क्यासिनोसँगै टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा

पछिल्लो समय रिसोर्टमा स्वदेशी तथा विदेशी पाहुना बढेका छन् 

चैत्र १७, २०८०

दीपेन्द्र बडुवाल

Tiger Palace Resort is fully operational along with the casino

भैरहवा — रुपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट क्यासिनोसहित शुक्रबारबाट पूर्ण सञ्चालनमा आएको छ । शुक्रबार साँझ पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरियो । यसअघि दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्ने गरी नयाँ व्यवस्थापनले क्यासिनोसँगै रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएको लगानीकर्ताले बताए । 

क्यासिनोको सुरुवातमा एक दजर्नभन्दा बढी भारतीय कलाकारले प्रस्तुति दिएका थिए । शुक्रबार साँझ रिसोर्टमा आयोजित क्यासिनोको ‘सफ्ट ओपेनिङ’ कार्यक्रममा स्वदेशी र विदेशी गरेर ५ सयभन्दा बढीको सहभागिता थियो । 

जिल्लामा पहिलो पटक वैदेशिक लगानीमा सात वर्षअघि पाँचतारे रिसोर्ट सञ्चालनमा आउँदा यहाँका लगानीकर्ता र पर्यटन व्यवसायी उत्साहित थिए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै वैदेशिक लगानीमा ठूलो होटल सञ्चालनमा आएपछि जिल्लाको हस्पिटालिटी क्षेत्रमा लगानी बढेको थियो । विदेशको झल्को दिने भौगोलिक बनावट र संरचना रहेको रिसोर्ट अवलोकनका लागि मुलुकभरबाट सर्वसाधारण आउँथे । यहाँ आउने पाहुनामा स्वदेशीसँगै विदेशीको संख्या उल्लेख्य हुन्थ्यो । अस्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत सिल्भर हेरिटेज ग्रुपले ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याएको थियो । व्यापारिक सफलतासँगै लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले पूर्वको झापा र सुदूरपश्चिममा नयाँ रिसोर्ट सञ्चालनको तयारी गरेको थियो । 

‘त्यही बेला रिसोर्टको जग्गा र आन्तरिक विवाद उत्कर्षमा पुग्यो,’ जिल्लाका एक पर्यटन व्यवसायीले भने, ‘मुलुकको राजनीतिक अस्थिरता, मजदुर संघर्ष र लगानीकर्ताबीच बेमेलले समस्या सिर्जना भयो ।’ आन्तरिक मतभेद बढिरहेका बेला मुलुकमा कोरोना महामारी सुरु भयो । त्यसको असर पर्‍यो । लगानीकर्ताबीच विवाद बढ्दै गएपछि होटल र क्यासिनो बन्द हुन पुगे । समस्याग्रस्त भएर थेग्न नसक्ने अवस्थापछि लगानीकर्ता कम्पनीले रिसोर्ट बिक्रीका लागि प्रयास थाल्यो । एक वर्षसम्म धेरै व्यक्ति र कम्पनीले प्रयास गरे पनि रिसोर्टको जग्गा विवाद र मजदुर समस्याका कारण खरिदबिक्री सम्झौता पूर्ण भएनन् । 

खिचातानीको बीचमा अमेरिकाको डेलावेयरमा दर्ता रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सिल्भर हेरिटेज कम्पनी खरिद गर्ने निर्णय गर्‍यो । खरिदबिक्री सम्झौतासँगै सिल्भर हेरिटेजका नाममा रूपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्ट र क्यासिनो, झापास्थित १२ बिघा जमिन, काठमाडौंको सांग्रिला होटलमा सञ्चालनमा रहेको मिलेनियर क्लब क्यासिनो हिमालय टाइगर इन्भेस्टमेन्ट इंकको स्वामित्वमा आयो । 

‘डुब्न लागेको गहना (रिसोर्ट) किनेर हामीले उकासेका छौं,’ टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले भने, ‘सुरुमा यसमा देखिएका चुनौती स्वीकार गर्ने कोही भएन, खरिदको प्रयास गरेर छाड्ने धेरै भए । तुरुन्त रेस्क्यु नगरे सम्पत्ति खेर जाने अवस्थामा थियो ।’ आफ्नो कम्पनीले खरिद गरेपछि रिसोर्टका ९० प्रतिशत समस्या समाधान भइसकेको उनले बताए । 

दीपेन्द्र

Link copied successfully