सञ्चालनमा आयो ग्रेनाइट उद्योग, ७५ जनालाई रोजगारी
काठमाडौँ — शिलान्यास भएको साढे ५ वर्षपछि सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना भएको छ । गएको शनिबार लक्ष्मी ग्रेनाइट उद्योग स्थापना भई सञ्चालनमा आएपछि सिमरा सेजले औपचारिकता पाएको छ । ०७४ चैत १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिमरा सेज शिलान्यास गरेका थिए । तर बजेटको सुनिश्चतता नहुँदा सेजले प्राथमिकता पाएको थिएन । सेजमा उद्योग आइसके पनि यसको औपचारिक उद्घाटन भने बाँकी छ ।
बजेट आएपछि ठेकेदारले ढिलासुस्ती गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जनाए । विद्युत् सबस्टेसनका लागि पुनः बजेट अभाव भयो । सेजमा उद्योग आउन इच्छुक भए पनि पूर्वाधारकै कारण ढिलाइ भयो । सेज सम्पन्न भएको २ वर्ष बितिसक्यो । तर विद्युत्को सबस्टेसनका लागि बजेट आएन । सबस्टेसनका लागि ३५ करोड चाहिन्छ । यी समस्याका बाबजुत गत शनिबार लक्ष्मी ग्रेनाइट उद्योग औपचारिक रूपमा उद्घाटन भएपछि सेजले औपचारिकता पाएको हो ।
‘शनिबारदेखि विधिवत् रूपमा उद्योगको सुरुवात भयो । पहिलो उद्योग स्थापना भई उत्पादन सुरु गर्यौं,’ भट्टले भने, ‘करिब १८ करोड लगानी रहेको उद्योगमा वार्षिक ७५ करोडको निर्यात गर्ने सम्झौता भएको छ । ७५ जनाले रोजगारी पाएका छन् ।’ सिमरा सेजअन्तर्गत ८ सय ३३ बिघा जमिन रहेको प्राधिकरणले बताएको छ । पाँच वटा ब्लक छन् । ‘ए’ ब्लकअन्तर्गत ३ सय ४३ बिघा जमिन छ । यसमध्ये १ सय ६३ बिघामा २२ उद्योगको सम्झौता भएको जनाइएको छ । ‘ब्लक ‘ए’अन्तर्गत ६९ वटा प्लटमा २२ उद्योगसँग सम्झौता भएको छ ।
‘यी उद्योगले १० अर्ब लगानीको प्रतिबद्धता जनाएका छन्,’ कार्यकारी निर्देशक भट्टले भने, ‘२२ मध्ये ५ वटा विदेशी लगानीका हुन् ।’ विदेशी लगानीअन्तर्गत इलेक्ट्रिक सवारी एसेम्बल, टायल उद्योग, कस्मेटिक र ब्रान्डेड जुत्ताका उद्योग छन् । यीबाहेक गार्मेन्ट, कृषि प्रशोधन, मसलालगायत उद्योग पनि सञ्चालन हुने बताइएको छ । ‘६ वटाले उद्योग स्थापना गर्दै छन् । करिब ६ महिनाभित्र उद्योग सञ्चालनमा आउँछन्,’ उनले भने, ‘अन्य उद्योगमा पनि उद्योग दर्ता र वातावरणीय अध्ययन मूल्यांकन हुँदै छ । प्रतिवेदन बनेलगत्तै उद्योग स्थापना हुन्छ ।’
भट्टका अनुसार सिमरा सेजमा दुई वर्षभित्रै २२ उद्योगबाट स्थापना हुनेछन् । यसबाट २५ सय जनाले रोजगारी पाउने उनले बताए । उद्योग स्थापना भई चल्न थालेपछि एक वर्षमा २८ अर्बको वस्तु निर्यात गरिने भट्टको दाबी छ । उद्योगलाई आकर्षित गर्न विभिन्न सुविधा दिइएको छ । भाडादरकै कुरा गर्दा उद्योग स्थापना भएको पहिलो वर्ष प्रतिवर्गमिटर/प्रतिमहिना १० रुपैयाँ तिरे पुग्छ । दोस्रो वर्ष प्रतिमहिना प्रतिवर्गमिटर १२ रुपैयाँ, तेस्रो वर्ष १५ रुपैयाँ तिरे पुग्छ । चौथो वर्षदेखि ३० वर्षसम्म प्रतिमहिना २० रुपैयाँ तिरे पुग्ने उनले बताए ।
सिमराबाहेक भैरहवा सेजका लागि पनि सम्झौता र निर्माण कार्य तीव्र पारिएको प्राधिकरणले जनाएको छ । भैरहवामा शक्ति मिरल, स्टिल, पानीट्यांकी, प्लास्टिक, इलेक्ट्रिक भेहिकलका ब्याट्रीलगायतका ७ उद्योग सञ्चालनमा छन् । यी उद्योगमा ४ अर्ब लगानी र ४ सयले रोजगारी पाएको कार्यकारी निर्देशक भट्टको भनाइ छ । थप ४ वटा इलेक्ट्रिक भेहिकलको एसेम्बल, हर्बल प्रोसेसिङ, टायर, गार्मेन्ट गरी ४ उद्योग निर्माणका क्रममा छन् । ४ वटा उद्योगमा १ अर्ब लगानी छ । यीबाहेक ८ वटा नयाँ उद्योग लगाउने सम्झौता भएको छ । ती उद्योगमा पनि १ अर्ब लगानीको प्रतिबद्धता आएको भट्टले बताए । ‘भैरहवामा सेजमा ४ सयले रोजगारी पाएका छन् । छिट्टै थप १५ सयले रोजगारी पाउँछन्,’ उनले भने ।
सिमरामा ६७० बिघामा पीपीपी मोडलका उद्योग
सिमरा सेजभित्र रहेको ८ सय ३३ बिघामध्ये बाँकी ६ सय ७० बिघामा पीपीपी मोडलमा उद्योग स्थापना हुने भएको छ । पीपीपी मोडलमा सञ्चालन गर्न प्राधिकरण सञ्चालक समिति बैठकले निर्णय गरिसकेको छ । ‘पीपीपी मोडलका लागि प्रस्तावित फाइल तालुक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस भइसकेको छ,’ भट्टले भने, ‘मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्छ । मन्त्रिपरिषद्को निर्णयसँगै कार्यान्वयनमा जान्छ ।’ सेजका अनुसार ब्लक ‘ए’ अन्तर्गत नै १ सय ८३ बिघा जग्गा खाली छ । ब्लक ‘बी’ अन्तर्गत १ सय २८ बिघा, ब्लक ‘सी’ अन्तर्गत ५० बिघा, ब्लक ‘डी’ अन्तर्गत १७८ बिघा, ब्लक ‘ई’ अन्तर्गत १३३ बिघा जग्गा छ । ‘बाँकी जग्गामा गुरुयोजना बन्दै छ, मन्त्रिपरिषद्बाट निर्णय भएलगत्तै ब्लक बनाएर पीपीपी मोडलमा सञ्चालन गर्छौं,’ उनले भने ।
