नेपालको ऊर्जामा एडीबीको डेढ १ खर्ब लगानी

उर्जा क्षेत्रका विभिन्न सात वटा आयोजनामा एक अर्ब ६ करोड ५० लाख अमेरिकी डलर एडीबीको लगानी । कुल लगानीमध्ये ४० मिलियन डलर अनुदान र बाँकी सहुलियत ऋण ।

पुस २६, २०८०

यज्ञ बञ्जाडे

काठमाडौँ — नेपालको जलविद्युत् क्षेत्रमा एसियाली विकास बैंक (एडीबी) को लगानी करिब डेढ खर्ब रुपैयाँ पुगेको छ । ऊर्जा क्षेत्रका विभिन्न सात आयोजनामा गरेर यही पुस १५ सम्म कुल १ अर्ब ६ करोड ५० लाख अमेरिकी डलर (करिब १ खर्ब ४२ अर्ब रुपैयाँ) स्वीकृत भइसकेको एडीबीले जनाएको छ । उक्त रकममध्ये करिब ४० मिलियन अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँ) अनुदान र बाँकी सहुलियत ब्याजदरको ऋण छ । हालसम्म स्वीकृत लगानीमध्ये करिब ८५ प्रतिशतको ठेक्का लागिसकेको एडीबीले बताएको छ । 

नेपालको ऊर्जा क्षेत्रमा थप लगानी विस्तारका लागि आफूहरू सधैं तयार रहेको एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नो कोस्वाले बताए । नेपालको अन्तरदेशीय ऊर्जा व्यापार प्रवर्द्धन गर्दै आन्तरिक ऊर्जा सुरक्षा अभिवृद्धि गर्न यस क्षेत्रमा एडीबीले निरन्तर सहयोग र लगानी विस्तार गर्न चाहेको उनले जनाए । यसका लागि एडीबीले सरकारी तथा निजी क्षेत्रका जलविद्युत् आयोजनामा प्रत्यक्ष लगानी र प्रसारणलाइन निर्माणमा सरकारलाई सहयोग गरिरहेको पनि कोस्वाको भनाइ छ । आउँदा दिनमा पनि नेपालमा विद्युत् उत्पादन र माग बढाउन तथा प्रसारणलाइन निर्माण र वितरण प्रणाली सुधार गर्न थप लगानी विस्तार गरिने एडीबीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको काम कारबाही र विद्युत् वितरण प्रणालीलाई आधुनिक प्रविधियुक्त बनाउन पनि एडीबीले सहयोग गरिरहेको बताइएको छ । यसअनुसार स्मार्ट ग्रिड र डिजिटल मिटर जडानलगायत छन् ।

नेपालको कुल विद्युत् उत्पादनमध्ये एडीबीको लगानीमार्फत १० र अन्य स्रोतबाट ९० प्रतिशत उत्पादन भएको एडीबीले जनाएको छ । पछिल्लो समय विद्युत् उत्पादनभन्दा प्रसारणलाइन निर्माणमा एडीबीको सहयोग केही बढी छ । हालसम्म निर्मित कुल प्रसारणलाइनमध्ये ५०.५ प्रतिशत एडीबीको सहयोगमा बनेका छन् । बाँकी ४९.५ प्रतिशत अन्य स्रोतमार्फत निर्माण भएका हुन् । वितरण स्टेसनमध्ये एडीबीको सहयोगमा ३७ प्रतिशत र बाँकी ६३ प्रतिशत अन्य क्षेत्रका सहयोगमा निर्माण भएको बताइएको छ । हाल एडीबीले विद्युत्को पहुँच बढाउन र स्वच्छ ऊर्जा विकास गर्न, ऊर्जाको सक्षमता बढाउन र चुहावट कम गर्न, आधुनिक प्रविधिमार्फत विद्युत् विकास गर्न र मुलुकभर प्रसारणलाइन निर्माणमा काम गर्दै आएको छ । यसका लागि सरकार र निजी क्षेत्र दुवै पक्षलाई सहयोग गरिरहेको कोस्वाले बताए । 

एडीबीले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा पनि ५८ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ, जसमध्ये ३ करोड अमेरिकी डलर अनुदान र बाँकी ५५ करोड सहुलियत ऋण छ । यस आयोजनाको कुल लगानी २ अर्ब अमेरिकी डलरभन्दा बढी हो । तल्लो सेती जलविद्युत् आयोजनाका लागि पनि एडीबीले १५ करोड अमेरिकी डलर लगानी गर्दै छ । यसैगरी बुटवल–लमही ४०० केभीलगायत विभिन्न प्रसारणलाइनको क्षमता अभिवृद्धिका लागि पनि एडीबीले २० करोड अमेरिकी डलर लगानीका लागि पनि प्रक्रिया सुरु भएको छ । 

एडीबीको लगानी रहेकामध्ये ठूलो र महत्त्वपूर्णमध्येको एक तनहुँ जलविद्युत् आयोजना पनि हो । निर्माणाधीन १४० मेगावाट क्षमताको उक्त आयोजनाको बाँध आगामी मनसुनअगावै सक्ने गरी निर्माण सुरु गरिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए । ‘आगामी मनसुन सुरु हुनुअघि नै बाँध निर्माण सक्ने गरी काम अघि बढेको छ,’ शिल्पकारले भने, ‘नदी फर्काइएपछि बाँध निर्माणका लागि जग खन्ने काम सुरु हुन्छ । सन् २०२१ देखि निर्माण सुरु भएको डाइभर्सन टनेल निर्माण सकिएपछि नदी फर्काउने काम गरिएको हो ।’ मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण गरिने आयोजना प्रमुख शिल्पकारको भनाइ छ । 

प्याकेज–एअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रालि) नेपाल जेभीसँग ०७८ भदौ १४ मा ठेक्का सम्झौता गरी कार्यान्वयनमा आएको थियो । निर्माण व्यवसायीले अहिले मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने काम गरिरहेका छन् । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत रहेको शिल्पकारले जनाए । प्याकेज–बीअन्तर्गत आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत निर्माणका लागि चीनको सिनो हाइड्रो कर्पोरेसनसँग ०७५ असोज १५ मा खरिद सम्झौता गरिएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपछि सिनो हाइड्रोले ०७५ माघ ६ देखि आयोजनास्थलमा निर्माण कार्य गरिरहेको छ ।

भूमिगत विद्युत् गृह खनेर कंक्रिट राख्ने तथा टर्बाइनलगायत उपकरण जडान गर्ने काम भइरहेको छ । टेलरेस सुरुङ निर्माण सकिएको र मुख्य सुरुङ खन्ने काम पनि भइरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशत भएको छ । आयोजनाको समग्र प्रगति पनि करिब ४७ प्रतिशत रहेको आयोजना प्रमुख शिल्पकारले बताए । कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सक्न सम्पूर्ण ध्यान केन्द्रित गरिएको उनको दाबी छ । आयोजना निर्माणमा स्थानीय तह, प्रशासन, स्थानीय बासिन्दालगायत सबैको साथ र सहयोग रहेको समेत उनको भनाइ छ । 

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतको केईसी इन्टरनेसनल लिमिटेडले काम गरिरहेको छ । ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ मध्ये ६९ वटा टावरको जग हालिएको छ, ३३ वटा खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत भएको आयोजनाले जनाएको छ । वन कटानीमा अवरोधका कारण थप प्रगति हुन नसकेको आयोजनाले बताएको छ । 

यस कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर भएकामा एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

एडीबीकै लगानीमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको काम पनि हालै सकिएको छ । उक्त खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किमि प्रसारण लाइनको उद्घाटन भइसकेको छ । 

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । 

कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किमि डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्न सक्ने बताइएको छ । 

ऊर्जा क्षेत्रको विकास एवं विस्तारमा एडीबीको सहयोग निकै महत्त्वपूर्ण रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । एडीबीकै सहयोगमा गत मंसिरमा मात्र कालिगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड निर्माण सकिएको उनले जनाए । 

उक्त आयोजना स्थानीय रूपमा विद्युत् खपत गर्न, पूर्व–पश्चिम प्रवाह र भारततर्फ निर्यात गर्न नयाँ बुटवल सबस्टेसन विद्युत्को ठूलो पुलिङ हबका रूपमा रहेको उनले बताए । अहिले देशभर प्रसारण लाइन निर्माण तथा क्षमता अभिवृद्धि गर्ने काम भइरहेको र त्यसका लागि आगामी ५/६ वर्षमा ६/७ खर्ब रुपैयाँ आवश्यक पर्ने घिसिङको भनाइ छ । 

एडीबीले सन् १९७० को दशकदेखि नै नेपालको ऊर्जा क्षेत्रमा लगानी सुरु गरेको हो । त्यति बेला मुख्य प्रसारण लाइन (ग्रिड) मार्फत पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्र जोडिएको थियो । सन् १९७२ मा १५४ किमि गण्डक हेटौंडा प्रसारण लाइनमार्फत एडीबीले नेपालको ऊर्जामा लगानी गरेको थियो । सन् १९८० को दशकमा काठमाडौं उपत्यकाबाहिर प्रसारणलाइन निर्माण र विद्युतीकरणका लागि एडीबीले लगानी थप गरेको थियो । सन् १९९० को दशकका जलविद्युत् आयोजनाको उत्पादन क्षमता विस्तार गरी लामो समयदेखिको लोडसेडिङ अन्त्य गर्न एडीबीले प्राधिकरणसँग सहकार्य गर्दै आएको छ । सन् २००० को दशकमा ग्रामीण क्षेत्रमा विद्युत् विस्तार गरिएको हो । सन् २०२० को दशकमा विद्युत् उत्पादन, प्रसारण लाइन निर्माण तथा विस्तार, वितरण प्रणालीमा सुधार र बढी भएको बिजुली निर्यातका लागि प्रोत्साहन गरिरहेको एडीबीले जनाएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully