युएईमा रोजगार मेला : नेपालीको तलब बढाउनुपर्ने प्रस्ताव

फाल्गुन १९, २०८०

कान्तिपुर संवाददाता

Job fair in UAE: proposal to increase the salary of Nepalis

दुबई — नेपालले संयुक्त अरव इमिरेट्स (युएई)मा कार्यरत नेपाली श्रमिकको तलब बढाउनुपर्ने बिषयलाई उठाएको छ । वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दुबईमा आयोजित रोजगार मेलामा नेपाली श्रमिकलाई सामाजिक सुरक्षासहित न्यूनतम तलब बढाउनुपर्नेमा जोड दिइएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले युएईको श्रम बजारको माग अनुसार  सीपयुक्त जनशक्ति पठाउन रोजगारदातासँग सहकार्य गर्न तयार रहेको बताए । ‘युएईको निर्माण, स्वास्थ्य, घरेलु र सेवा क्षेत्रलाई आवश्यक पर्ने सीपयुक्त श्रमिक पठाउन नेपाल तयार छ,’ श्रम मन्त्री भण्डारीले भने,‘सीपयुक्त जनशक्ति उत्पादन सहकार्य गर्न हामी तयार छौं ।’

मन्त्री भण्डारीका अनुसार नेपाली श्रमिकलाई न्यायोचित भर्ना गर्न सकिने बाताबरण बनाइरहेको छ । ‘हामी श्रम बजारको माग अनुसार श्रमिक दिन सकिन्छ । रोजगारदाताले पनि श्रमिकको हित, सुरक्षा र कल्याणकारी बिषयको सुनिश्चिता गर्नुपर्छ,’ उनले भने । 

श्रम सचिव केवलप्रसाद भण्डारीले युएईमा काम गर्ने श्रमिकहरुले न्युनतम तलब नपाउनेदेखि उचित वासस्थानको अभाव रहेको बिषय उठिरहेको बताए । ‘केही महिना अघि युएईमा कोपको आयोजना भएको थियो । त्यसमा युएईमा काम गर्ने नेपाली श्रमिकको बिषय उठेको थियो । त्यसमा श्रमिकहरुले  पाइरहेको तलब न्युन छ । उचित वासस्थानको अभाव छ । श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभुतिको सुनिश्चिता छैन,’ उनले भने,‘युएईको समृद्धिमा नेपालीको योगदानलाई उचित ढंगले कदर गरिदिनुपर्छ ।’

Job fair in UAE: proposal to increase the salary of Nepalis

उनले श्रमिकको भर्ना प्रक्रियामा देखिएका समस्यालाई रोजगारदाता र म्यानपावर कम्पनी एकै ठाउँमा बसेर समाधान गर्नुपर्ने बताए । ‘श्रमिक भर्नाको प्रक्रियामा रोजगारदाता र म्यानपावरबीच केही खाडाल छन् । यस्तो खाडाललाई कमी गराउन रोजगार मेलाले काम गर्छ । रोजगारदातालाई चाहिएको श्रमिकको प्रकृति, दक्षता र कल्याणकारीसँग सम्बन्धी बिषयमा रोजगारदाता र म्यानपावरवीच छलफल गर्न एकठाउमा वस्नुपर्छ । त्यसको लागि नै यो फोरम प्रदान गरिएको हो,’ उनले भने । 

रोजगार मेलामा युएईका मानव संशाधान बिभागका प्रमुख अमिद आयासीले युएईले विश्वभरका आप्रवासी श्रमिकको लागि खुल्ला श्रम बजारको रुपमा बिकास गरिएको बताए । युएईका लागि नेपाली राजदुन तेजबहादुर क्षेत्रीले रोजगारदाता र म्यानपावर कम्पनीबीच सीधै सम्बन्ध स्थापित गर्न जरुरी रहेको बताए ।

नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले १७ बर्षपछि दुवईमा रोजगार मेला आयोजना गरिएको बताए । ‘रोजगारदाता र म्यानपावरकम्पनीवीच सिधै पहुँच नहुँदा बिचौलियाहरु हाबी देखिएको छन् । यसले श्रमिकले पाउने सेवासुबिधा देखि न्यायोचित भर्ना गर्न निकै कठिन वनाएको थियो । रोजगारदाता र श्रमिकवीचको सम्बन्धलाई वलियो वनाउनको लागि रोजगार मेलाले ठुलो मद्दत गरेको छ,’ उनले भने ।

रोजगार मेलामा ६४ जना म्यानपावर ब्यवसायीको स्टल छ । 

कान्तिपुर

Link copied successfully