२५ किलो बोराको जिरा मसिनो चामलको मूल्य २ हजारबाट बढेर दुई महिनामै २३ सय रुपैयाँ
काठमाडौँ — धान उत्पादन बढी भएकै वर्ष चामलको मूल्य अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको पुस २२ मा सार्वजनिक गरेको तथ्यांकमा धान उत्पादन ४.३३ प्रतिशतले बढेको उल्लेख छ । ०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन उत्पादन भएको धान ०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन पुग्यो । विगत चार वर्षको औसत उत्पादन तुलना गर्दा यस वर्ष धान उत्पादन ५.०८ प्रतिशतले वृद्धि भएको मन्त्रालयकै तथ्यांकले देखाएको छ ।
धान उत्पादनमा भएको वृद्धिअनुसार बजारमा चामलको मूल्य घट्नुपर्ने हो । धान उत्पादन हुने सिजनमा विगतमा त्यसै पनि मूल्य घट्थ्यो । गत वर्ष बोरामा २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँ सस्तो भएको थियो । तर यो वर्ष उल्टो परिणाम देखिएको छ । सरकारले धान उत्पादनको तथ्यांक बढेको देखाइरहँदा सिजनमै चामलको अचाक्ली मूल्य बढेको छ ।
दुई महिनामै प्रतिबोरा (२५ किलो) जिरा मसिनो चामल २५० रुपैयाँले बढेको होलसेल व्यवसायी बताउँछन् । ‘२५ किलो बोराको जिरा मसिनो चामलको मूल्य २ हजार ५० रुपैयाँबाट बढेर २३ देखि २४ सय रुपैयाँ पुगेको छ,’ होलसेल व्यवसायी सञ्जय फुयाँलले भने, ‘स्वदेशी धान बजारमा आइसकेको अवस्थामा मूल्य बढ्नु नपर्ने हो । तर भारतले २० प्रतिशत निर्यात शुल्क लगाएको बहानामा यता मूल्यवृद्धि गरियो ।’
भारतले निर्यातमा शुल्क लगाएपछि यहाँका उद्योगीले भारतकै मूल्यमा बिक्री गरिरहेका हुन् । सरकारले मूल्य नियन्त्रणमा ध्यान नदिएको उनको भनाइ छ । खुद्रा बजारमा एक महिनाको अनुपातमा चामलको मूल्य बोरामा २ देखि ३ सय रुपैयाँ बढेको नेपाल उद्योग वाणिज्य महांसघका व्यापार समिति सदस्य चन्द्र थापाले बताए ।
‘गतवर्ष पुसको तुलनामा चामल एक बोरामै चामलको मूल्य ५/६ सय रुपैयाँसम्म बढेको छ । पछिल्ला दुई महिनाको कुरा गर्दा २ देखि ३ सय रुपैयाँ वृद्धि भएको छ,’ खाद्यान्नको व्यापारसमेत गर्दै आएका थापाले भने, ‘गत वर्षको पुस–माघमा चामलको मूल्य प्रतिबोरा १६ सयदेखि १७ सय रुपैयाँ थियो । अहिले प्रतिबोरा २२ देखि २३ सय रुपैयाँ पुगेको छ । बजारमा नयाँ धान आइसकेको अवस्थामा मूल्य घट्नुपर्नेमा उल्टो बाटोमा छ ।’ विगतमा धान उत्पादन हुने सिजनमा मूल्य घट्थ्यो । गत वर्ष बोरामा २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँ सस्तो भएको थियो । यसपालि भने झन् महँगोमा बेच्नुपरेको थापाको भनाइ छ ।
नेपाल चामल, तेल, दाल उद्योग संघले धान उत्पादनको तथ्यांकमै प्रश्न उठाएको छ । उद्योगीसँग २ महिनालाई मात्रै धान्ने धानको मौज्दात रहेको दाबी संघको छ ।
‘सरकारले प्रस्तुत गरेको विवरणअनुसार गत आर्थिक वर्षमा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा खेती भयो, चालु आर्थिक वर्षमा १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा रोपाइँ भयो । रोपाइँको क्षेत्रफल घटे पनि धान उत्पादन बढेर ५७ लाख २४ हजार २ सय ३४ टन पुगेको देखिन्छ,’ संघका अध्यक्ष कुमुद दुगडले भने, ‘५७ लाख टन धान उत्पादन भए भारतबाट धान–चामल आयात नै गर्नुपर्दैन । यति बेला बजारमा चामलको मूल्य घट्नुपर्ने हो । तर विडम्बना मूल्य बढेको छ । एक वर्षको तुलनामा बोरामै ५ सय रुपैयाँसम्म मूल्य बढेको छ ।’
कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले पनि धान–चामल आयातको आँकडा हेर्दा सरकारी धान उत्पादनको तथ्यांक फेल खाने दाबी गरे । संघका अनुसार नेपाललाई वार्षिक रूपमा चाहिने धान ५५ देखि ६० लाख टन हो । सरकारी तथ्यांकलाई आधार मान्दा धान/चामल आयात गर्नु पर्दैन । तर वार्षिक ५/६ लाख टन धान–चामल आयात भइरहेकै छ । अवैध रूपमा पनि भित्रिएकै छ । पछिल्लो समय भारतले महँगो चामल मात्रै निर्यात गर्न दिएको छ । धानमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ । त्यसमा थप ५ प्रतिशत कृषि सुधार शुल्क तिरेर जिरा मसिनो धान आयात हुने गरेको छ ।
‘नेपाललाई ६ लाख टन धानमा निर्यात शुल्क नलिने गरी कोटा तोक्यो । त्यो कोटाको अवधि यही सेप्टेम्बरमा सकियो,’ अध्यक्ष दुगडले भने, ‘भारतबाट आयात गरिने धानमा २० प्रतिशत निर्यात शुल्क तिर्नुपर्ने बाध्यता छ । उद्योगले आयात गरेको धानबाट उत्पादित चामल महँगो मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता छ । केहीले त्यसको फाइदा उठाउँदै तस्करीका चामल भित्र्याइरहेका छन् ।’
जिरा मसिनो चामलको कच्चा पदार्थका रूपमा रहेको कतर्नी धानमा समस्या परेको दुगडले बताए । कूटनीतिक पहल गरी निर्यात शुल्क नलिने गरी धान आयात खुलाउन पहल गर्नुपर्नेमा उनको जोड छ । ‘निर्यात शुल्क वा प्रतिबन्ध नै लगाए पनि नेपालमा आउन रोकिँदैन । तस्करी भएर दैनिक करिब ८ हजार बोरा भित्रिएकै छ,’ अध्यक्ष दुगडले भने, ‘यसले स्वदेशी उद्योगलाई धराशायी बनाउँछ ।’
उन्नत बीउको बढ्दो प्रयोग, रोग–किरा प्रकोप र बाढी–पहिरोले धान बालीमा पार्ने नकारात्मक असर कमी रहेको र सिँचाइमा विस्तारसँगै मलखादको समेत सहजता भएपछि धानको उत्पादकत्व बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।
