निकुञ्जले गत आर्थिक वर्षमा उठायो ३६ करोड ७२ लाख ९२ हजार राजस्व
चितवन — वन्यजन्तु अवलोकनका लागि पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या गत आर्थिक वर्षमा तीन लाख नाघेको छ । यो संख्या अहिलेसम्मकै उच्च भएको निकुञ्ज अधिकारी बताउँछन् । गत आर्थिक वर्षमा ३ लाख ६ हजार ८ सय ३७ जनाले चितवन निकुञ्ज घुमेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जनाए ।
निकुञ्जले गत आर्थिक वर्षमा ३६ करोड ७२ लाख ९२ हजार ८ सय ७ रुपैयाँ राजस्व आम्दानी गरेको छ । त्यसअघि आर्थिक वर्ष ०७९/८० मा पर्यटक संख्या २ लाख ९९ हजार ४ सय १२ थियो । त्यसबाट २९ करोड ८९ लाख ६५ हजार ४ सय ९५ रुपैयाँ राजस्व उठेको थियो । ‘गएको आर्थिक वर्षमा निकुञ्ज घुम्ने पर्यटकको संख्या र राजस्व अहिलेसम्मकै उच्च हो । निकुञ्ज घुम्ने पर्यटकको संख्या पहिलो पटक ३ लाख नाघ्यो,’ तिवारीले भने ।
चितवन निकुञ्ज विश्वमा लोप हुने अवस्थामा रहेका ठूलो एकसिंगे गैंडा, पाटेबाघ, घडियाल गोहीजस्ता जीवजनावरको नेपालमा मुख्य बासस्थल हो । जंगली हात्ती अनेकौं चरा र जलचर तथा वनस्पति पनि यहाँ छन् । निकुञ्ज आडमा आदिवासी थारू, बोटे, कुमाल, दराईको बसोबास छ । जसको संस्कार–संस्कृति पनि पर्यटकले रुचाएका हुन्छन् ।
‘संख्या बढ्नु राम्रो हुँदाहुँदै पनि संरक्षित क्षेत्रसँग जोडिएको पर्यटन भएका कारण यसले चुनौती पनि ल्याउँछ । हामीले संरक्षण र पर्यटन सँगसँगै लैजान आवश्यक छ,’ सन् १९८० देखि नेचर गाइड सुरु गरेका र १८ वर्षअघि आफैंले होटल सञ्चालन गरेका चितवनका पुराना संरक्षणकर्मी टीका गिरीले भने । भूकम्प, नाकाबन्दी र कोरोनाको लकडाउनपछि गुणस्तरमा ख्याल नपुगेको पो हो कि भन्ने देखिने गरेको गिरीले बताए ।
‘पाहुनाको संख्या बढाउन मूल्य घटाउने प्रतिस्पर्धाजस्तै चलेको छ । यो अलि ठीक हैन कि ? हाम्रो पर्यटकीय विषेशता पर्यटकलाई बुझाएपछि उनीहरूलाई सेवा दिएर सन्तुष्ट गराउन प्रतिस्पर्धा गरौं । हुन त पर्यटक नै कम आएका बेलामा जे जति हुन्छ व्यापार गरौं भन्ने भावना बन्छ । तर अब सधैं यसो नगरौं,’ गिरीले भने ।
पर्यटकको संख्या बढेको भने पनि व्यापार नबढेको होटल व्यवसायी बबिता चौधरीको अनुभव छ । ‘संख्या बढेको असर व्यवसायमा देखिनुपर्ने हो । तर व्यापारमा त्यस्तो सुधार छैन । कोरोनाको समयभन्दा केही राम्रो छ । तर उल्लेख्य केही देखिँदैन,’ बबिताले भनिन् । पछिल्लो समय विदेशी पर्यटक कम हुँदै गएका कारण सरकारले अन्तर्राष्ट्रियजगत्मा राम्रोसँग प्रचारप्रसार र बजारीकरणको काम गर्नुपर्ने उनले बताइन् । आउने पर्यटकलाई पर्यटन व्यवसायीले सन्तुष्ट बनाउन सक्नुपर्ने पनि उनको भनाइ छ ।
‘आर्थिक मन्दीको असर विश्वभर नै छ । देशभित्र पनि बाटो घाटोको अवस्था राम्रो छैन । यस्तो बेलामा पर्यटनमा अनेकौं चुनौती छन्,’ बबिताले सुनाइन् । पर्यटन व्यवसायीले अनुभव गरे जसरी विदेशी पर्यटकको संख्यामा राम्रो सुधार हुन सकेको छैन । गत आर्थिक वर्षमा निकुञ्जमा घुम्नेमा आधाभन्दा बढी स्वदेशी छन् । कुल पर्यटकमध्ये १ लाख ७६ हजार ३ सय १६ नेपाली छन् । विदेशी पर्यटक १ लाख पनि छैनन् ।
निकुञ्जले नेपाली, सार्क र विदेशी पर्यटकको विवरण राख्छ । चितवन निकुञ्ज घुम्ने पर्यटकमा सार्क राष्ट्रभन्दा बाहिरका ९४ हजार ५० जना छन् । सार्क देशका ३६ हजार ४ सय ७१ जना छन् । कुनै बेला निकुञ्ज घुम्ने पर्यटकमा ६० प्रतिशतभन्दा बढी विदेशी हुन्थे । भूकम्प, नाकाबन्दी र कोरोनापछि विदेशी घट्दै गएका छन् ।
चितवन निकुञ्ज घुम्न सबैभन्दा धेरै आर्थिक वर्ष ०७१/७२ मा सार्कबाहेक पनि एक लाख २७ हजारसम्म विदेशी पर्यटक आएका थिए । ‘हामीले हाम्रो पर्यटकीय पहिचान पनि बचाउन आवश्यक छ । वन्यजन्तुमा आधारित पर्यटन चलाउने हो । निकुञ्ज र यस आसपासका वनजंगल, वातावरण पनि जोगाउनुपर्छ । पिकनिक, डान्स, होहल्ला र केवल मनोरञ्जन टाइपको गतिविधि बढाउन भएन,’ पर्यटन व्यवसायी गिरीले भने ।
चितवन निकुञ्ज चितवनसहित, नवलपरासी, मकवानपुर र पर्सा जिल्लासँग जोडिएको छ । सबैभन्दा बढी पर्यटकीय गतिविधि चितवनको सौराहामा छ । सबै क्षेत्रमा पर्यटन विस्तार गरी स्थानीयले लाभ लिने वातावरण बनाउन चितवन माडी पाण्डवनगरमा होमस्टे चलाएका बोटे समुदायका अगुवा जगनारायण बोटेले बताए ।
चितवन निकुञ्ज घुम्न आउने पर्यटकले जिप सफारी, हात्ती सफारी, डुंगा सफारी र अनुभवी नेचर गाइडलाई साथ लिएर पैदलै जंगल डुल्नेजस्ता गतिविधि गर्छन् । निकुञ्जभित्र हात्ती सफारी हुँदैन । निकुञ्ज आडको मध्यवर्ती वनहरूमा मात्रै हात्ती सफारी हुने गरेको छ ।
जिप सफारी निकुञ्जभित्र र मध्यवर्ती सामुदायिक वनमा हुने चितवनको प्रमुख पर्यटकीय गतिविधि हो । निकुञ्जभित्र सौराहादेखि पश्चिम एकतर्फी मात्रै जिप सफारीको रुट भएका कारण भीडभाड बढेको र पर्यटन र जीव जनावरहरूलाई पनि असर परेको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीको भनाइ छ । तसर्थ चितवन निकुञ्जले सौराहा हुँदै निकुञ्ज भित्रभित्रै पूर्व जाने जिप सफारी रुट बनाउन लागेको पनि निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जनाए ।
