ढुंगाखानीले दिएको रोजगारी

चैत्र ४, २०८०

महेश केसी

Employment provided by quarrying

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–८ सोतीमा रहेको ढुंगा खानी यहाँका धेरैका लागि रोजगारी र आम्दनीको माध्यम बनेको छ । प्राकृतिक रुपमै सयौं वर्षदेखि रहेको यो खानीमा बिभिन्न काम गरेर सर्वसाधारणले सजिलो गरी जीविका चलाइरहेका छन् । गाईरीका ६२ वर्षीय रत्नबहादुर पुन ३७ वर्षदेखि यो खानीमा ढुंगा निकाल्ने काम गरिरहेका छन् ।

चौरजहारी–८ सोतीमा रहेको ढुंगा खानीको ढुंगालाई आकार दिन व्यस्त स्थानीय मजदुर । तस्बिरः महेश केसी/कान्तिपुर
चौरजहारी–८ सोतीमा रहेको ढुंगा खानीको ढुंगालाई आकार दिन व्यस्त स्थानीय मजदुर । तस्बिरः महेश केसी/कान्तिपुर

आफ्ना बुवाबाजेबाट सिकेर गरेको यही काम आफ्नो परिवारको मूल आम्दनीको स्रोत भएको रत्नबहादुरले बताए । ‘२५ वर्षको हुँदा खानीमा पसेको म अहिलेसम्म पनि यही छु,’ उनले भने, ‘यही आएर काम सिकियो । अनि लगभग जिन्दगी पनि यही बित्यो ।’कुनैबेला झण्डै एक सय वटा खानी भएको यो ठाउँमा वर्षेनि घट्दै अहिले जम्मा ७ वटा खानी रहेको स्थानीय परान घर्तीले बताए । ‘पहिला पहिला त ढुंगा माथि नै देखिन्थे । अब त धेरै तलसम्म पुगेपछि मात्रै भेटिन्छन्,’ उनले भने, ‘हरेक बर्ष खानी अनि ढुंगा घट्दै गइरहेका छन् ।’ चौरजहारी–८ कै स्थानीयको निजी जग्गामा रहेको यो खानी करिब ३ हजार वर्गमिटरमा फैलिएको छ । खानीमा काम गर्ने मजदुरले निकालेको प्रति ढुंगा ४० देखि १ सय रुपैयाँसम्ममा स्थानीय ठेकेदारलाई बेच्ने गरेको बताउँदै रत्नबहादुरले ढुंगा बिक्रिको आधा चाही जग्गावालाले लिने बताए । दैनिक बिहान ७ देखि साँझ ५ बजेसम्म निरन्तर काम गर्ने बताउँदै उनीहरुले मासिक ३० देपख ५० हजार रुपैयाँसम्म आम्दनी गरिरहेको भनाई छ ।

चौरजहारी–८ सोतीमा रहेको ढुंगा खानीको ढुंगालाई आकार दिन व्यस्त स्थानीय मजदुर । तस्बिरः महेश केसी/कान्तिपुर
चौरजहारी–८ सोतीमा रहेको ढुंगा खानीको ढुंगालाई आकार दिन व्यस्त स्थानीय मजदुर । तस्बिरः महेश केसी/कान्तिपुर

‘शनिबार बाहेक हरेक दिन काम गर्छौं । प्रत्येक समासन्तमा महिनभरीको हिसाब हुन्छ,’ उनले भने, ‘यसबाट घरपरिवारको खर्चपर्च चलेको छ ।’ घरको छानादेखि मार्बलका रुपमा समेत प्रयोग गरिने यहाँको ढुंगालाई मेसिनबाट काटेपछि वास्तविक आकार र ढाँचा आउने कटिङ मिस्त्री धर्मबहादुर मल्लले बताए । ‘खानीबाट निकालेको ढुंगा किनेर ठेकेदारले नै हामीलाई काट्ने जिम्मा दिन्छन्,’ उनले भने, ‘एउटा ढुंगा काटेको १४ रुपैयाँ लिने गरेका छौं ।’ खाडलबाट उधिनेर निकालेको ढुंगा काट्दै आफ्ना बुवाबाजेले घरेलु हतियार प्रयोग गरेर काम गर्ने गरेका दिन सम्झिदै रत्नबहादुर भन्छन्, ‘बाहरुले काम गर्ने बेलासम्म र केही समय हामीले पनि सबै हाम हातैले गर्थ्यौं । अब त हातहतियार र काम गर्ने तवर तरिकामा सहजता आएको छ ।’ कुटो–कोदालोले खनेर खानीबाट ढुंगा निकाल्ने अनि हथौडाले फोरेर त्यसलाई आकार दिने गरेका पुराना दिनभन्दा अहिले धेरै सहजता आएको अर्का घर्ती बताउँछन् । ‘अहिले त डोजर लगाएर खानी उधिन्छौं अनि ढुंगा निकाल्न पहिलेभन्दा सजिलो हुन्छ ।’

चौरजहारी नगरपालिका–८ सोतीमा रहेको ढुंगा खानी । तस्बिरः महेश केसी/कान्तिपुर
चौरजहारी नगरपालिका–८ सोतीमा रहेको ढुंगा खानी । तस्बिरः महेश केसी/कान्तिपुर

यहाँको ढुंगालाई पोखरा, बुटवल र काठमाडौंसम्म जाने गरेको ठेकेदार मिश्रकुमार मल्लले बताए । हरेक बर्ष मंसिरदेखि जेठसम्म यहाँबाट ढुंगा निकाल्ने गरिएको छ । गत कात्तिक १७ को भूकम्पपछि भने स्थानीय स्तरमा माग घटेकाले सबै ढुंगा जिल्ला बाहिर नै पठाउने गरेको मल्लले बताए । ‘एक सिजनमा करिब साढे १ लाख जति ढुंगा निकालिन्छ । यहाबाट ट्रकमा लोड गरेर बाहिर पठाइन्छ,’ उनले भने, ‘यहाँबाट एक एक–वटाका दरले किनेर उता चाही स्क्वायर फिटका हिसाबले बिक्रि गरिन्छ ।’ यो खानीमा काम गरेर ढुंगा निकाल्ने, काट्ने र लोड गर्नेसम्मले रोजगारी पाएका छन् । तर पछिल्लो समय यो कामप्रति नयाँ पुस्ताको आकर्षण भने नरहेको स्थानीयको भनाई छ ।

चौरजहारी–८ सोतीमा रहेको ढुंगा खानीको ढुंगालाई आकार दिन व्यस्त स्थानीय मजदुर । तस्बिरः महेश केसी/कान्तिपुर
चौरजहारी–८ सोतीमा रहेको ढुंगा खानीको ढुंगालाई आकार दिन व्यस्त स्थानीय मजदुर । तस्बिरः महेश केसी/कान्तिपुर
Employment provided by quarrying

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully