यस बैंकबाट इजाजतपत्र/अनुमतिपत्रप्राप्त संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता (एआई) सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी मार्गदर्शन बनाउने योजना अघि सारेको छ । शुक्रबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा एआई मार्गदर्शनबारे उल्लेख गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा एआई प्रविधिको प्रयोग बढ्दै गइरहेकाले यसका चुनौती र अवसर पहिल्याउने राष्ट्र बैंकको तयारी छ । ‘यस बैंकबाट इजाजतपत्र/अनुमतिपत्रप्राप्त संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता (एआई) सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘यसबाट सिर्जना हुनसक्ने जोखिम पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ ।’
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पहिलो पटक एआई सम्बन्धी अवधारणापत्र तयार गरी सार्वजनिक गरिसकेको छ । एआईको विकास, प्रयोग र नियमनका लागि सरकार र सरोकारवाला सबैले चाल्नुपर्ने कदमका विषय समावेश गरी मन्त्रालयले एआईसम्बन्धी रणनीतिक अवधारणापत्र तयार पारेको हो ।
