जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान केही घट्ने 

जेष्ठ १३, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सूचना तथा सञ्चार क्षेत्रको योगदान केही घट्ने देखिएको छ । गत आव २०७९/८० मा यस्तो योगदान १.९६ प्रतिशत रहेकोमा चालु आवमा १.९४ प्रतिशत ‍रहने अनुमान गरिएको छ । 

तथापि, चालु आर्थिक वर्ष सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि भने बढ्ने अनुमान गरिएको ‍छ । गत आव २०७९/८० मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.१५ प्रतिशतले वृद्धि भएको थियो । चालु आवमा यस्तो वृद्धिदर ४.९१ प्रतिशत पुग्ने आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८०/८१ को अनुमान छ । 

कम्प्युटर प्रोग्रामिङ तथा सूचना सेवाका क्रियाकलापमा भएको वृद्धि र इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चारमा भएको वृद्धिका कारण कुल मूल्य अभिवृद्धि बढ्ने सर्वेक्षणले जनाएको छ ।

पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत २.२७ प्रतिशत र वृद्धिदर ५.४१ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully