बाख्रा पालनमा जमेकी गंगा

 तीन वर्षअघि तीन वटा बाख्राबाट व्यवसाय सुरु गरेकी उनको फर्ममा ३२ बाख्रा हुर्किंदै

वैशाख ६, २०८१

केदार शिवाकोटी

Ganges frozen in goat rearing

दोलखा — श्रीमान् वैदेशिक रोजगारीमा गएका बेला २०७२ सालमा आएको भूकम्पले अल्पसंख्यक थामी समुदायकी गंगा थामीको घर तहसनहस बनायो । सरकारले दिएको अनुदान र श्रीमान्ले विदेशबाट पठाएको रकमले बल्लतल्ल उनले घर बनाइन् । कमाएको सबै रकम घर बनाउनमै सकिएपछि रित्तो हात घर फर्किए गंगाका श्रीमान् चन्द्रमान पनि । गाउँ फर्किएपछि उनले ज्यालामा काठको काम गरे । 

भीमेश्वर नगरपालिका–१ सुस्पाकी अल्पसंख्यक थामी समुदायकी गंगाले भने बाख्रा पालेर केही रकम जोहो गर्ने सोच बनाइन् । उनलाई पशुपालनमा लगानी गर्दै आएको हाम्रो जनकल्याण साकोसले तीन वर्षअघि दुईवटा बाख्रा र एउटा पाठा किन्नका लागि ३० हजार रुपैयाँ लगानी गर्‍यो । ३ वर्षमा उनले बाख्राको संख्या ३२ पुर्‍याएकी छन् । ३० हजारको पुँजी अहिले ७ लाख पुगेको छ । 

बाख्रा पालनलाई व्यावसायिक बनाउन आफ्नै नाममा फर्म दर्ता गरेर थोरै रकमबाट व्यवसाय सुरु गरेको गंगाले बताइन् । ‘श्रीमान्ले विदेशमा कमाएको सबै पैसा घर बनाउनमै सकियो,’ उनले भनिन्, ‘त्यसपछि ऋण काढेर विदेश जाने तयारी गर्छु भन्दै थिएँ, मैले यतै काम गर्नुपर्छ भनेर हौस्याएपछि उनी पनि अहिले यतै सक्रिय छन् ।’ 

आफूले पालेका पाठा बेचेर सुधारिएको खोर पनि बनाइसकेको गंगाले बताइन् । घाँसको समस्या समाधान गर्न उनले २ रोपनी जमिनमा घाँस खेती गरिरहेकी छन् । ‘आर्थिक अवस्था कमजोर भए पनि मिहिनेत गर्‍यो भने सफलता मिल्दो रहेछ,’ उनले भनिन्, ‘तर, लगन र इच्छाशक्ति भने हुनुपर्छ ।’ उनको फर्ममा अहिले जमुनापारी, बयरलगायत जातका बाख्रा छन् । यस वर्षबाट व्यावसायिक रूपमा खसीबोका बिक्री गर्न बजार पठाउने तयारीमा रहेको उनले सुनाइन् । ‘यस वर्ष कम्तीमा ८ देखि १० वटा खसी–बोका बजारमा बिक्रीका लागि पठाउने गरेकी छु,’ उनले भनिन्, ‘फर्मलाई स्तरोन्नति गरे केही वर्षमा ४ देखि ५ लाखका खसी–बोका बजारमा पुर्‍याउन सकिन्छ ।’

Ganges frozen in goat rearingउनको फर्मका बाख्रा चराउनेदेखि घाँसपात र बाख्राका लागि खोलेको व्यवस्थापन गंगा एक्लैले गर्दै आएकी छन् । अल्पसंख्यक थामी समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो सुस्पा । चरण क्षेत्र अभाव नभए पनि आर्थिक अवस्था कमजोर हुँदा गाउँमा अल्पसंख्यक समुदायका मानिस व्यावसायिक पशुपालनतर्फ आकर्षित भएको भेटिँदैनन् । गंगा भने थोरै लगानीमा फर्म नै दर्ता गरेर व्यावसायिक बाख्रा पाल्ने पहिलो महिला बनेकी छन् ।

सुस्पा क्षेत्रमा पशुपालन गर्छु भनेर कसैले माग गरेमा अल्पसंख्यक थामी समुदायलाई सहुलियतमा ऋण उपलब्ध गराउने योजना रहेको हाम्रो जनकल्याणका प्रबन्धक दीपक बस्नेतले बताए । अल्पसंख्यक थामी समुदायको जीवनस्तर सुधारका लागि यस क्षेत्रमा लगानी गरेर व्यावसायिक  बनाउन वडासँग समन्वय गरेर काम भइरहेको उनले बताए । ‘पशुपालन, कृषि र पर्यटन योजना बनाएर सामूहिक र व्यक्तिगत रूपमा आउनुपर्‍यो,’ उनले भने । 

केदार

Link copied successfully