आइतबार सेयर बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दा सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि बन्द गरियो, पुनः सुरु भएपछि एक मिनेटमै ५ प्रतिशतले बढ्दा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि रोकियो, १२ बजेपछि बजार खुल्दा भने संयमित भयो
काठमाडौँ — राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछिको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ११३ अंकले बढेर २ हजार ६ सय ८१ बिन्दुमा पुगेको छ । यो २९ महिनायताकै उच्च हो । यसअघि ०७८ फागुन ११ मा २७ सय २० बिन्दुमा रहेको नेप्से १२ गते घटेर २६ सय ६१ मा झरेको थियो ।
आइतबारको नेप्से त्यसयताकै उच्च हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई यसअघि लाग्दै आएको २० करोडको सेयर कर्जाको सीमा खारेज गरेको र कर्जा विस्तारलाई प्रोत्साहन गरेको भन्दै लगानीकर्ता उत्साहित भएका छन् । बैंकमा अधिक तरलता रहेको, ब्याजदर घटिरहेको र बैंकहरू ऋणी खोज्दै घरघर हिँडिरहेका बेला राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएकाले सेयर बजारमा उत्साह थपिएको र त्यसले नेप्से परिसूचकमा छलाङ ल्याएको जानकारहरू बताउँछन् ।
मौद्रिक नीति केही खुकुलो आएकाले सेयर बजारमा सकारात्मक प्रभाव पर्नु स्वाभाविक भए पनि नेप्से वृद्धिको प्रवृत्ति हेर्दा लगानीकर्ता वास्तविकताभन्दा बढी उत्साहित भएको देखिएको नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीको तर्क छ । ‘यस अवधिमा वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको पनि सेयर मूल्य आधारबिनै बढेको छ,’ उनले भने, ‘यसकारण हल्लाको पछि नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने बेला छ । किनकि सेयर बजार यति धेरै बढिहाल्नुपर्ने कुनै कारण छैन ।’
सेयर मूल्य बढ्ने कम्पनीको अवस्था हेर्दा नेटवर्थ ऋणात्मक भएका कम्पनीको सेयर मूल्य निकै माथि पुगेकाले जोखिम बढेको प्रस्ट हुन्छ । अहिले पनि सेयर बजारमा सीमित व्यक्ति वा संस्थाको चलखेल कायमै रहेको बताउँदै गिरीले भने, ‘यस्ता समूहले निश्चित कम्पनीको मूल्य बढाउन लाग्छन्, यसका मारमा साना लगानीकर्ता पर्ने जोखिम उच्च रहन्छ ।’
आइतबार एकै दिन नेप्से ११३.४२ अंकले बढेको छ । यो ०८० फागुन २१ यताकै उच्च वृद्धि हो । त्यो दिन नेप्से ११७ अंकले बढेको छ । आइतबार पहिलो एक घण्टा सेयर बजारमा निकै उतारचढाव देखियो । ११ बजे बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशत (१ सय २ अंकभन्दा बढी) ले बढ्दा सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि सेयर किनबेच बन्द गरियो । त्यसपछि बजार खुले पनि एकै मिनेटमा ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि सेयर किनबेच रोकियो । करिब १२ बजेपछि बजार खुल्दा भने निकै संयमित देखियो । बजार सुधारकै बाटोमा रहे पनि अस्वाभाविक वृद्धि देखिएन । यही कारण त्यसपछिका तीन घण्टा (१२ देखि ३ बजेसम्म) सहज रूपमै सेयर किनबेच भयो ।
खुकुलो मौद्रिक नीतिले बजारमा सकारात्मक मनोविज्ञान छोडेकाले नेप्से बढेको र यो प्रवृत्तिले निरन्तरता पाउने संकेत देखिएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । ‘अब बजार बढ्न सक्दैन अझै घट्छ भन्ने मनोविज्ञान सकिएजस्तो देखिन्छ । यसकारण बजार बिस्तारै बढ्दै जान्छ,’ उनले भने, ‘नेपालको सेयर बजार जहिले पनि राष्ट्र बैंकको नीतिले चल्ने हो । विगतमा राष्ट्र बैंकले डर, त्रास मात्र देखाएको थियो । अहिले एकाएक नीतिमार्फत माया, उत्साह र प्रेम देखाएको देखिन्छ ।’
मौद्रिक नीतिले विभिन्न क्षेत्रमा कर्जा विस्तारको ढोका खोलेको छ । बैंकबाट विस्तार भएको कर्जा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पहिले सेयर बजारमै आउने हो । यसकारण पनि अब बजारले वृद्धिको बाटो समात्ने दाबी सिजापतिको छ । आइतबार कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढ्यो, ८७ कम्पनीको सेयर मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा बढी जीवन बिमा उपसमूह ५१९.२७ अंकले बढ्यो । निर्जीवन बिमा ३४५.४६ अंक, विकास बैंक २४५.९२, बैंक १४१.७६ र उत्पादन तथा प्रशोधन १३४.७१ अंकले बढ्यो । लघुवित्त उपसमूह १०.०६ अंकले घट्यो ।
उक्त दिन १ लाख ६३ हजार ८ सय १० वटा कारोबारबाट ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको कारोबार रकम गत बुधबारयताकै धेरै हो । गत बुधबार १६ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
