सडक सीमा दुईतर्फी २५/२५ मिटरमा डिजाइन भए पनि दमौली र डुम्रे बजारका ‘राइट अफ वे’ का भौतिक संरचना २३/२३ मिटरको डिजाइनमा भत्काइँदै
तनहुँ — पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा घर भत्काउन सुरु गरिएको छ । सडक सीमाभित्र पर्ने केही घर भत्कनबाट जोगाउन राजमार्गको सीमा नै घटाइएको छ । ०२६ सालमा रेखांकन भएको पृथ्वी राजमार्गमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
चार लेनको सडक सीमा दुईतर्फी २५/२५ मिटरमा डिजाइन भए पनि दमौली र डुम्रे बजारका ‘राइट अफ वे’मा पर्ने भौतिक संरचना २३/२३ मिटरको डिजाइनमा भत्काउन थालिएको छ ।
नयाँ डिजाइनअनुसार दमौली र डुम्रे बजार क्षेत्रमा दुईतर्फी २३/२३ मिटरमा सडकको डिजाइन गरिएको मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जनाए । ‘सडकको सीमा २५/२५ मिटर नै हो । तर अहिले काम अगाडि बढाउन २३/२३ मिटरको डिजाइनमा काम गरिएको छ,’ उनले भने । भोलिका दिनमा सरकारले चाहे फेरि यी घर भत्काउन लगाई २५/२५ मिटर नै सडक सीमा कायम गरिने उनले बताए ।
‘सडक मिचेर बसेकाहरूले सडक सीमा खाली गरिदिनुपर्ने हो,’ उनले भने, ‘तर अहिले २५ मिटर सडक सीमा कायम गर्दा धेरै घर भत्कन्छन् र धेरै विवाद आउन सक्ने पनि देखिन्छ । जग्गाको मुआब्जामा पनि धेरै खर्च हुन्छ । त्यसैले अहिले जति जग्गा आवश्यक छ, त्यति खाली गराएर काम गरिरहने र पछि थप जग्गा आवश्यक परे २/२ मिटर जग्गा लिन मिल्ने गरी काम अगाडि बढाएका छौं ।’
डुम्रे र दमौली बजार क्षेत्रमा २१/२१ मिटरमा सडक बन्ने र २/२ मिटरमा नाला, फुटपाथ र विद्युत्का पोल हाल्ने गरी नयाँ डिजाइन भएको आयोजनाले जनाएको छ । दमौली बजार क्षेत्रमा करिब ७० घर भत्काउनुपर्नेमा ५० जनाले पहिलो किस्ता बुझेका छन्, बाँकी सम्पर्कमा रहेको बताइएको छ । यहाँका घरहरूको करिब ६ करोड रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । यस्तै डुम्रे बजार क्षेत्रका घरमा आठ घर भत्काउन बाँकी रहेको पूर्वी खण्डका इन्जिनियर पाण्डेले बताए ।
सरकारले सडक सीमा २३ मिटरभित्र पर्नेलाई मात्रै मुआब्जा दिएकाले यही मापदण्डअन्तर्गत पर्ने भौतिक संरचना भत्काइएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रको भनाइ छ । ‘स्थानीय निकाय, जिल्लाका जनप्रतिनिधिलगायत सरोकारवाला निकायलाई यस विषयमा गम्भीर भएर सडक सीमामा एकरूपता कायम गर्न हामीले अनुरोध गरेका थियौं,’ उनले भने, ‘बजार क्षेत्र र सडकलाई सुन्दर बनाइदिनुस्, व्यवस्थित होस्, अस्थिर नहोस्, अनिष्टमा बस्न नपरोस् । त्यसैले राजमार्गको सीमा २५ मिटर नै होस् भन्ने हाम्रो पनि चाहना हो । तर सडक सीमा २५ मिटर कायम गर्न सरकार नै तयार भएन ।’
राजमार्गको सडक सीमाभित्रका पुराना संरचना २३ मिटरभित्र रहेर भत्काउने र नयाँ बन्ने संरचनाको सीमा २५ मिटर नै हो भन्ने सरकारको निर्देशनअनुसार काम अगाडि बढाइएको मिश्रले बताए । एडीबीसँग ठेक्का लगाउँदैमा सहरी क्षेत्रमा २३ मिटरको सडक र ग्रामीण क्षेत्रमा ४१ मिटर गर्ने भनेर सहमति भएको र सोहीअनुसार काम भइरहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘सडक विस्तार गर्दा २३ मिटरभित्र पर्ने जग्गाको मुआब्जा दिइएको छैन । तर यो सीमाभित्र रहेका भौतिक संरचनाको मात्र मुआब्जा दिने गरी ठेक्का सम्झौता भएकाले त्यहीअनुसार गरिएको हो,’ मिश्रले भने, ‘सरकारले मुआब्जा दिनुपर्ने भएकाले हामीले जोड गरेर २५ मिटर नै भत्काउनू भन्न सकेनौं ।’
सडक सीमाभित्र पर्ने केही घर जोगाउन सीमा घटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्विकारे । ‘राजमार्गको मापदण्ड २५ मिटर नै हो,’ उनले भने, ‘तर २३ मिटर गर्दा केही घर जोगिने भएकाले डुम्रे र दमौली बजार क्षेत्रमा २३ मिटर बनाउने एक खालको समझदारी पहिले नै भएको रहेछ ।’ सडकको मापदण्ड २५ मिटर नै रहेको तर बजार क्षेत्रमा धेरै संरचना भएकाले भत्काउन पनि आनाकानी गर्ने, विभिन्न लफडा हुने भएकाले एउटा समझदारी गरी डुम्रे र दमौली बजारको हकमा २३ मिटर सडक सीमा बनाइएको रहेछ ।
मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ३२ किमि सडक कालोपत्र गरिएको छ । आयोजनाका अनुसार १२ किमि दुईतर्फी र ८ किमि एकतर्फी सडक कालोपत्र सकिएको छ । यस खण्डको भौतिक प्रगति करिब ५१ प्रतिशत छ । पूर्वी खण्डको कामका लागि ०७७ माघ १७ मा सम्झौता भई ०७८ वैशाख २ देखि काम सुरु भएको थियो । ०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकाको जामुने, शुक्लागण्डकी नगरपालिकाको हलेदी र कोत्रेमा कालोपत्रको काम भइरहेको पश्चिम खण्डका इन्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जनाए ।
