हुन्डी र तस्करी कारोबारमा संलग्न भेटिएपछि ‘पेवेल’ र ‘सजिलो पे’ को खाता रोक्का

जेष्ठ २१, २०८१

कान्तिपुर संवाददाता

Accounts of 'Paywell' and 'Sajilo Pay' were suspended after being found involved in hundi and smuggling business

काठमाडौँ — हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु 'पेवेल नेपाल प्रालि' र 'सजिलो पे मेमेन्ट सर्भिसेज प्रालि'को बैंक खाता रोक्का गरेको छ । सोमबार सूचना निकालेर राष्ट्र बैंकले ती कम्पनीहरुको सबै बैंक खाता रोक्का गरेको हो ।

‘यस बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल प्रालि, अनामनगर, काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि, बालुवाटार, काठमाडौंबाट भैरहेका कारोबारहरु नियामकीय अनुपालनासम्बन्धी छानबिनको क्रममा रहेका छन,’ राष्ट्र बैंकले भनेको छ, ‘यसकारण उपर्युक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

राष्ट्र बैंक स्रोतका अनुसार यी संस्थाबाट भएको कारोबार निकै शंकास्पद रहेको, हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न रहेकोलगायत कारण अनुसन्धान पुरा नभएसम्मका लागि बैंक खाता कारोबार रोक्न निर्देशन दिइएको हो ।

‘प्रारम्भिक अनुसन्धानमा ती संस्थाहरुबाट निकै शंकास्पद कारोबारहरु भएको, एकै व्यक्तिको खाताबाट करोडौं रुपैयाँको कारोबार भएको देखिएको छ,’ स्रोतले भन्यो । 

कान्तिपुर

Link copied successfully