श्रमाधान मेलामा स्वास्थ्य शिविर

जेष्ठ १८, २०८१

कान्तिपुर संवाददाता

Health camp at Shramadahan Mela

काठमाडौँ — नेपाल स्वास्थ्य व्यवसायी महासंघले सातै वटा प्रदेशमा आयोजना भइरहेको श्रमाधान रोजगार मेलामा स्वास्थ्य शिविर राखेको छ । शिविरमा स्वास्थ्य परीक्षण हुनुको साथै निशुल्क औषधि वितरण भइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजागर प्रवर्धन र सुरक्षित वैदेशिक रोजगारीको सूचना प्रवाह गर्न जेठ १७ गते कोशीबाट  श्रमाधान रोजगार मेला सुरु गरेको हो । कोशीबाट सुरु भएको यो मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । कोशीमा भएको शिविरमा दुईसय जनाको परीक्षण भएको छ ।  

यो मेला जनकपुर (१९–२०), पोखरा (२१–२२), वुटवल २३–२४), धनगढी (२५–२६), सुर्खेत (२७–२८) र ललितपुर (२९–३०)मा हुदैछ । स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काका अनुसार डा. पर्शुराम घिमिरेको नेतृत्वमा ७ वटै प्रदेशमा चिकित्सकको टोली खटाइएको छ ।

शिविरमा महासंघका पदाधिकारी र केन्द्रीय सदस्य रहेका छन् । ‘शिविरमा निशुल्क स्वास्थ्य परीक्षण हुनुको साथै औषधि वितरण भइरहेको छ,’ अध्यक्ष खड्काले भने,‘वैदेशिक रोजगारको लागि गर्नुपर्ने स्वास्थ्य परीक्षणबारे पनि सूचना दिइरहेका छौँ ।’

मेलाको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम मन्त्री डोलप्रसाद अर्याल, श्रम सचिव घनश्याम उपाध्याय, कोशीका मुख्यमन्त्री हिक्मत कार्की लगायतकाले शिविर अवलोकन गरेका थिए ।

कान्तिपुर

Link copied successfully