गैरबैंकिङ वित्तीय संस्थाबाट मात्र ९ खर्ब ऋण

गत असगसम्म समग्र वित्तीय क्षेत्रबाट प्रवाह भएको ५७ खर्ब ९४ अर्ब ७६ करोड कर्जामध्ये गैरबैंकिङ संस्थाको ९ खर्ब

चैत्र ६, २०८०

यज्ञ बञ्जाडे

9 billion in loans from non-banking financial institutions only

काठमाडौँ — अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाबाहेक गैरबैंकिङ वित्तीय संस्थाबाट मात्र ८ खर्ब ९१ अर्बभन्दा बढी कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । सोमबार सार्वजनिक ‘वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण’ले गत असारसम्म गैरबैंकिङ वित्तीय संस्था (बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदि) बाट मात्र करिब ९ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखाएको हो । 

यसअघि राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको वित्तीय क्षेत्रका तथ्यांकहरूमा बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) को कारोबार मात्र समावेश हुँदै आएको थियो । तर राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था, बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सहकारी आदि) बाट प्रवाह भएको वित्तीय कारोबारको तथ्यांक समावेश गर्न सकेको थिएन । तर अहिले राष्ट्र बैंकले पहिलो पटक वित्तीय क्षेत्र (बैंक तथा वित्तीय संस्था) र अन्य वित्तीय संस्था (बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदि) को कारोबार पनि समावेश गरेर पहिलो पटक एकीकृत तथ्यांक सार्वजनिक गरेको हो । सर्वेक्षणमा सम्झौतित बचत परिचालन गर्ने बिमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल पूर्वाधार विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लघुवित्त वित्तीय संस्था जस्ता गैरबैंकिङ वित्तीय संस्थाको वासलातलाई एकीकृत गरेर अन्य वित्तीय संस्था सर्वेक्षण तयार पारिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । 

‘यद्यपि पर्याप्त तथ्यांक उपलब्ध नहुँदा सर्वेक्षणमा सहकारी संस्थाहरूको वित्तीय कारोबारको विवरण संकलन हुन सकेको छैन,’ श्रेष्ठले भने, ‘लघुवित्त, बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत वित्तीय कारोबार गर्ने गैर–बैंकिङ र बैंकिङ संस्थाहरूको कारोबारको एकिकृत तथ्यांक संकलन गरिएको छ ।’ 

उल्लिखित संस्थाहरूले वित्तीय कारोबार (बचत संकलन र कर्जा प्रवाह) गर्दै आए पनि ती संस्थाहरू बैंक तथा वित्तीय संस्था होइनन् । यसकारण न त ती संस्थाको प्रत्यक्ष नियमन हुँदै आएको छ, न तिनको कारोबार वित्तीय कारोबारमा समावेश हुँदै आएको थियो । ती संस्थाहरूको तथ्यांक समावेश नगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मात्र कारोबार सार्वजनिक गर्दा समग्र वित्तीय क्षेत्रको चित्र आउन नसकेको आरोप राष्ट्र बैंकलाई लाग्दै आएको थियो । यसकारण पनि अहिले राष्ट्र बैंकले बैंकिङ र गैरबैंकिङ क्षेत्र (सहकारी बाहेक) को एकीकृत तथ्यांक सार्वजनिक गरेको हो । 

सर्वेक्षणका अनुसार गत असारसम्म समग्र वित्तीय क्षेत्रले निजी क्षेत्रमा प्रावह गरेको कर्जा (वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी) ५७ खर्ब ९४ अर्ब ७६ करोड छ । ०७९ असार मसान्तमा यस्तो कर्जा ५५ खर्ब २० अर्ब ९ करोड थियो । वित्तीय क्षेत्रको यस्तो दाबी ०७८ असार मसान्तमा ४८ खर्ब २१ अर्ब ८८ करोड र ०७७ असार मसान्तमा ३८ खर्ब २७ अर्ब १२ करोड थियो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाबाट भएको कर्जा प्रवाह ४८ खर्ब ७९ अर्ब थियो । यसका आधारमा गत असारसम्म गैरबैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा करिब ९ अर्ब रहेको विश्लेषण गरिएको हो । 

‘वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थानमाथिको दाबी ०७९ असार मसान्तमा ३२ अर्ब ४४ करोड २९ लाख रहेकामा ०८० असार मसान्तमा ३२ अर्ब ४४ करोड २४ लाख छ,’ सर्वेक्षणमा भनिएको छ, ‘वित्तीय क्षेत्रको यस्तो दाबी ०७८ असार मसान्तमा ३५ अर्ब ८२ करोड र ०७७ असार मसान्तमा ३६ अर्ब ७२ करोड थियो ।’ 

गत असारसम्म समग्र वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ छ । ०७९ असारको तुलनामा यो साढे २४ प्रतिशतले बढी हो । ०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब ६४ करोड थियो । ‘वित्तीय क्षेत्रको यस्तो सम्पत्ति ०७८ असारमा १३ खर्ब ७० अर्ब ५२ करोड र ०७७ असारमा १३ खर्ब २६ अर्ब ३४ करोड थियो,’ सर्वेक्षणमा भनिएको छ, ‘वित्तीय क्षेत्रको आन्तरिक दाबी ०७९ असारमा ६३ खर्ब ०५ अर्ब ८१ करोड रहेकामा ८.६ प्रतिशतले वृद्धि भई ०८० असार मसान्तमा ६८ खर्ब ५० अर्ब ३० करोड पुगेको छ ।’ वित्तीय क्षेत्रको यस्तो दाबी ०७८ असारमा ५४ खर्ब ५३ अर्ब र ०७७ असार मसान्तमा ४३ खर्ब २९ अर्ब १० करोड थियो । 

गत असारसम्म गैर बैंकिङ वित्तीय संस्थाहरूबाट मात्र ८ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप (बचत) परिचालन भएको सर्वेक्षणले देखाएको छ । यसअनुसार वित्तीय क्षेत्रको तरल दायित्व ०७९ असार मसान्तमा ४८ खर्ब १८ अर्ब ४ करोड रहेकामा ११.६ प्रतिशतले बढेर ०८० असारसम्ममा ५३ खर्ब ७८ अर्ब ४२ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दायित्व ०७८ असारमा ४५ खर्ब ५४ 

अर्ब १९ करोड र ०७७ असारमा ३७ खर्ब ४७ अर्ब ५४ करोड थियो । ‘वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा ०७९ असारमा ५ खर्ब २ अर्ब ७६ करोड रहेकामा १.१ प्रतिशतले बढेर ०८० असारमा ५ खर्ब ८ अर्ब ३७ करोड पुगेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘वित्तीय क्षेत्रभन्दा बाहिर रहेको यस्तो मुद्रा ०७८ असार मसान्तमा ५ खर्ब ६६ अर्ब ९५ करोड र ०७७ असारमा ४ खर्ब ८५ अर्ब ६८ करोड थियो ।’ यद्यपि बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थाबाट हुने बचतको प्रकृति फरक हुने भएकाले कर्जा प्रवाह जस्तै निक्षेपको तथ्यांक निकाल्न अप्ठ्यारो हुने बताइएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully