टेक अर्बपतिहरूको सहयोगले राजनीतिमा चम्किएका जेडी भान्स 

श्रावण ३, २०८१

कान्तिपुर संवाददाता

J.D. Vance shines in politics with the help of tech billionaires

काठमाडौँ — अमेरिकी राजनीतिमा अत्यन्तै तीव्र गतिमा विकसित घटनाक्रमका बीच अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उपराष्ट्रपति पदमा ओहायोका सिनेटर जेडी भान्सलाई घोषणा गरे ।

७८ वर्षीय ट्रम्पले घोषणा गरेका भान्स उनीभन्दा आधा उमेर अर्थात ३९ वर्षीय हुन् । सन् २०२२ यतामात्रै राजनीतिमा आएका ओहायो सिनेटर भान्सलाई ह्वाइट हाउसको दाबेदार बनाउन सिलिकन भ्यालीको ठूलो भूमिका रहेको विश्लेषकहरूले बताएका छन् ।

कुनै बेला सार्वजनिक रूपमै पूर्वराष्ट्रपति ट्रम्पको कटु आलोचना गर्ने र उनलाई 'अमेरिकाको हिटलर' भनेका भान्स सन् २०१६ मा प्रकासित आफ्नो आत्मकथा चर्चित भएपछि सफलताको मार्गमा लागेका थिए । सन् २०१३ मा येल कानुन विद्यालयबाट स्नातक पूरा गरेपछि सान फ्रान्सिस्को पुगेर मिथ्रिल क्यापिटल नामक भेन्चर फर्ममा काम गरेका थिए । सो कम्पनीमा झन्डै १.३ अर्ब अमेरिकी डलर जुटाउन सहयोग गरेपछि उनले चर्चित अमेरिकी व्यवसायी स्टिभ केसको रिभोलुसन नामक कम्पनीमा प्रबन्ध निर्देशकको रूपमा काम गरेका थिए ।

सो क्रममा अमेरिकी प्रविधि क्षेत्रमा सक्रिय लगानी गर्ने नयाँ रणनीति लागू गर्न नेतृत्व गरेका उनले आटमन, एपहार्भेस्ट जस्ता प्रविधि स्टार्टअपहरूलाई पनि सहयोग गरेका थिए । सन् २०१९ ताका आफ्नै भेन्चर क्यापिटल फर्म शुरू गरेका उनले मिथ्रिलका आफ्ना पूर्व हाकिम पिटर थेल, ट्रम्पसँग रिपब्लिकन उम्मेदवार बन्न प्रतिस्पर्धा गरेका बायोटेक उद्यमी विवेक रामास्वामी, मार्क एन्डरसन, एरिक स्मिड्टलगायत व्यवसायीहरूको सहयोगमा झन्डै १०० मिलियनभन्दा बढी पुँजी जम्मा गर्न सफल भएका थिए । पहिले ट्रम्पलाई आलोचना गर्ने भान्स सन् २०२०को राष्ट्रपतीय निर्वाचनसम्म आइपुग्दा सिलिकन भ्यालीले ट्रम्पलाई सघाउनुपर्छ भन्ने प्रमुख प्रवक्ता बनेका थिए । 

J.D. Vance shines in politics with the help of tech billionaires

तस्बिर स्रोत: एक्सियोस डट कम

भारतीय आप्रवासीहरूको सन्तान रहेकी उषा चिलुकुरीसँग विवाह गरेपछि भान्सले ओहायो फर्केर आफ्नो भेन्चर क्यापिटल व्यवसायलाई निरन्तरता दिएका थिए । सन् २०२२ मा ओहायो राज्यको तर्फबाट सिनेटमा निर्वाचित हुने अभियान शुरू गर्दा उनलाई सिलिकन भ्यालीकै पुराना मित्र पिटर थेलले १ करोड डलर सघाएका थिए । त्यो बेला सिलिकन भ्यालीका अन्य टेक धनाढ्यहरूको सद्भाव पनि भान्सलाई प्राप्त भयो । ट्रम्पको बारेमा आफ्ना अघिल्ला आलोचनाहरूमा माफी मागेका भान्स पछिल्लो समय ट्रम्पको नीतिका सबैभन्दा ठूलो समर्थक बनेर देखा परेका छन् । सिलिकन भ्यालीका धनाढ्य इलन मस्कले समेत भान्सको सार्वजनिक रूपमै प्रशंसा गर्ने गरेका छन् । नर्थ डकोटाका गभर्नर डग बर्गम र अर्का अमेरिकी सिनेटर मार्को रुबियोलाई पछि पार्दै उनी ट्रम्पको उपराष्ट्रपति उम्मेदवार बन्न सफल भएका हुन् । 

केही दिनअघिको गोली प्रहार घटनापछि मस्कसँगै विभिन्न प्रविधि र भेन्चर क्यापिटल क्षेत्रका धनाढ्यहरूले खुला रूपमै ट्रम्प अभियानलाई सघाउने घोषणा गरिसकेका छन् । सिलिकन भ्यालीबाट उठेर अमेरिकाको दोस्रो ठूलो पदमा दाबेदारीपछि भान्सलाई सघाउने टेक धनाढ्यहरू बढ्ने निश्चितजस्तै छ ।

मस्कले झन्डै ४५ मिलियन अमेरिकी डलर प्रतिमहिना ट्रम्प-भान्स अभियानमा दिने घोषणा गरेका छन् । क्रिप्टो धनाढ्य विंकलभस दाजुभाइ, डेटा एनालेटिक्सका पलान्टिर लन्स्डेल, सेक्वा क्यापिटल्सका डग लेओन लगायतको समूहले सो अभियानका लागि ८ मिलियन अमेरिकी डलर उठाएको घोषणा गरेका छन् । झन्डै अढाइ लाख बराबरको बिट्क्वाइन आफूसँग रहेको घोषणा गरेका भान्सलाई ट्रम्पले उपराष्ट्रपति उम्मेदवार छनोट गरेपछि  क्रिप्टो क्षेत्रमा पनि तरंग पैदा भएको एनपीआरको विश्लेषणमा उल्लेख छ । 

एआई क्षेत्रमा नियमन र कर लगायतका विषयमा छलफल चल्दै गर्दा सोही क्षेत्रका जानकार भान्सलाई सिलिकन भ्यालीले सघाउने सहजै अनुमान गर्न सकिने जानकारहरूको आँकलन छ । कानुनी झमेलाका क्रममा सयौं मिलियन डलर तिर्नुपरेको बेला पनि सिलिकन भ्यालीका प्रविधि धनाढ्यहरूले उदारतापूर्वक ट्रम्पलाई नगद सहयोग गरेका थिए ।

सिलिकन भ्याली पूर्णतया ट्रम्पको समर्थनमा नभए पनि दक्षिणपन्थी र पुरातनवादी सोच राख्ने प्रविधि धनाढ्यहरूकै सहयोगले भान्सको यो द्रुत राजनीतिक प्रगति संभव भएको न्युयोर्क टाइम्सका प्रविधि विश्लेषक र्‍यान म्याक र थियोडर स्नाइफरले लेखेका छन् । 

कान्तिपुर

Link copied successfully