तुसारपानी–तिंकर सडकको ट्र्याक ४० महिनामा १२ किमि मात्र

पर्याप्त बजेट व्यवस्थापन हुन नसक्दा सीमा–नाका जोड्ने सडकमा ट्र्याक खोल्न समस्या

जेष्ठ २६, २०८१

विमल खतिवडा

Tusarpani-Tinkar road track only 12 km in 40 months

काठमाडौँ — दार्चुला–तिंकर सडकको तुसारपानी–तिंकर खण्डको ७९ किमिमा नेपाली सेनाले ट्र्याक खोलिरहेको छ । यसको ट्र्याक खोल्ने जिम्मा सेनाले ०७७ माघ २८ मा लिएको हो । निर्माणको जिम्मा लिएको ४० महिना पुग्दा १२.७२ किमि मात्र ट्र्याक खोलिएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा लक्ष्यअनुसार सडकको ट्र्याक खोल्न नसकिएको सेनाले जनाएको छ । 

यो सडक नबन्दा सर्वसाधारणले सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाङरु, लिपुलेक, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपरेको छ । यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म ४२५ किमि छ । यसमा अप्ठ्यारो चट्टानसहितको खण्डमा ट्र्याक खोल्ने काम सेनाले पाएको हो । सेनाले आर्थिक वर्ष ०८८/८९ भित्र ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ । आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यमा महाकाली करिडोरअन्तर्गत दार्चुला–तिंकर सडकको विषय नउठेपछि पूर्वमन्त्री एवं सांसद दिलेन्द्रप्रसाद बडूले अर्थमन्त्री वर्षमान पुनलाई संसद्मा बजेट नराख्नुको कारण सोधेका थिए । 

‘यो सडकबारे बजेटमा किन आउन सकेन,’ उनले केही दिनअघि अर्थमन्त्री पुनलाई प्रश्न गर्दै भने, ‘यसमा मन्त्रालयगत बजेटमा के कति आस गर्न सकिन्छ ?’ उनको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले दार्चुला–तिंकर सडकमा भौतिक पूर्वाधार तथा यातायात म मन्त्रालयमार्फत बजेट व्यवस्थापन गरिएको बताए । ‘राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताप्राप्त सडकमा सरकारले स्रोत र जनशक्तिको अभाव हुन दिएको छैन,’ उनले भने, ‘त्यसमा पनि यो रणनीतिक महत्त्वको सडक हो, यसमा सरकारको ध्यान पुगेको छ ।’ न्यून बजेटले गर्दा लक्ष्यअनुसार ट्र्याक खोल्न नसकिएको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जनाए । ‘प्रत्येक वर्ष साढे दुई किमिदेखि ३ किमिसम्म नयाँ ट्र्याक खोलेर स्तरोन्नति गर्ने गरिएको छ,’ उनले भने, ‘०८०/८१ को लक्ष्यअनुसार धेरै काम भइसकेको छ । तर बजेट विनियोजन पर्याप्त भएको छैन ।’ 

धेरै बजेट पाए काम पनि धेरै हुने केसीको भनाइ छ । चालु आर्थिक वर्षमा यस आयोजनाका लागि १४ करोड १९ लाख रुपैयाँ विनियोजन भएको छ । ‘भौगोलिक जटिलता छ, छिटो काम गर्नुपर्ने ठाउँमा बजेट कम छ,’ केसीले भने, ‘वार्षिक ६० करोड हाराहारी बजेट पाउन सके एक वर्षमा १५ किमिसम्म ट्र्याक खोल्न सकिन्थ्यो ।’ हरेक वर्ष ३ किमि ट्र्याक मात्र खोल्दा तोकिएको लक्ष्य भेटाउन कठिन हुने उनको भनाइ छ । ‘यो सडकको महत्त्व छुट्टै छ, यस क्षेत्रमा कतिपय ठाउँमा भारत भएर नेपाल पुग्नुपर्ने बाध्यता छ,’ केसीले भने, ‘यो सडक खुले आफ्नै भूमि भएर जान सकिन्छ ।’ भारत र चीनसँग जोडिएकाले यसको रणनीतिक महत्त्व रहेको उनले बताए । 

Tusarpani-Tinkar road track only 12 km in 40 months

‘यसमा बजेट र स्रोतसाधन पर्याप्त हुनुपर्छ,’ केसीले भने, ‘भौतिक मन्त्रालयअन्तर्गत नै बजेट आउने गरेको छ, आवश्यकताअनुसार बजेट उपलब्ध भए लक्ष्य हासिल गर्न समस्या छैन ।’ सेनाले ट्र्याक खोलेर यस सडक चौडा पार्ने काम मात्र गर्नेछ । आयोजना सुरु भएयता १६.१० प्रतिशत मात्र भौतिक प्रगति छ । ‘आगामी आर्थिक वर्षका लागि कति बजेट छुट्याइएको छ, थाहा छैन,’ केसीले भने, ‘विगतका वर्षहरूको भन्दा बढाएर छुट्याए कामको प्रगति बढ्थ्यो ।’ 

दार्चुलाको व्यास गाउँपालिका–३ स्थित तुसारपानी र आतुङ्गतीमा सेनाले काम गरिरहेको छ । समग्र आयोजनाको सुरु बिन्दु भने दार्चुलाको सदरमुकाम खलंगा (महाकाली नगरपालिका ५) बाट सुरु भई आयोजनाको अन्तिम बिन्दु नेपाल र चीनबीचको सिमाना व्यास गाउँपालिका–१ स्थित तिंकर भन्ज्याङसम्म छ । सेनाले आर्थिक वर्ष ०८८/८९ भित्र ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ । नेपाली सेनाको जिम्मामा देशभर करिब आधा दर्जन सडक निर्माण भइरहे पनि भौगोलिक जटिलताका कारण धेरैजसोको काम तोकिएकै समयमा पूरा नहुने देखिएको छ । 

सडक विभागले निर्माण गर्न नसकेका अप्ठ्यारो सडक खण्डको जिम्मा सेनालाई दिइएको हो । अहिले सेनाको जिम्मामा २७४.५३७ किमि सडक निर्माण जारी छ  । उत्तर–दक्षिण कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडकको दूरी १६२ किमिमध्ये १०.५१ किमि खण्डको जिम्मा सेनालाई दिइएको छ । च्याम्ताङ–घोङघ्पा खण्डका लागि चालु आर्थिक वर्षमा ९ करोड ९८ लाख रुपैयाँ विनियोजन भएको छ । अहिलेसम्म ८.१० किमि ट्र्याक खोल्ने काम सकिएको छ । 

Tusarpani-Tinkar road track only 12 km in 40 months

सेनाले जिम्मा लिएको अर्को सडक हो, बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ । धादिङको बेनीघाटदेखि गोरखाको लार्केपाससम्मको कुल दूरी १५४ किमि छ, जसमध्ये अप्ठ्यारो खण्ड ९२ किमि हो । त्यही अप्ठ्यारो खण्डमा ट्र्याक खोल्ने काम भइरहेको सेनाले जनाएको छ । सेनाका अनुसार अहिलेसम्म यो खण्डमा ३७.५० किमि ट्र्याक खोल्ने काम सकिसकेको छ । आर्थिक वर्ष ०८६/८७ भित्र बाँकी ५५ किमि सडकको ट्र्याक खोल्ने काम सेनाले सक्नुपर्नेछ । हावाडाँडादेखि लार्केभन्ज्याङ खण्डमा सेनाले काम गरिरहेको हो ।

‘सेनाले ट्र्याक खोल्ने जिम्मेवारी पाएका सबै सडक चीनसँग सीमा जोडिने सडक हुन्,’ सैनिक प्रवक्ता केसीले भने, ‘अप्ठ्यारो भीरमा सेनाले काम गरिरहेको छ । छिटो काम सक्न सबै सडकमा बजेटको अभाव हुनु भएन ।’ हुम्ला सदरमुकाम सिमकोटलाई भने सेनाले ट्र्याक खोलेर राष्ट्रिय सडक सञ्जालमा जोड्न सफल भएको छ । कालीकोटको खुलालुदेखि सिमकोट हुँदै हिल्सासम्मको कर्णाली करिडोरको दूरी २६९ किमि छ । यसमध्ये २४६ किमि सडक विभाग र २२.५ किमिमा सेनाले काम गरेको हो ।

हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकाको बीचमा ठूला चट्टान भएकाले त्यहाँ सेनाले काम गरेको हो । हुम्लाको लालीबगर–दुल्लीकुना खण्ड ११ र कालीकोट–बाजुरा जोड्ने घाटपारीचौर–भुक्काखोला खण्ड ११.५ किमिमा कडा चट्टानसहितको पहाड भएकाले त्यहाँ काम गर्ने जिम्मेवारी सेनाले पाएको हो ।लालीबगर–दुल्लीकुना खण्ड ११ किमि ट्र्याक खोलेर सडक चौडा पार्ने काम भइरहेको छ । घाटपारीचौर–भुक्काखोला खण्डमा ११.५ किमिमध्ये ४.४० किमि सडकको ट्र्याक खोल्ने काम सकिएको छ । चीनको सीमा क्षेत्र हिल्साबाट सिमकोटसम्म ९५ किमि सडकको ट्र्याक भने पहिल्यै खोलिसकिएको छ ।

Tusarpani-Tinkar road track only 12 km in 40 months

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully