सञ्चालनमा नआउँदा वरपर भएको निजी क्षेत्रको लगानी डुबेको छ ।

निजी क्षेत्रले सम्मेलन केन्द्र सञ्चालनका लागि पटक-पटक माग गर्दै आएका छन् । तर बुटवल उपमहानगरपालिका–१० मा १ अर्ब ११ करोड रुपैयाँ लगानीमा निर्माण भएको सम्मेलन केन्द्र अलपत्र परेको छ । सम्मेलन केन्द्रमा १३ वटा हल छन् । ती हलमा २ हजार ७ सय जना अटाउने क्षमता छ । ती मध्ये अडिटरियम सबैभन्दा ठुलो हल हो । सरकारले राष्ट्रिय र अन्तराष्ट्रियस्तरका कार्यक्रम संचालन गर्न सम्मेलन केन्द्र निर्माण गरेको हो । तर, अहिलेसम्म लगानीमात्र भइरहेको छ ।

अरबौँ लगानी गरेर बनाइएको सम्मेलन केन्द्रबाट अहिले नियमित आम्दानी छैन । यहाँको आम्दानीले सम्मेलन केन्द्रका कर्मचारीलाई पारिश्रमिक पुर्‍याउन समेत धौधौ छ । उपयोग नहुँदा सम्मेलन केन्द्रका संरचना बिग्रिन थालेका छन् ।

केन्द्रको भवन ०७१ सालमा निर्माण सुरु भएको थियो । दुई चरणमा यसको निर्माण भएको हो । अहिलेसम्म २२ वटा कार्यक्रम आयोजना भएको र त्यसबाट ४० लाख आम्दानी भएको केन्द्रका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिए । उनका अनुसार कार्यक्रम सञ्चालनका लागि कार्यविधि निर्माण भएर मन्त्रिपरिषद्‌बाट पास हुनुपर्नेमा नभएकाले समस्या भएको बताए ।

‘उक्त प्रक्रिया पूरा नभएकाले सहज संचालन नभएको हो,’उनले भने । पन्थीका अनुसार संरचना खेर गइसकेकोबारे नागरिकको पनि चासो छैन । ‘किन बन्द गरिराखिएको छ भनेर कसैले सोध्दैनन्,’ पन्थीले भने, ‘कार्यक्रम गर्न चाहनेलाई विभागले तोकेको दरमा हल उपलब्ध गराइरहेका छौं ।’ अहिले कार्यक्रम सञ्चालन गरेको एक दिनको न्युनतम ९६ हजार रुपैयाँ भाडा लिने गरेको उनले बताए । उक्त हलमा कार्यक्रम सञ्चालन गरेका व्यक्तिले भद्रगोल अवस्था देखेर असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

केही दिनअघि एउटा कार्यक्रममा सहभागी भएका नेपाल होटलर्स एशोसिएशनका अध्यक्ष प्रवीण पाठकले सम्मेलन केन्द्रको बिजोग अवस्थामा रहेको बताए । हलका कुर्सी च्यातिनुका साथै भित्तामा टाँसिएको कार्पेट उप्किलन लागेको बताए । सातै हलका अन्य संरचना बिग्रिने र भत्किने अवस्थामा पुगिसकेकाले उनले बताए ।

‘सम्मेलन केन्द्र बिग्रिएपनि जनताकै पैसा खेर जाने हो,’ उनले भने, ‘धारामा पानी, टुटी छैन, शौचालय, हल गन्हाएर बस्न नसकिने अवस्था छ, झार पलाएको छ, नेपालमा संरचना बनाउने हेरदेख नगर्ने प्रवृत्ति हाबी छ ।' कमसल सामग्रीको प्रयोग गरेर निर्माण गरिए जस्तो देखिने संरचना टिकाउ हुनेमा र सम्मेलन केन्द्र संचालन आउने विषयमा प्रश्न चिन्ह खडा भएको पाठकले बताए।

प्रकाशित : भाद्र ८, २०८१ १९:१८
x
×