काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।जलस्रोत तथा सिँचाइ विभागले सोमबार गरेको ‘चौँथो त्रैमासिक एवम् वार्षिक समीक्षा गोष्ठी’मा बोल्दै उनले आयोजनाको गुणस्तरलाई ध्यान दिइ समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिए ।
'राष्ट्रिय गौरवका आयोजना भन्ने तर आयोजना सम्पन्न गर्न ३०/३५ वर्ष लाग्ने ? गौरवको आयोजनालाई गौरवयोग्य बनाउनुपर्छ,' मन्त्री खड्काले भने । उनले धेरै क्षेत्रमा बजेट बाँडफाँट गरेर काम नहुनुभन्दा एउटै आयोजनालाई सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए ।
मन्त्री खड्काले एउटै आयोजनामा तीनै तहको सरकारको बजेट पर्ने गरेको भन्दै त्यसो हुन नदिन अन्तरसरकारसँग सहकार्य गर्नुपर्ने बताए । उनले कर्मचारीलाई निर्भिक ढङ्गले इमान्दार भएर काम गर्न समेत आग्रह गरे । 'म दुर्घटना नगरी मन्त्रालयको ड्राइभिङ गर्छु, तपाईंहरु पाटपुर्जा ठीक ठाउँमा राख्नूहोस्,' मन्त्री खड्काले भनेका थिए ।
उनले जलस्रोत तथा सिँचाइ विभाग किसानसँग प्रत्यक्ष जोडिएकाले किसानलाई राहत र सहुलियत प्रदान गर्नेतर्फ लाग्नुपर्ने बताए । मन्त्री खड्काले आयोजना अगाडि बढाउँदा प्रविधि, आधुनिकीकरणको समस्या र कामदारको समस्यालाई हेर्नुपर्ने बताए ।
सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले चैते धानको उत्पादन बढाउन आवश्यक सिँचाइलाई विभागले प्राथमिकतामा राखेको बताए ।उनले विभागको पहलमा हाल देशभर १५ लाख ६९ हजार हेक्टरमा सिँचाइ व्यवस्थापनका लागि पूर्वाधार निर्माण गरे पनि अझै १० लाखभन्दा बढी हेक्टर जमीनमा सिँचाइका लागि पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
